अनलाइन गेममा आंशिक प्रतिबन्ध

(एजेन्सी)

बेइजिङ — बालबालिकालाई अनलाइन गेमको लतबाट जोगाउनका लागि चीनले खेल खेल्ने समयमा प्रतिबन्ध लगाएको छ ।चिनियाँ सञ्चारमाध्यमका अनुसार १८ वर्षभन्दा मुनिका बालबालिकाले राति १० बजेदेखि बिहान ८ बजेसम्म अनलाइन खेल खेल्न नपाउने भएका छन् ।

त्यसका साथै सामान्य दिनमा ९० मिनेट र साताको अन्त्य तथा बिदा दिन ३ घन्टा मात्र अनलाइन गेम खेल्न दिइने भएको छ ।

बालबालिकाको स्वास्थ्यमा अनलाइन गेमको लतले नराम्रो असर परेका कारण त्यस्तो निर्णय लिनुपरेको अधिकारीहरूको भनाइ छ । अनलाइन खेलका लागि चीन विश्वको दोस्रो ठूलो बजार हो । चिनियाँ अनुसन्धान कम्पनी न्युजूका अनुसार यस वर्ष अनलाइन गेमबाट अमेरिकाले चीनको भन्दा बढी आम्दानी गरेको छ ।

सरकारको नयाँ व्यवस्था अनुसार अनलाइन खेलमा बालबालिकाले गर्न पाउने खर्चको समेत सीमा तोकिएको छ । जसअनुसार ८ देखि १६ वर्षका बालबालिकाले महिनामा २ सय युआनभन्दा बढी खर्चन पाउने छैनन् । त्यसैगरी, १६ देखि १८ वर्षकाले बढीमा ४ सय युआन खर्च गर्न पाउनेछन् ।

अनलाइन गेमका कारण बालबालिका तथा युवामा नकारात्मक असर पर्ने भन्दै चीनले बारम्बार आलोचना गर्दै आएको छ । लामो समयसम्म गेम खेलेका कारण बालबालिकाको आँखाको दृष्टि कमजोर हुँदै गएपछि सन् २०१८ मा चीन सरकारले अनलाइन गेल नियमनकारी निकाय गठनको घोषणा गरेको थियो ।

सन् २०१८ मै चीनले नयाँ गेम उत्पादनका लागि अनुमति दिन बन्द गरेको थियो । तर ९ महिनासम्म कुनै पनि कम्पनीले गेम उत्पादन गर्न नपाएपछि ठूला उद्योगको व्यापार निकै खस्केको थियो ।

अनलाइन गेम उत्पादन गर्ने ठूला कम्पनीहरूले सरकारको पछिल्लो कदम स्वागतयोग्य भएको प्रतिक्रिया दिएका बीबीसीले उल्लेख गरेको छ । तर नयाँ प्रवाधानअनुसार गेम प्रयोगकर्ताको उमेरको जाँच गर्ने कार्य निकै चुनौतीपूर्ण रहेको उनीहरूको भनाइ छ ।

पब्जीलगायत गेम उत्पादन गरेको कम्पनीले टेन्सेन्टले यसअघि अनलाइन खेलमा आंशिक प्रतिबन्ध लगाइसकेको छ । कम्पनीले १२ वर्षमुनिका प्रयोगकर्ताले दैनिक बढीमा १ घन्टा र १२ देखि १८ वर्षकाले दैनिक २ घन्टा मात्र गेम खेल्न पाउने व्यवस्था गरिसकेको छ । त्यसका लागि उमेर प्रमाणित गर्न राज्यनले प्रदान गरेको परिचयपत्र आवश्यक पर्ने कम्पनीले जनाएको छ । विश्व स्वास्थ्य संगठनले गतवर्ष अनलाइन खेलको लतलाई ‘गेमिङ डिसअर्डर’ का रूपमा सूचीकृत गर्दै पहिलोपटक त्यसलाई मानसिक स्वास्थ्य अवस्थाका रूपमा परिभाषित गरेको थियो ।

अमेरिकी साइक्याट्री एसोसिएसनको मानसिक रोगसम्बन्धी पुस्तिकाले भने अनलाइन गेमको लतलाई हालसम्म औपचारिक रूपमा उल्लेख गरेको छैन । एसोसिएसनले ‘इन्टरनेट गेमिङ डिसअर्डर’ थप अध्ययन गर्नुपर्ने स्थिति भएको उल्लेख गरेको छ । तर केही देशहरूले अनलाइन गेम अत्यधिक खेल्नु भनेको स्वास्थ्यको प्रमुख समस्याका रूपमा पहिचान गरेका छन् । तीमध्यमे अधिकांशले यस्तो अवस्थाको उपचार गर्न निजी क्लिनिकको व्यवस्थासमेत गरेका छन् ।

प्रकाशित : कार्तिक २२, २०७६ ०९:५५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बायर्न र युभेन्ट्स अन्तिम १६ मा

(एजेन्सी)

पेरिस — बायर्न म्युनिख र युभेन्ट्सले बुधबार राति युरोपेली च्याम्पिन्स लिगको अन्तिम १६ को यात्रा तय गरेका छन् । रोबर्टो लेवनडोस्कीले गोल गर्ने आफ्नो लय कायम राखेपछि बायर्नले ओलम्पियाकोजलाई समूह बी २–० ले हरायो ।


यसै समूहको अर्को खेलमा टोटनहमले एफके क्रभेनालाई ४–० ले पराजित गर्‍यो। समूह डी मा डगलस कोस्टाले इन्ज्युरी समयमा गोल गरेपछि युभेन्ट्सले लोकोमोटिभ मस्कोलाई २–१ ले पन्छायो।

यसै समूहमा बायर लेभरकुजनले एटलेटिको म्याड्रिडमाथि २–१ को जित रच्यो। समूह ए मा पीएसजीले क्लब ब्रगलाई १–० र रियल म्याड्रिडले गालाटासारेलाई ६–० ले हरायो।

समूह सी मा भने एटलान्टा र म्यानचेस्टर सिटीले १–१ तथा डायनामो जागरेभ र साख्तर डोनेस्कले ३–३ को बराबरी खेले।

प्रकाशित : कार्तिक २१, २०७६ १०:३९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्