१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

आतंकवादबारे अमेरिकी रिपोर्ट : 'भारतीय माओवादी विश्वकै छैटौं खतरनाक'

(एजेन्सी)

नयाँदिल्ली — अमेरिकी विदेश मन्त्रालयले हालै सार्वजनिक गरेको एक रिपोर्टमा भारतीय माओवादीलाई विश्वकै छैटौं सबैभन्दा खतरनाक आतंकवादी संगठनका रूपमा सूचीकृत गरेको छ । रिपोर्टमा भारत आतंकवादी समूहबाट सबैभन्दा प्रभावित मुलुकमध्ये चौथो स्थानमा रहेको पनि उल्लेख छ ।

आतंकवादबारे अमेरिकी रिपोर्ट : 'भारतीय माओवादी विश्वकै छैटौं खतरनाक'

जम्मु–कश्मीरमा पछिल्लो वर्ष ५७ प्रतिशत आतंककारी आक्रमण भएको भारतीय अखबार ‘हिन्दुस्तान टाइम्स’ ले जनाएको छ ।


अमेरिकी विदेश मन्त्रालयले अघिल्लो साता जारी गरेको रिपोर्टमा भनिएको छ, ‘सन् २०१८ मा कम्युनिस्ट पार्टी अफ इन्डिया–माओवादी (सीपीआई–माओवादी) ले ३११ जनाको ज्यान जाने गरी १ सय ७७ वटा हिंसात्मक आक्रमण गरेका थिए । ’


तर, भारतीय गृह मन्त्रालय तथ्यांक अमेरिकी रिपोर्टभन्दा फरक छ । गृह मन्त्रालयका अनुसार ऊक्त समूहले ८ सय ३३ वटा हिंसात्मक आत्रमण गर्दा गत वर्ष २ सय ४० जना मारिएका थिए । अमेरिकी रिपोर्टमा भारतीय माओवादीलाई तालिवान (अफगानिस्तान), इस्लामिक स्टेट (आईएस), अल सबाब (अफ्रिका), बोको हराम (अफ्रिका) र कम्युनिस्ट पार्टी अफ फिलिपिन्सपछि छैटौं सबैभन्दा खतरनाक आतंकवादी संगठनको सूचीमा रहेको उल्लेख छ ।


विश्वव्यापी रूपमा सबैभन्दा बढी आतंकवादी आक्रमणबाट प्रभावित मुलुकहरूमा अफगानिस्तान, सिरिया र इराकपछि भारतलाई सूचीकृत गरेको छ । भारतले आतंकवादलाई प्रतिकार गर्न नसक्नुको प्रमुख कारणहरूमा ‘गुप्तचर संस्थाको कमजोरी र राज्य तथा केन्द्रीय कानुन कार्यान्वयनमा ल्याउने निकायहरूबाट सूचनाहरूको गलत सम्प्रेषण’ रहेको जनाइएको छ ।


‘सीपीआई–माओवादी (नक्सलवादी नामले समेत चिनिने) ले भारतमा सन् २०१८ मा १७६ (कूल आक्रमणको २६ प्रतिशत), जैस–ए–मोहम्मद (जेईएम) ले ६० (कूल आक्रमणको ९ प्रतिशत) आतंकवादी घटना गराएको थियो । हिजबुल मुजाहिद्दिनले ५९ (कूल आक्रमणको ९ प्रतिशत) र लस्कर–ए–तैइबा (एलईटी) ले ५५ (कूल आक्रमणको ८ प्रतिशत) घटना गराएका थिए,’ रिपोर्टमा छ, ‘अन्य समूहहरूमा युनाइटेट लिबरेसन फ्रन्ट अफ असाम, नेसनल सोसलिस्ट काउन्सिल अफ नागाल्यान्ड (मुईवाह समूह) र आईएसआईएस–जम्मु–कश्मीर पनि भारतमा सक्रिय रहेका छन् ।’ रिपोर्टमा पाकिस्तानमा प्रधान कार्यालय रहेको एलईटीलाई सन् २००८ को मुम्बई आक्रमणको प्रमुख दोषी र जेईएमले भारतीय र अफगान लक्षित आक्रमणको क्षमता विस्तार गरेको उल्लेख छ ।


अमेरिकी विदेश विभागको रिपोर्टमा एउटा चाखलाग्दो कुरो त के छ भने, भारतमा ३७ प्रतिशत आतंकवादी आक्रमणका घटनाहरूका लागि कुनै खास समूहलाई जिम्मेवादी ठहराएको छैन । विदेश विभागले आतंकवादी घटनाहरू, प्रवृत्ति र सरकारी नीतिहरूको तथ्यांकका आधारमा रिपोर्ट तयारी गरी बर्सेनि सार्वजनिक गर्ने गर्छ ।


भारतको केन्द्रीय गृह मन्त्रालयका अधिकारीहरूले माओवादी हिंसामा मारिएकाहरूको तथ्यांक भारतभन्दा अमेरिकाको किन बढी भएको बारे केही बोलेको छैन । तर एक अधिकारीले आफ्नो नाम नछाप्ने सर्तमा भनेका छन्, ‘अमेरिका..., डेटा लगभग हाम्रोजस्तै प्रवृत्तिलाई दर्साएको छ । भारत सरकारले पछिल्लो केही वर्षहरूमा आतंकवादविरुद्ध लडाइँका क्रममा धेरै कदम चालेको छ ।’ एक अर्का अधिकारीले भनेका छन्, ‘विगत पाँच/छ वर्षयता राज्यहरू तथा केन्द्रीय नियोगहरूबीच राम्रो समन्वयन छ ।’


तर अमेरिकी रिपोर्टमा यी अधिकारीको भनाइले मेल खाँदैन । भारतीय मामिलाका जानकारहरूका अनुसार यदि यसो हुँदो हो त सयभन्दा बढी आक्रमण हुने थिएनन् ।


अमेरिकी विदेश विभागले आफ्नो रिपोर्टमा भनेको छ, ‘सन् २०१८ मा सबै २९ भारतीय राज्यहरू आतंकवादबाट प्रभावित रह्यो र पछिल्लो वर्ष ६ सय ७१ आक्रमणमा ९ सय ७१ जना मारिए । यसमा सन् २०१८ मा १ सय ११ घटनाहरू (१६ प्रतिशत) सहित जम्मु–कश्मीरपछि छत्तिसगढको सबैभन्दा खराब अवस्था देखिएको छ ।


त्यसपछि मणिपुर २२ (३ प्रतिशत) का साथ दोस्रो स्थानमा रह्यो । जम्मु–कश्मीरमा सन् २०१८ मा भारतमा ३ सय ८६ आतंकवादी घटना भएका थिए ।’ रिपोर्टमा अनुसार आतंकवादविरोधी एकाई राष्ट्रिय सुरक्षा गार्ड (एनएसजी) को तीव्र प्रतिक्रिया दिने क्षमता भए पनि सानो आकारका कारण अपेक्षा गरेअनुसारको प्रतिफल दिन नसकेको

औंल्याएको छ ।


प्रकाशित : कार्तिक २१, २०७६ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?