२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

‘डेटिङ’ गएपछि म्याक प्रमुख बर्खास्त

(एजेन्सी)

क्यालिफोर्निया — अमेरिकाको लोकिप्रय रेस्टुराँ सञ्जाल म्याक्डोनल्ड्सले एक कर्मचारीसँग प्रेमसम्बन्ध राखेको भन्दै प्रमुख कार्यकारी स्टिभ इस्टरब्रुकलाई बर्खास्त गरेको छ । 

म्याक्डोनल्ड्सले इस्टरब्रुकको सम्बन्ध ती कर्मचारीसँगको सहमतिमा आधारित भए पनि ‘कम्पनीको नीति उल्लंघन गरेका तथा निर्णय क्षमता कमजोर देखिएको’ जनाएको छ ।


इस्टरब्रुकले ती महिला कर्मचारीसँग आफू प्रेमसम्बन्धमा रहको स्वीकार गरेका बीबीसीले जनाएको छ । ‘कम्पनीको मूल्य मान्यतालाई ध्यान दिँदै मैले जागिरबाट अलग हुने सहमति गरेको छु,’ उनले भनेका छन् । म्याक्डोनल्ड्सको बोर्ड बैठकले मतदानपछि इस्टरब्रुकलाई हटाउने निर्णय गरेको हो । कम्पनीको नीतिअनुसार व्यवस्थापकले आफूअन्तर्गतका कर्मचारीसँग प्रेम सम्बन्ध राख्न पाउँदैनन् ।


बेलायती नागरिक इस्टरब्रुकले सन् १९९३ मा लन्डनस्थित म्याक्डोनल्ड्सको व्यवस्थापकका रूपमा काम गरेका थिए । ५२ वर्षीय उनले श्रीमतीसँग सम्बन्धविच्छेद गरिसकेका थिए । म्याक्डोनल्ड्स छोडेर सन् २०११ मा पिज्जा एक्स्प्रेस गएका इस्टरब्रुक सन् २०१५ मा म्याक्डोनल्ड्सका प्रमुख कार्यकारी भएका थिए ।


इस्टरब्रुकलाई म्याक्डोनल्ड्सको मेनु तथा रेस्टुराँमार्फत् कम्पनी विस्तार अगाडि बढाएको श्रेय जान्छ । इस्टरब्रुकको नेतृत्वमा म्याक्डोनाल्डसले विस्तार गरेको डेलिभरी सेवा तथा ई–पेमेन्टले कम्पनीको लोकप्रियता झन् बढ्यो । यसअघि पटकपटक म्याक्डोनल्ड्स कर्मचारीलाई दिने तलबको विषयमा विवादमा पर्दै आएको छ । इस्टरब्रुकले सन् २०१८ मा १ करोड ५९ लाख डलर बराबरको तलब सुविधालाई लिएका थिए । उनको तलब मध्यम तहका कर्मचारीको भन्दा २ हजार १२४ गुणाले बढी भएपछि छानबिनको सामना गरेका थिए म्याक्डोनल्ड्सले नयाँ कार्यकारी प्रमुखमा क्रिस केम्पजिन्स्की नियुक्त भएका जनाएको छ । केम्पजिन्स्कीले इस्टरब्रुकले आफूलाई म्याकमाडोनल्ड्समा भित्राएको भन्दै धन्यवाद दिएका छन् ।

प्रकाशित : कार्तिक १९, २०७६ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?