कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

इराकमा चर्कियो सरकारविरोधी प्रदर्शन

(एजेन्सी)

बग्दाद — इराकमा पछिल्ला दिनमा गरिँदै आएको सरकार विरोधी प्रदर्शन थप चर्किएको छ । प्रदर्शनकारीले आइतबारको विरोधका क्रममा राजधानी बग्दाद आवतजावत गर्ने सडकहरू अवरुद्ध पारेका छन् । रोजगार तथा सार्वजनिक सेवा सुधारको माग गर्दै इराकमा गत अक्टुबर १ देखि नियमित विरोध प्रदर्शन गरिंदै आएको छ ।

इराकमा चर्कियो सरकारविरोधी प्रदर्शन

प्रदर्शनकारीले मुख्य सडकहरूमा गाडी तथा कार तेर्साएर अवरुद्ध पारेको बीबीसीले जनाएको छ ।


यसअघिका प्रदर्शन निस्तेज पार्न अश्रुग्यास तथा रबरका गोली प्रहार गरेको भए पनि आइतबार प्रहरीले प्रदर्शनकारीका गतिविधि चुपचाप हेरिरहेको देखिन्थ्यो । एक महिना लामो प्रदर्शनका क्रममा कम्तीमा २ सय ५० जनाले ज्यान गुमाइसकेका छन् । तीमध्ये तीन चौथाइको राजधानी बग्दादको प्रदर्शनमा मृत्यु भएको हो ।


आइतबार अधिकांश स्कुलका विद्यार्थीले सरकारविरोधी नाराबाजी गर्नुका साथै धर्नामा बसेका थिए भने सरकारी कार्यालय बन्द गरिएका थिए । ‘भ्रष्ट तथा चोर शासकहरू नहटेसम्म विरोध प्रदर्शन जारी राख्ने सन्देश दिन हामीले सडक सञ्जाल अवरुद्ध पार्ने निर्णय गरेका हौं,’ २५ वर्षीय आन्दोलनकारी तहसिर नसेरले भने, ‘हामीले सरकारी कर्मचारीलाई कार्यालय जान दिएका छैनौं ।’ बीबीसीका अनुसार मध्य बग्दादमा रहेको ताहिर स्क्वायर तथा वरपरका क्षेत्रमा आन्दोलन केन्द्रित छ ।


सयौं प्रदर्शनकारी सरकारी कार्यालय तथा विदेशी नियोगहरूको ग्रिन जोन पुग्न पुल तर्ने प्रयास गरिरहेको बीबीसीले जनाएको छ । राजधानी बग्दादका साथै अन्य प्रमुख सहरमा पनि विरोध प्रदर्शन गरिएको छ । इराकका दक्षिणी सहर दिवानिया, नाजाफ र नसिरियामा पनि सयौं प्रदर्शनकारी सरकारको विरोधमा सडकमा उत्रेको बीबीसीले जनाएको छ ।


राजधानी केन्द्रित प्रदर्शन चर्किंदै गएपछि राजधानी बग्दादमा अक्टुबर अन्त्यमा कर्फ्यु लगाइएको थियो । इराकी राष्ट्रपति बर्हाम सलेहले गतसाता राजनीतिक दलहरूले नयाँ प्रधानमन्त्रीका लागि सहमति जुटाए प्रधानमन्त्री अदेल अब्दुल महदीले राजीनामा दिने बताएका थिए ।


यसअघि गरिएका प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरेपछि दर्जनौंको ज्यान गएको थियो । सयौं घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । सरकारद्वार गठित छानबिन समितिको प्रतिवेदनअनुसार प्रदर्शनका क्रममा प्रहरीले अनावश्यक बल प्रयोग गरेको देखिएको जनाइएको छ ।


प्रधानमन्त्री महदीले जनताले शान्तिपूर्वक विरोध तथा प्रदर्शन गर्न पाउने बताए पनि ‘हिंसा अस्वीकार्य भएको’ बताउँदै आएका छन् । सिया समुदायका वरिष्ठ राजनीतिज्ञ तथा अर्शशास्त्री महदी एक वर्षअघि प्रधानमन्त्री भएका हुन् ।


उनले देशको विकास तथा समाजसुधारको वाचा गरेका भए पनि पूरा नगरेपछि सरकारविरोधी प्रदर्शन सुरु भएको हो । उच्च बेरोजगारी दर, बढ्दो भ्रष्टाचार र निकै कमजोर सार्वजनिक सेवा सुधारको माग गर्दै अक्टोबर १ देखि सुरु विरोधमा अधिकांश युवा तथा बेरोजगार उत्रेका छन् । सरकारद्वारा गठित एक अनुसन्धान समितिले दर्जनौं वरिष्ठ सुरक्षाकर्मीलाई बर्खास्त गर्नुपर्ने तथा घटनामा संलग्नलाई मुद्दा चलाउनुपर्ने सिफारिस गरेको भए पनि प्रधानमन्त्री तथा केही वरिष्ठ अधिकारीलाई दोषी ठहर गर्दै घटना सामसुम पारिएको थियो ।


प्रकाशित : कार्तिक १८, २०७६ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?