कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

विद्रोही आक्रमणमा ५३ सैनिक मारिए

(एजेन्सी)

बामाको — मालीको उत्तरपूर्वी क्षेत्रमा रहेका सैनिक पोस्टमा विद्रोहीले गरेको आक्रमणमा कम्तीमा ५३ सैनिकको मृत्यु भएको छ । मृतकमध्ये एक सर्वसाधारण छन् । 

सेनाले ट्वीट गर्दै ‘आक्रमणलाई आतंककारी हमला’ भनेको छ । इस्लामिक लडाकुहरूले गराएका पछिल्ला हिंसामध्ये यो ठूलो भएको अधिकारीहरूको भनाइ छ ।


नाइजरसँगको सिमामा पर्ने मेनका क्षेत्रको इन्डेलिमानमा रहेको सैनिक कार्यालयमा विद्रोहीले आक्रमण गरेका सरकारका प्रवक्ता याया सान्गारेले जनाएका छन् । उनले आक्रमणपछि उक्त स्थानको अवस्था सरकारी फौजको नियन्त्रणमा रहेको बताए ।


‘अहिले अवस्था नियन्त्रणमै छ, शव संकलन गरेर पहिचानको कार्य भइरहेको छ,’ उनले ट्वीटरमा लेखेका छन् । उनका अनुसार आक्रमण र क्षतिको पूर्ण विवरण आइसकेको छैन ।


अधिकारीहरूका अनुसार घटनाको हालसम्म कसैले जिम्मेवारी लिएको छैन । त्यस क्षेत्रमा अल कायदा आबद्ध जिहादीहरूको प्रभाव बढी रहेको मानिन्छ ।


सन् २०१२ मा इस्लामिक विद्रोहीले मालीको उत्तरी क्षेत्र आफ्नो नियन्त्रणमा लिएका थिए । त्यसलगत्तै फ्रान्स नेतृत्वको चलाइएको सुरक्षा कारबाहीमा उक्त भूभाग फिर्ता गरिए पनि शान्ति स्थापित हुन सकेको छैन भने मालीका अन्य स्थान तथा छिमेकी देशमा समेत हिंसा फैलिएको छ ।


सेप्टेम्बर अन्त्यमा बुर्किना फासोमा विद्रोहीले दुइटा सैनिक क्याम्पमा आक्रमण गरेका थिए । आक्रमणमा ३८ सैनिकको मृत्यु भएको थियो । माली, बुर्किना फासो, चाड, नाइजर र मौरिटानियामा फ्रान्सको सहयोगमा ‘जी ५ सहेल’ नामक प्रतिआतंकवादी कारबाही सञ्चालन गरिँदै आएको छ ।

प्रकाशित : कार्तिक १७, २०७६ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?