१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

लरीमा मृत भेटिएका सबै भियतनामी

(एजेन्सी)

लन्डन — बेलायतको एसेक्समा गतसाता एक लरीभित्र मृत भेटिएका सबै ३९ जना व्यक्ति भियतनामी भएको प्रहरीले बताएको छ । 

वाटरग्लेड औद्योगिक क्षेत्रको पूर्वी सडकमा रहेको लरीमा गतसाता ३९ जनाका शव भेटिएका थिए । मृतकमध्ये ३१ पुरुष र आठ महिला छन् । औद्योगिक क्षेत्रमा चिसो तापक्रम हुने व्यवस्था गरिएको लरीभित्र फेला परेका शव चिनियाँ नागरिकका भएको बताइएको थियो ।


एसेक्स प्रहरीले आफूहरू केही मृतकका भियतनाम र बेलायतस्थित परिवारका सदस्य तथा भियतनाम सरकारसँग निरन्तर सम्पर्कमा रहेको बताएको छ । केही भियतनामीले आफ्ना नजिकका व्यक्तिहरूको मृत्यु भएको हुन सक्ने बताएका प्रहरीको भनाइ छ ।


शव भेटिनुभन्दा केही समयअघि २६ वर्षीया एक महिलाले आफ्नो ‘विदेश यात्रा असफल’ भएको भन्दै परिवारका सदस्यलाई सन्देश पठाएकी थिइन् । मृत्युको कारण पत्ता लगाउन परीक्षण भइरहेको प्रहरी अधिकारीको भनाइ छ । टिम स्मिथले सबै मृतकहरू भियतनामी भएको लगभग यकिन भए पनि प्रहरी मृतकको सनाखत गर्ने अवस्थामा नरहेको बताए ।


लन्डनस्थित भियतनामी दूतावासले घटनाप्रति दु:ख व्यक्त गरेको छ । दूतावावासका अनुसार पीडितको परिचय खुल्न तथा दुई देशका सम्बन्धित निकायले पुष्टि गर्न अझै बाँकी छ । मृतकको शव भियतनाम पुर्‍याउन सम्बन्धित निकायहरूसँग समन्वय गर्ने तथा परिवारका सदस्यलाई सघाउने दूतावासको भनाइ छ । यसअघि एक भियतनामी पुरुषले आफ्ना ३० वर्षीय छोराको पनि मृत्यु भएको आफूलाई लागेको बताएका थिए । बेलायतस्थित भियतनामी समुदायका मानिसको एक संगठनले सम्पर्कविहीन २० जनाको तस्बिर प्रहरीलाई उपलब्ध गराइएको जनाइएको छ ।


लरीको कन्टेनरभित्र रेफ्रिजेरेटरको जस्तो चिसो हुने भएकाले तापक्रम २५ डिग्री सेल्सीयससम्म झर्न सक्छ । प्रारम्भिक विवरणहरूमा लरी बुल्गेरियाबाट आएको बताइए पनि सरकारले सन् २०१७ मा दर्ता

भएयता नफर्किएको जनाएको छ ।


शवहरू फेला परेपछि उत्तरी आयरलन्डका लरी चालक मोरिस रोबिन्सनलाई पक्राउ गरिएको थियो । उनलाई सोमबार अदालत पेस गरिएको थियो । उनीविरुद्ध ३९ जनाको हत्या गरेको अभियोग लगाइएको छ ।

सन् २००० को जुनमा बेलायतको डोभरमा एउटा लरीको पछाडि ५८ चिनियाँ आप्रवासीका शव भेटिएका थिए । लरी चालकलाई हत्या अभियोगमा जेल सजाय भएको थियो ।


संयुक्त राष्ट्रसंघले सन् २०१४ देखि बेलायत आउने क्रममा ज्यान गुमाएका आप्रवासीबारे अभिलेख राख्न सुरु गरेको हो । त्यसपछिका वर्षमा कन्टेनर वा लरीमा ५ जना आप्रवासीका शव भेटिएको थियो । सन् २०१४ मा युरोपमा आप्रवासी संकट सुरु हुनुअघिको तथ्यांक भने बेलायत सरकारसँग उपलब्ध छैन ।

प्रकाशित : कार्तिक १७, २०७६ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?