कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

अमेरिकालाई चीनको जवाफः आयात एक्स्पोमा ‘आए राम्रो, नआए केही छैन’

लक्ष्मी लम्साल

काठमाडौँ — व्यापारिक सहर सांघाईमा आउँदो मंगलबारदेखि सुरू हुने दोस्रो अन्तर्राष्ट्रिय आयात एक्स्पोमा अमेरिकाले भाग नलिने भएपछि चीनले उस्को सहभागिता भए राम्रो हुने, नभए खासै फरक नपर्ने टिप्पणी गरेको छ। शुक्रबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ परराष्ट्र प्रवक्ता कङ श्वाङले भने, ‘उनीहरु एक्स्पोमा आए भने चीनले हार्दिक स्वागत गर्छ, आएनन् भने पनि कुनै ठूलो क्षति हुने छैन।’

अमेरिकालाई चीनको जवाफः आयात एक्स्पोमा ‘आए राम्रो, नआए केही छैन’

चीन र अमेरिकाबीच लामो समयदेखिको व्यापारिक द्वन्दले किनारा पाउन नसकिरहेका बेला आयात एक्स्पोमा अमेरिकाको सहभागिताबारे केही पत्रकारले जिज्ञासा राखेका थिए। एक्स्पोमा अमेरिकाले कुनै पनि उच्चस्तरीय प्रतिनिधि नपठाउने बुझिएको छ।


नोभेम्बर ५ देखि १० तारिखसम्म चल्ने प्रदर्शनी अन्तर्गत ५ दर्जनभन्दा बढी मुलुकले राष्ट्रिय प्रदर्शनी र १५० वटा क्षेत्र र मुलुकका व्यवसायले कर्पोरेट प्रदर्शनीमा भाग लिँदैछन्। ३ हजार भन्दा बढी व्यवसायहरू यस प्रदर्शनीमा सामेल हुनेछन् भने तीमध्ये १ हजार भन्दा बढीले पहिलोपटक भाग लिन लागेका हुन्।


गत वर्षदेखि विदेशी उत्पादनलाई चीन भित्र्याउनका लागि चीनले आयात एक्स्पोको अवधारणा अघि सारेको हो। यस दोश्रो एक्स्पोमा सहभागिता संख्या अघिल्लो भन्दा बढी छ।


चिनियाँ वाणिज्य सहायक मन्त्री एवं एक्स्पो आयोजक कमिटीका उपनिर्देशक रन होङपिनका अनुसार दोस्रो अन्तर्राष्ट्रिय एक्स्पोमा भाग लिने अमेरिकी व्यवसायीहरूको संख्या सबैभन्दा धेरै छ। शनिबार सांघाई पत्रकार सम्मेलनमा उनले संख्याका हिसाबले पहिलो नम्बरमा अमेरिका र दोश्रोमा जापान रहेको बताए। त्यस्तै क्रमशः जर्मनी, हङकङ, दक्षिण कोरिया, इटाली, फ्रान्स, अष्ट्रेलिया, स्वीट्जर्ल्याण्ड र बेलायत रहेको पनि उनले जानकारी दिए।


अमेरिकाले आफ्ना आधिकारिक प्रतिनिधि नपठाएपनि उसका व्यवसायीहरूको ठूलो सहभागिताले चिनियाँ बजारप्रतिको भरोसा निरन्तर कायमै रहेको चीनले ठानेको छ। बेइजिङमा परराष्ट्र प्रवक्ता कङले चीन र अमेरिकाबीच व्यापारिक समस्या भएपनि आपसी सम्मान र समानताका आधारमा समाधान गर्न सकिने बताए। उनले भने, ‘सहयोगको सारतत्व भनेको पारम्परिक हित र समझदारी नै हो।’

प्रकाशित : कार्तिक १६, २०७६ १४:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?