२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

बोइङका ५० विमान ग्राउण्डेड

(एएफपी)

सिड्नी — अमेरिकी विमान निर्माण कम्पनी बोइङका निकै लोकप्रिय ७३७ एनजी सिरिजका ५० वटा विमानमा क्षति पुगेको भेटिएपछि उडान प्रतिबन्ध (ग्राउन्डेड) गरिएको छ । 

यसअघि दुइटा दुर्घटना बेहोरेको बोइङका लागि यो अर्को गम्भीर समस्या हो । अस्ट्रेलियाली राष्ट्रिय ध्वजावाहक क्वान्टासले एउटा विमानमा समस्या भेटिएपछि ग्राउन्डेड गरेको जनाएको छ । क्वान्टासले यही सिरिजका ३२ विमानको पनि परीक्षण गर्न लागेको छ तर कम्पनीले यात्रुलाई चिन्ता नलिन आग्रह गरेको छ ।


गत अक्टोबर सुरुमै दक्षिण कोरियाली अधिकारीले विमानमा क्षति देखिएको पत्ता लगाएसँगै ९ वटा विमान ग्राउन्डेड गरेका थिए । यी विमानमध्ये कोरियन एयरका ५ वटा थिए । विमानमा समस्या देखिएलगत्तै अमेरिकी नियामक निकायले विमानको तत्काल परीक्षण गर्न बोइङ कम्पनीलाई आदेश दिएको थियो । क्वान्टासको घोषणालगत्तै बोइङ कम्पनीका प्रवक्ताले बिहीबार नै एक हजार विमानमध्ये ५ प्रतिशतभन्दा कम विमानमा ससाना समस्या देखिएको बताएका छन् । प्रवक्ताले ती विमानको मर्मत सुरु भइसकेको पनि जानकारी दिए ।


क्वान्टासको इन्जिनियरिङ विभागका प्रमुख क्रिस स्नुकले विमान पूर्ण रूपमा सुरक्षित महसुस नगर्दासम्म कुनै पनि विमान नउडाउने बताए ।


अमेरिकी नियामक निकाय संघीय नागरिक उड्डयन प्रशासनले ३० हजार पटकभन्दा बढी उडेका सबै ७३७ एनजी सिरिजका विमानको तत्कालै प्राविधिक जाँच गर्न आदेश दिइसकेको छ तर क्वान्टासले ३० हजार पटकभन्दा कम उडेका विमानमा पनि यस्तै समस्या देखिएको जनाएको छ । यी विमान सामान्यत: अस्ट्रेलियाभित्र र छिमेकी न्युजिल्यान्डसम्म मात्र उडाइएको क्वान्टासले जनाएको छ ।


अस्ट्रेलियाली नियामक निकायले अस्ट्रेलियाकै निजी क्षेत्रको भर्जिन एयरवेजले बोइङ ७३७ एनजी सिरिजका सबै १७ वटा विमानको प्राविधिक परीक्षण सम्पन्न गरिएको र त्यसमा कुनै समस्या नदेखिएको जनाएको छ । बोइङका ७३७ म्याक्स सिरिजका लगातार दुइटा विमान दुर्घटना हुँदा ३४६ जनाको मृत्यु भएपछि बोइङका विमानको सुरक्षाप्रति सर्वत्र चासो उत्पन्न भएको छ ।




प्रकाशित : कार्तिक १५, २०७६ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?