२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

रेलमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ७४ पुग्यो 

एपी

मुल्तान — पाकिस्तानको कराची सहरबाट लाहोरतर्फ जाँदै गरेको यात्रुवाहक रेलमा आगलागी हुँदा कम्तीमा ७४ जनाको मृत्यु भएको छ । 

रेलमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ७४ पुग्यो 

पाकिस्तानी रेलमन्त्री शेख रसिद अहमदका अनुसार यात्रीले खाना पकाउनका लागि प्रयोग गरिरहेको सिलिन्डर विस्फोटपछि रेलमा आगालागी भएको हो । उनका अनुसार विस्फोटलगत्तै रेलका तीनवटा डिब्बामा आगो फैलिएको हो ।


पाकिस्तान रेलवेको तेजगम रेल लियाकतपुरमा पुगेपछि आगलागी भएको हो । दुर्घटनास्थल पन्जाब प्रान्तको दक्षिणस्थित रहिम यार खान नगरनजिकै पर्छ । तेजगम पाकिस्तानको पुरानो र निकै लोकप्रिय रेल सेवा हो ।


स्थानीय प्रहरी अधिकारीका अनुसार आगो फैलिएपछि रेलबाट हामफालेका कारण कतिपय यात्रुको ज्यान गएको हो । घटनामा कम्तीमा ४० घाइते छन् ।


अधिकारीहरूले घटनामा मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाएका छन् । मृतकमध्ये अधिकांश एक धार्मिक कार्यक्रममा सहभागी हुन जाँदै गरेका यात्रु थिए ।


‘दुइटा स्टोभ पड्किए । उनीहरू खाना पकाउँदै थिए । उनीहरूका साथमा तेल पनि थियो, जसले आगो झन् फैलन सहयोग पुग्यो,’ रेलमन्त्रीले भने । लामो दूरीको यात्राका क्रममा रेलमा बाहिरबाट खाना ल्याउन दिइने भए पनि यात्रुले स्टोभ ल्याउन वर्जित गरिएको छ ।


जिल्लाका डेपुटी कमिसनर जमिल अहमदले मृतकको शव निकै जलेकाले पहिचानका लागि डीएनए टेस्ट गर्नुपर्ने बताए तर केही समाचारमा विद्युत् सर्किटको समस्याका कारण आगलागी फैलिएको समेत दाबी गरिएको छ ।


पाकिस्तानी प्रधानमन्त्री इमरान खानले दुर्घटनाप्रति दु:ख व्यक्त गरेका छन् । खानले ट्वीट गर्दै घटनाबारे ‘तत्काल छानबिन’ गर्न आदेश दिएको जनाएका छन् । खानले घटनामा पीडितलाई यथोचित उपचार उपलब्ध गराउन समेत निर्देशन दिएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।


पाकिस्तानमा निम्न तथा मध्यमवर्गीय मानिस यात्रका लागि रेलसेवाको भर पर्छन् तर ब्रिटिस इन्डिया शासनकालमा निर्माण गरिएका यहाँका अधिकांश रेल लिकहरूको आवश्यक मर्मतसम्भार हुन सकेको छैन, जसका कारण बारम्बार घातक रेल दुर्घटना हुने गरेका छन् । एक दशकयताको तथ्यांकअनुसार पाकिस्तान धेरै रेल दुर्घटना हुने देशमध्येमा पर्छ । क्षमताभन्दा बढीले यात्रा गर्ने भएकाले रेल दुर्घटनामा हताहत हुनेको संख्या ठूलो हुन्छ । गत जुलाईमा भएको एक दुर्घटनामा ११ तथा सेप्टेम्बरमा ४ जनाको मृत्यु भएको थियो ।


सन् २००७ मा मेहरबपुरमा भएको रेल दुर्घटनामा कम्तीमा ५६ जनाले ज्यान गुमाएका थिए । घटनामा १ सय २० भन्दा बढी घाइते भएका थिए । सन् २००५ मा सिन्ध प्रान्तमा तीनवटा रेल एकआपसमा जुध्दा १३० जनाभन्दा बढीको ज्यान गएको थियो । 

प्रकाशित : कार्तिक १५, २०७६ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?