कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

आईएस प्रमुख बग्दादीमाथिको आक्रमणको दृश्य सार्वजनिक

एजेन्सी

न्युयोर्क/सिरिया — अमेरिकी सेनाले इस्लामिक स्टेटका नाइके इस्लामिक स्टेट (आर्ईएस) प्रमुख अबु बकर अल–बगदादीलाई मार्न आफूले गरेको कारबाहीको दृश्य सार्वजनिक गरेको छ ।

आईएस प्रमुख बग्दादीमाथिको आक्रमणको दृश्य सार्वजनिक

सेनाले सार्वजनिक गरेको भिडियोमा स्थल कारबाहीका लागि बगदादी लुकेर बसेको स्थानतर्फ जानुअघि अमेरिकी हवाई सेनाले जमिनमा रहेका लडाकुलाई लक्षित गरी आक्रमण गरको देखिन्छ । सेनाहरू जमिनमा उत्रनुअघि ज्यान जोगाउन सुरुङभित्र पसेका बगदादीले भेस्ट बम विस्फोट गराई आत्महत्या गरेका थिए ।


अमेरिकी केन्द्रीय कमान्डर जेनरल केनेथ म्याक्केन्जीले बगदादीसँगै पहिले भनिएजस्तै तीन नभई दुई बालबालिकाको मात्र ज्यान गएको बताए । राष्ट्रपति डोनाल्ड ट्रम्पले भने जस्तो त्रासले चिच्याहट गर्दै मरेको म्याक्केन्जीले पुष्टि भने गर्न सकेनन् ।


‘दुई बालबालिकासहित उनी सुरुङमा पसे । आफ्ना सहयोगी माथि नै भएका बेला आत्मघाती विस्फोट गराए । यसैबाट बगदादी कस्ता मानिस थिए भन्ने तपाईं थाहा पाउन सक्नुहुन्छ,’ म्याक्केन्जीले बताए । बगदादीसँगै आत्मघाती पोसाक लगाएका ४ महिला तथा एक पुरुषको पनि मृत्यु भएको म्याक्केन्जीले बताए ।


अमेरिकी हेलिकप्टरमाथि गोली चलाएपछि केही लडाकुलाई पनि अमेरिकी सेनाले मारेको उनको दाबी छ । म्याक्केन्जीका अनुसार कारबाहीका क्रममा गैरसैनिकको मृत्यु नहोस् भनेर निकै ध्यान दिइएको थियो ।


म्याक्केन्जीका अनुसार डीएनए टेस्टपछि बगदादीको शव पहिचान गरिएको हो । उनको डीएनएको नमुना सन् २००४ मा इराकी जेलमा रहँदा लिइएको थियो । उनका अनुसार ‘सशस्त्र युद्धको कानुनअनुसार बगदादीको शव समुद्रमा व्यवस्थापन गरिएको’ छ ।


आईएस लडाकुले प्रतिशोधको भावनाले आक्रमण गर्न सक्नेबारे आफूहरू सचेत रहेको म्याक्केन्जीको भनाइ छ ।


आईएसमा नेतृत्वको खोजी

बगदादीको मृत्युपछि संगठनले नयाँ नेतृत्वको खोजी सुरु गरेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले आइतबार सिरियामा अमेरिकी विशेष सुरक्षा कारबाहीका क्रममा बगदादीले आत्महत्या गरेको बताएका थिए । ट्रम्पले ‘उत्तर–पश्चिम सिरियामा अमेरिकी स्पेसल फोर्सले गरेको कारबाहीमा संसारकै कुख्यात आतंकवादी’ को मृत्यु भएको जनाएका थिए ।

विद्रोहीहरूको समूहबाट गठन गरिएको खतरनाक र हिंस्रक चरमपन्थी संगठन इस्लामिक स्टेटले अफ्रिकादेखि अस्ट्रेलियासम्म संगठन विस्तार गरिरहेको थियो तर प्रमुखलाई गुमाएसँगै नयाँ नेतृत्वको खोजी गरिरहेको कपितयको दाबी छ । यद्यपि, संगठनले आफ्ना समर्थकलाई न कुनै कमजोरी बताउन चाहेको छ न त बगदादीको हत्यापछि कुनै प्रकारको असन्तुलनको संकेत सार्वजनिक गर्न चाहेको छ ।


संगठनका उच्च नेता रहेको सुरा कमिटी (सबै पुरुष) ले पहिले नै संगठन प्रमुखका लागि उम्मेदवारीमाथि विचार गरिसकेको अड्कल गरिँदै छ । यो भूमिकाका लागि उम्मेदवारमा जुन योग्यताको आवश्यकता निर्धारण गरिएको छ, त्यो हो आईएसप्रति पूर्ण निष्ठा, कुशल रणनीति बनाउने क्षमता, कुनै प्रकारको दाग नलागेको धार्मिक पहिचान, युद्ध लड्ने अनुभव र कठोर सजाय दिनेका लागि चर्चित व्यक्ति ।


इस्लामिक स्टेटमा पूर्वइराकी राष्ट्रपति सद्दाम हुसेनका सेना र खुफियातन्त्रका पूर्वसदस्यसँगै अति रूढिवादी जेहादी दुवै सहभागी थिए । बाथिस्ट भनिने समूहले हतियार, गोला–बारुद, खुफिया जानकारी दिन्छन् र योजना तयार गर्छन् । बगदादीपछि आउने नेतामा पनि दुवै समूहसँग निरन्तर सम्पर्कमा रहने व्यक्ति हुनुपर्ने बताइएको छ । यद्यपि, आईएसलाई केही समय बगदादीको अभाव खड्किने निश्चितप्रायः छ ।

प्रकाशित : कार्तिक १४, २०७६ २१:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?