हरियाणा र महाराष्ट्र विधानसभा चुनाव : भाजपालाई झट्का

सुरेशराज न्यौपाने

(नयाँदिल्ली) — भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) ले हरियाणा र महाराष्ट्रमा सोमबार भएको विधानसभा चुनावमा नमिठो झट्का व्यहोरेको छ । 

लोकसभा चुनावमा ऐतिहासिक जित हात पारेको ५ महिना नबित्दै भएको चुनावलाई भारतीय प्रधानमन्त्री मोदीको दोस्रो कार्यकालको जनपरीक्षणका रूपमा हेरिएको थियो । एक्लै चुनाव लडेको हरियाणामा भाजपाले नमिठो हार व्यहारेको छ भने शिवसेनासँग चुनावी तालमेल गरेको भाजापले महाराष्ट्रमा विपक्षी गठबन्धनबाट कडा टक्कर सामना गर्नुपरेको छ ।


विश्लेषकहरूले चुनावी नतिजालाई जम्मु–कश्मीरको विशेषाधिकार खारेजी गर्ने मोदी सरकारको निर्णयप्रतिको अभिमतका रूपमा व्याख्या गरेका छन् । साथै, पछिल्लो समय ओरालो लागेको भारतीय अर्थतन्त्र तथा बेरोजगारीप्रति सरकारको उदासिनता पनि मतमार्फत् प्रकट भएको जनाइएको छ । चुनावी अभियानका भाजपा नेताहरूले जम्मु–कश्मीरको विशेषाअधिकार अन्त्य गर्ने सरकारी निर्णय राष्ट्रहितमा रहेको दाबी गरेका थिए । पछिल्लो चुनावी परिणामअनुसार महाराष्ट्रको २८८ सदस्यीय विधानसभामा भाजापा–शिवसेना गठबन्धनले १५९ सिटमा मात्र विजयी भएको छ । यो २०१४ को चुनावी परिणामभन्दा २६ सिट कम हो ।


भारतीय राष्ट्रिय कंग्रेस र राष्ट्रवादी कंग्रेस गठबन्धनले महाराष्ट्रको जनमतमा उल्लेख्य सुधार गरेका छन् । गठबन्धन ९८ सिटमा विजयी भएको छ । जुन ५ वर्षअघिको भन्दा १३ सीट बढी हो । गत जेठमा सम्पन्न लोकसभा चुनावमा राज्यको ४८ लोकसभा सिटमध्ये भाजपा गठबन्धनले ४१ सिट जितेको थियो ।


महाराष्ट्रमा जेनतेन आफ्नो शाख जोगाएको भाजपाले हरियाणामा भने नमिठो झट्का व्यहोरेको छ । मुख्यमन्त्री मनोहरलाल खट्टरको नेतृत्वको भाजपाले सहज जित हात पार्ने आंकलन गरिएको भए पनि भाजपा ३८ सिटमा सीमित भएको छ । कमजोर आँकिएको विपक्षी कंग्रेसले विधानसभाका ९० सिटमध्ये ३२ मा विजयी भएको छ ।


लोकसभा चुनावमा राज्यका सबै १० सिटमा पराजय खेपेको कंग्रेसले विधानसभा चुनावमा यस्तो परिणाम ल्याउने अपेक्षा कमैले गरेका थिए । किनकि पार्टीको राज्य एकाईभित्रै पनि पूर्वमुख्यमन्त्री भूपीन्दर सिंह हुड्डा र अन्य नेताबीच विवाद तथा तालमेल अभाव थियो । त्यसैगरी, सत्तारूढ भाजपाको चुनावी अभियानमा प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहजस्ता दिग्गज सक्रिय थिए ।


हरियाणामा कुनै पनि दलले एकल बहुमत नपाएको अवस्थामा जननायक जनता पार्टी (जेएनजेपी) निर्णायक शक्तिका रूपमा उदाएको छ । जेएनजेपीले विधानसभा चुनावमा १० सिट जितेको छ । कंग्रेसले चौटालालाई मुख्यमन्त्रीका लागि नि:सर्त सहयोग गर्ने घोषणा गरिसकेको छ भने भाजपाले विवेकपूर्ण निर्णय लिन आग्रह गरेको छ ।




प्रकाशित : कार्तिक ८, २०७६ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?