छात्रा जिउँदै जलाउनेलाई मृत्युदण्ड

प्रधानाध्यापकसहित १६ जनालाई फाँसी दिने बंगलादेशी अदालतको फैसला
एजेन्सी

ढाका — बंगलादेशको एक अदालतले छात्रालाई जिउँदै जलाएको अभियोगमा दोषी ठहर गर्दै १६ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ । १९ वर्षीया नुसरत जहान रफीको गत अप्रिलमा बंगलादेशको राजधानी ढाकाबाट १६० किलोमिटर टाढाको फेनी नगरमा हत्या गरिएको थियो ।

छात्रा जिउँदै जलाउनेलाई मृत्युदण्ड

नुसरतले आफूमाथि प्रधानाध्यापकले यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि उनको हत्या भएको थियो ।


नुसरतको मृत्युको घटनाले स्तब्ध बंगलादेशीले न्यायको माग गर्दै शृंखालाबद्ध प्रदर्शन भएका थिए । बंगलादेशमा सामान्यतः हत्या तथा बलात्कारका घटनासम्बन्धी मुद्दाको किनारा लाग्न वर्षौं लाग्ने गरे पनि नुसरतको मुद्दा अदालतले निकै छोटो समयभित्रै छिनिदिएको छ । अभियोजनकर्ता हाफेज अहमदले संवाददातासँग कुरा गर्दै अदालतको फैसलाले बंगलादेशमा ‘हत्या तथा बलात्कारमा संलग्न कोही पनि सहजै उम्किन नसक्ने’ तथ्य प्रमाणित भएको बताए ।


प्रधानाध्यापक सिराज उद दोउलाबाहेक उनका दुई शिक्षक पनि हत्यामा संलग्न भएको अदालतको ठहर छ । त्यसैगरी दोषी ठहर गरिएका अन्य व्यक्तिहरू राहुल अमिन र मक्सुद अलाम बंगलादेशको सत्तारुढ दल अवामी लिगका स्थानीय नेता हुन् ।


बंगलादेशी सञ्चारमाध्यमका अनुसार स्थानीय प्रहरीहरूसमेत घटनामा दोषी ठहर भएका छन् । यद्यपि उनीहरुलाई घटनापछि गलत सूचना सार्वजनिक गरेकोमा दोषी ठहर गरिएको हो ।


नुसरतको परिवारले अदालतको फैसला स्वागत गर्दै शीघ्र कार्यान्वयन गरिनुपर्ने बताएका छन् । बंगलादेशमा मृत्युदण्ड झुन्ड्याएर दिने गरिन्छ । अदालतको फैसलालगत्तै केही प्रतिवादीहरु रोएका थिए भने केहीले आफूमाथि अन्याय भएको भन्दै चिच्याएका थिए । बंगलादेशका विद्यालय तथा मदरसाहरूमा छात्राहरुमाथि यौन दुर्व्यवहार निकै हुने गरेको छ । तर कतिपयले सामाजिक अपहेलाना हुने डरले त्यसविरुद्ध बोल्न डराउने गर्छन् ।


घटना के हो ?

प्रधानाध्यापक सिरज उद दोउलाले आफूलाई बारम्बार अनुचित तरिकाले छोएको भन्दै नुसरतले प्रहरीमा उजुरी गरेकी थिइन् । त्यसको ११ दिनपछि गत अप्रिल ६ मा उनलाई विद्यालयको छतमा बोलाइएको थियो ।


त्यहाँ उनलाई बुर्का लगाएका ४/५ जनाले घेरेर उजुरी फिर्ता लिन दबाब दिएका थिए । तर उनले उजुरी फिर्ता नगर्ने बताएपछि उनलाई जीवितै आगो लगाइएको थियो ।


प्रहरीका अनुसार आक्रमणकारीले घटनालाई आत्महत्या देखाउने प्रयास गरे पनि नुसरत भाग्न सफल भएकी थिइन् । आगोले जलेर सख्त घाइते भएकी उनले घटनाबारे दिएको जानकारीको भिडियो उनका भाइले मोबाइलमा रेकर्ड गरेका थिए ।


केही आक्रमणकारीको नाम लिँदै उनले भनेकी थिइन्, ‘शिक्षकले मलाई छोएका थिए । म त्यो अपराधविरुद्ध सास रहुन्जेल लडिरहन्छु ।’ ८० प्रतिशत शरीरको भाग जलेका कारण नुसरतको ४ दिनपछि अर्थात् अप्रिल १० मा मृत्यु भएको थियो ।


बंगलादेशमा यौन अपराधको अवस्था

बंगलादेशमा यौन दुर्व्यवहार र यौनजन्य अपराध सामान्य छ । ‘एक्सन एड’ ले गरेको एक अध्ययनअनुसार तयारी कपडा उद्योगमा काम गर्ने ८० प्रतिशत महिलाले यौन हिंसा देखेका वा भोगेका छन् ।


महिला अधिकार समूह ‘महिला परिषद्’ का अनुसार सन् २०१९ को ६ महिनामा बंगलादेशमा यौन दुर्व्यवहारपछि कम्तीमा २६ महिलाको हत्या, ५९२ जनाको बलात्कार गरिएको छ । तीमध्ये ११३ महिलाले आफूहरु सामूहिक बलात्कारको सिकार भएको बताएका छन् । यद्यपि, अधिकारकर्मीहरुका अनुसार बलात्कार तथा यौन दुर्व्यवहारको तथ्यांक सार्वजनिक भएको भन्दा निकै धेरै छ ।


नुसरतले जसरी यौन दुर्व्यवहारको प्रतिकार गर्नु बंलादेशमा सामान्य होइन किनभने त्यसो गरेमा उनीहरूमाथि घर परिवारकै सदस्यले राम्रो व्यवहार गर्दैनन् भने समुदायको अवहेलनामा पर्छन् । कतिपय घटनामा उनीहरुमाथि हिंसात्मक आक्रमणसमेत हुने गरेका छन् ।

आफूमाथि दुर्व्यवहारको घटना भएलगत्तै नुसरत प्रहरीकहाँ समेत गइन् । उनको बयान भिडियोमा समेत रेकर्ड गरियो जुन पछि सञ्चारमाध्यममा छ्यापछ्याप्ती हुन पुग्यो । त्यसपछि प्रधानाध्यापकको रिहाइको माग गर्दै प्रदर्शनसमेत गरिएका थिए । जसका कारण नुसरतको परिवारमाथि आक्रमण हुन सक्ने चिन्ता बढेको थियो ।


हत्यापछिको प्रतिक्रिया

नुसरतको हत्याको घटना सार्वजनिक भएपछि बंगलादेशमा भएका ठूला प्रदर्शनहरूले देशमा यौन हिंसा र दुर्व्यवहार भोग्ने पीडितमाथि हुने जोखिमको अवस्था प्रस्ट भयो ।


प्रधानमन्त्री शेख हसिनाले सार्वजनिक रूपमा ‘कुनै पनि पीडक कानुनी कारबाहीबाट उम्कन नसक्ने’ प्रतिबद्धता जनाइन् । घटनाप्रति उनको रुचिलाई नुसरतको परिवार तथा कपितयले निकै प्रशंसा गरे ।


प्रधानमन्त्रीको प्रतिक्रियासँगै प्रहरीले मेमा १६ जना आक्रमणकारीमाथि मृत्युदण्डको सजायको माग गर्दै अभियोग दर्ता गरायो । सुरुमा प्रहरीले यौन दुर्व्यवहार भएको भन्ने आरोप अस्वीकार गरिरहेको थियो ।


अधिकारकर्मीहरूले घटनाले बंगलादेशमा हुने यौन अपराधप्रति मौलाइरहेको दण्डहीनताको संस्कृति बाहिर आएको बताएका छन् । नुसरतको हत्यामा संलग्नलाई मृत्युदण्डको फैसला सुनाइएसँगै यस्तै पकृतिका घटनामा पीडितहरु बाहिर आउने उनीहरुको अपेक्षा छ ।

प्रकाशित : कार्तिक ७, २०७६ २१:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?