कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रूस–टर्की सहमति : ‘कुर्द फौज सीमाबाट टाढा’

सिन्ह्वा

सोकी (रूस) — रूस र टर्कीले सिरियामा पछिल्ला केही सातायता भएका द्वन्द्वलाई रोक्ने सम्बन्धमा बुधबार सहमति गरेका छन् ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले टर्कीका समकक्षी रेसेप तैयप एर्दोगानसँग सोकीमा भएको छलफलपछि सिरियाली कुर्द फौजलाई टर्कीसँग जोडिएको सिरियाको सीमावर्ती क्षेत्रबाट टाढा राख्ने गरी सहमति भएको हो । सहमतिलाई दुवै मुलुकले ‘ऐतिहासिक’ भनेका छन् । क्रेमलिनले आफ्नो वेबसाइटमा एक सूचना जारी गर्दै भनेको छ, ‘सहमति बुधबार (अक्टोबर २३) दिउँसो १२ बजेबाटै सहमति कार्यान्वयनमा आउनेछ ।’


‘सहमतिअनुसार मस्को र अङ्काराले रूसी तथा सिरियाली सैन्य बललाई टर्कीले कुर्दलाई निशाना बनाई हालै गरिएका आक्रमणस्थल क्षेत्रमा तैनाथ गर्नेछन् भने टर्कीले सिरियाली कुर्द लक्षित कारबाहीलाई रोक्नेछ ।


यस्तै सिरियाली कुर्दलाई सिरिया–टर्कीको सिमाना क्षेत्रबाट ३० किलोमिटर टाढा राखिनेछ । उनीहरूलाई यसका लागि १५० घन्टा समय दिइनेछ,’ सहमतिमा उल्लेख छ ।


टर्कीले कुर्द लडाकुलाई भगाउन तथा सीमावर्ती भेगमा एउटा सुरक्षित क्षेत्र बनाउन भन्दै उत्तरी सिरियामा आक्रमण गरेको थियो । रुसले सिरियाका राष्ट्रपति बसर अल–असदलाई सहयोग पुर्‍याउँदै आएको छ । उसले सिरियामा भएको विदेशी हस्तक्षेपप्रति चासो प्रकट गरेको थियो । झन्डै दुई हप्ताअघि अमेरिकाले आकस्मिक र अनपेक्षित निर्णय गर्दै आफ्नो सेना उत्तरी सिरियाबाट फिर्ता गरेपछि उत्पन्न परिस्थितिमा टर्की र रूसबीच यो सहमति भएको हो ।


विश्लेषकले यसबाट उक्त क्षेत्रमा टर्की र रूसको प्रभावलाई बलियो बनाउने आँकलन गरेका छन् । उक्त सहमति भएको घोषणा भएको केही समयपछि टर्कीले सिरियामा पुन: कारबाही गर्नु नपर्ने बताएको छ । यसअघि टर्कीले कुर्द फौजलाई बाहिर जान दिन भन्दै केही दिनका लागि युद्धविराम गरेको थियो । टर्कीले सिरियाका दुई सहरबीच १२० किलोमिटर लामो भाग आफ्नो नियन्त्रणमा लिएको छ । त्यसलाई ‘सुरक्षित क्षेत्र’ बनाएर हाल टर्कीमा रहेका झन्डै २० लाख शरणार्थीलाई बसाउने उसको योजना छ ।


यद्यपि नयाँ सहमतिबारे कुर्द पक्षले कुनै प्रतिक्रिया जनाइसकेको छैन तर सिरियाका राष्ट्रपति असदले रूसी राष्ट्रपति पुटिनलाई धन्यवाद दिएको क्रेम्लिनले जनाएको छ । रूसका अनुसार असदले भने रुसले गरेको सहमतिप्रति पूर्णसहयोग गर्ने प्रतिक्रिया दिइसकेका छन् ।


प्रकाशित : कार्तिक ७, २०७६ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?