१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

हङकङमा संदिग्ध अभियुक्त रिहा, सुपुर्दगी विधेयक फिर्ता

रोयटर्स

हङकङ — चीन शासित हङकङ र ताइवानबीच एक जना संदिग्ध हत्या अभियुक्तबारे जारी तनाव बुधबार मत्थर भएको छ । ताइवानमा आफ्नी प्रेमिकाको हत्यापछि हङकङ भागेका युवकको रिहाइपछि तनाव मत्थर भएको हो । ती युवकलाई सुपुर्दगी गर्न हङकङमा नयाँ विधेयक ल्याइएको थियो । 

हङकङमा संदिग्ध अभियुक्त रिहा, सुपुर्दगी विधेयक फिर्ता

उक्त विधेयकको विरोधमा हङकङमा व्यापक प्रदर्शन भएको थियो । प्रदर्शनकारीले विधेयकमा परिवर्तनको माग गरेका थिए । बुधबार संदिग्ध अभियुक्त चान टोङ–काई रिहा भएसँगै सुपुर्दगी विधेयक पनि औपचारिक रूपमा हङकङ प्रशासनले फिर्ता लिएको छ । काईले अघिल्लो वर्ष ताइवानमा आफ्नी गर्भवती प्रेमिकाको हत्यापछि हङकङ पुगेको आरोप लागेको थियो । हङकङ र ताइवानबीच सुपुर्दगी सन्धि नभएका कारण उनलाई बुझाइएन ।


सरकारद्वारा कानुनमा संशोधन प्रस्ताव पेस गर्ने बेला यो विषयलाई समेत आधार बनाइएको थियो । प्रेमिकाको हत्यापछि उनको क्रेडिट कार्डबाट काईले रकम निकालेको आरोपमा जेल चलान गरिएको थियो । १९ महिना जेलमा बसेर उनी बुधबार रिहा भएलगत्तै पीडित परिवाससँग माफी मागेका छन् ।


उनले भने, ‘म आत्मसमर्पण गर्न तयार छु, मुद्दा झेल्न र सजाय भोग्नका लागि ताइवान जान पनि तयार छु । ’ युवकलाई ताइवान कसरी पठाउने भन्ने विषयमा हङकङ र ताइवानबीच कैयौं पटक तनाव सिर्जना भएको थियो । अझै पनि यो विषयलाई अगाडि कसरी बढाउने भन्ने स्पष्ट हुन सकेको छैन ।

हङकङ प्रशासनले युवक ताइवान गएर आत्मसमर्पण गर्न सक्ने जनाएको छ । उता ताइवानले सुरक्षासँग सम्बन्धित कारणहरुले आफ्ना अधिकारीहरु पठाएर युवकलाई लैजाने प्रस्ताव गरेको बीबीसीको समाचारमा उल्लेख छ । यो प्रस्तावलाई हङहङले भने ठाडै अस्वीकार गरिदिएको छ ।


प्रस्तावित सुपुर्दगी विधेयक पास भएको भए हङकङका संदिग्ध अपराधीहरुलाई चीन, ताइवान र मकाउमा जुनसुकै बेला सुपुर्दगी गर्न सकिने थियो । चीन, ताइवान र मकाउको हङकङसँग सुपुर्दगी सन्धि छैन । प्रस्ताविक कानुनका आलोचकहरु भन्छन्, ‘चीनमा सुपुर्दगीपछि कैयौं मानिसलाई हिरासतमा लिन सकिने र अनुचित ढंगबाट मुद्दा चलाउँदै कानुनको गलत प्रयोग हुन सक्थ्यो ।’ यो विवादास्पद विधेयक बुधबार औपचारिक रूपमा फिर्ता लिइएको छ ।


हङकङमा व्यापक विरोध प्रदर्शनपछि सरकारले गत जुलाईमा विधेयक निलम्बित गर्ने घोषणा गरेको थियो । प्रदर्शनले उग्र रूप लिँदै गएपछि सुपुर्दगी विधेयकसँगै लोकतन्त्रसँग सम्बन्धित विषय र चीनको हस्तक्षेप कम गर्ने सवाल पनि उठेको थियो ।

प्रकाशित : कार्तिक ६, २०७६ २१:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?