२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

क्यानडामा संघीय चुनाव : ट्रुडोको बहुमत गुम्यो

गठबन्धन सरकार बनाउने
(एएफपी)

ओट्टावा — क्यानडामा सोमबार भएको मतदानमा प्रधानमन्त्री जस्टिन ट्रुडोले बहुमत गुमाएका छन् । तर संसदीय निर्वाचनमा उनको दल लिबरलले सबैभन्दा बढी स्थानमा विजयी भएको छ ।

क्यानडामा संघीय चुनाव : ट्रुडोको बहुमत गुम्यो

लिबरल पार्टी संसद्‌मा सबैभन्दा ठूलो दल भएकाले जस्टिन नै प्रधानमन्त्री हुने भएका छन् । बीबीसीका अनुसार उनले सरकार गठनका लागि साना दलहरूसँग छलफल थालिसकेका छन् ।


३३८ सदस्यीय संसद्मा जस्टिनको दल १५७ स्थानमा विजयी भएको छ भने विपक्षी दल कन्जरभेटिभ्स १२१ सिट ल्याएको छ । कन्जरभेटिभको यसअघि ९५ सिट थियो ।


अघिल्लो चुनावको तुलनामा ठूलो मत गुमाए पनि न्यु डेमोक्र्याटिक पार्टी (एनडीपी) का नेता जगमित सिंह सरकार गठनका लागि निर्णयक हुने भएका छन् । एनडीपी २४ सिटमा विजयी भएको छ ।

पूर्वी क्यानडाको क्युबेक्स प्रान्तमा मात्र चुनाव लडेको पृथकतावादी दल क्युबेकोइसले ३४ स्थान जितेको छ । सन् २०१५ मा १० सिट जितेको दलले ३२ सिट जित्ने अनुमान गरिएको थियो ।


संघीय चुनावलाई प्रधानमन्त्री ट्रुडोको जनमतसंग्रहका रूपमा हेरिएको थियो । मतदान सकिएलगत्तै समर्थकहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री जस्टिनले जनताले विभाजन र सरकारी अनुदानमाथिको निर्भरतालाई अस्वीकार गरेको दाबी गरेका थिए । ‘क्यानडाका जनताले प्रगतिशील एजेन्डा र जलवायु परिवर्तनसम्बन्धी सरकारका बलिया योजनालाई खुलेर समर्थन गरेका’ उनको दाबी छ । सम्बोधनका क्रममा उनले क्युबेक, सास्काचेवान र अल्बर्टाका जनतामा निराशा बढिरहेको भन्दै सरकारको ध्यानाकर्षण भएको बताए ।


सन् २०१५ मा पहिलो कार्यकालका लागि चुनिएका ट्रुडोले ‘वास्तविक परिवर्तन’ र सुधारका कार्ययोजना अघि सारेका थिए । तर चारवर्षे कार्यकालमा ट्रुडोले आफ्ना प्रतिबद्धता पूरा नगरेको भन्दै आलोचना खेपेका थिए । उनले संघीय चुनाव सुधारका लागि पहल गर्ने प्रतिबद्धता जनाएका भए पनि त्यसतर्फ ठोस पहल गर्नतर्फ ध्यान दिएनन् । यद्यपि, दुई दर्जन क्यानेडेली शैक्षिकविद्हरूले गरेको स्वतन्त्र अध्ययनमा उनले करिब ९२ प्रतिशत वाचा पूरा गरेका देखिएको थियो । जुन क्यानडामा ३५ वर्षयता बनेका सरकारले गरेका चुनावी प्रतिबद्धतामध्ये सबैभन्दा बढी प्रतिशत हो ।


४० दिने चुनावी प्रचारप्रसारका क्रममा प्रधानमन्त्री ट्रुडोमाथि मतदाताले पहिलो कार्यकाल र आगामी दिनका योजनाबारेमा अनेक प्रश्न तेर्साएका थिए । उनले क्यानडाको इतिहासमै यसपटकको चुनावी अभियान ‘असाध्यै घिनलाग्दो र निम्नस्तरको’ बताउँदै व्यापक सुधार आवश्यक रहेको धारणा राखेका थिए । उनको भनाइ ट्रुडो र विपक्षी नेता सियरबीच भएका आरोप–प्रत्यारोप्रति लक्षित थियो ।

चुनावी नतिजा सार्वजनिक भएसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायती प्रधानमन्त्री बोरिस जोन्सले ट्रुडोलाई बधाई दिएका छन् ।


ट्रम्पले ट्वीटरमा लेखेका छन्, ‘निकै राम्रो र प्रतिस्पर्धात्मक चुनावमा विजयी भएकोमा जस्टिन ट्रुडोलाई बधाई । हाम्रा देशहरूलाई अझ सुधार गर्न म तपार्इंसँग मिलेर काम गर्न प्रतीक्षारत छु ।’


मंगलबार बिहानैदेखि उनले नयाँ सरकार गठनका लागि सहमति जुटाउने प्रयास थालेका छन् । क्यानडामा पटकपटक अल्पमतको सरकार बनेका उदाहरण छन् । बीबीसीका अनुसार १५ वर्षको अवधिमा क्यानडामा ३ वटा अल्पमतको सरकार गठन भएका थिए ।


प्रकाशित : कार्तिक ६, २०७६ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?