सिरियाबाट फर्कने अमेरिकी सेना इराक जाने

(एजेन्सी)

वासिङ्टन — सिरियाको उत्तर क्षेत्रबाट फिर्ता गरिएका अमेरिकी सेना इराक खटाइने भएको छ । 

अमेरिकी रक्षामन्त्री मार्क एस्परले सिरियाबाट फिर्ता गरिएकामध्ये एक हजार सेना स्लामिक स्टेट (आईएस) को पुनरुत्थानविरुद्ध खटाइने बताए । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ती सेना देश फर्कले घोषणा गरेका थिए । त्यसको केही समयमा सिरियास्थित कुर्द समूहले आफ्ना लडाकुहरू सिरियाको रस अल–ऐनबाट फर्केका जनाएको छ । टर्की र अमेरिकाबीचको सहमतिअनुसार सिरियामा गरिएको युद्धविरामपछि लडाकुहरू फिर्ता गरिएको हो ।


सिरियाबाट सेना फिर्ता गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयले टर्कीलाई कुर्द लक्षित आक्रमण गर्न बाटो खोलिदिएको थियो । सिरियन डेमोक्र्याटिक फोर्स (एसडीएफ) को प्रमुख एकाई कुर्दिस फौजलाई टर्कीले आतंककारी समूह बताउने गर्छ । पछिल्लो युद्धविराम सम्झौतामा एसडीएफ निश्चित क्षेत्रमा रहन सहमत भएको थियो । यद्यपि, टर्कीले एसडीएफ अझै सानो इलाकामा रहनुपर्ने बताएको थियो ।


अमेरिकी उपराष्ट्रपति माइक पेन्सको अग्रसरतामा भएको युद्धविराम उल्लंघन गरेको आरोप दुवै पक्षले एक अर्कालाई लगाएका छन् । आइतबार टर्कीले सिरियाको ताल अब्याद क्षेत्रमा आफ्ना एक सैनिकको ज्यान गएको र एक घाइते भएका बताएको थियो ।


अमेरिकी रक्षा मन्त्रालयका एक वरिष्ठ अधिकारीले अमेरिकी सेना इराक खटाइन लागेको पुष्टि गरेका छन् । उनले योजना परिवर्तन हुन सक्ने जनाए पनि तत्कालका लागि यो नै उत्तम योजना रहेको बताए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै सिरियामा युद्धविरामपछि छिटफुट घटनाबाहेक स्थिति सामान्य रहेको दाबी गरेका छन् ।


दुई सातअघि टर्कीले सीमावर्ती सिरियाली भूभागमा भीषण सैन्य कारबाही थालेको थियो । टर्कीले आफ्नो देशमा रहेका ३० लाखभन्दा बढी सिरियाली शरणार्थी सिरियामा पुनःस्थापित गराउने कारबाही चलाएको बताएको थियो ।



प्रकाशित : कार्तिक ५, २०७६ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?