कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

भारत–पाक तनाव : गोली हानाहानपछि आरोप–प्रत्यारोप

एजेन्सी

श्रीनगर/इस्लामाबाद — भारत–पाकिस्तान सीमाक्षेत्र कश्मीरमा गोली हानाहान भएपछि दुई देशबीच फेरि तनाव चर्किएको छ ।

भारत–पाक तनाव : गोली हानाहानपछि आरोप–प्रत्यारोप

उनीहरूले एकअर्कालाई गोलाबारी गरेको आरोप लगाएका छन् । घटनामा दुवैतिर सैनिक तथा गैरसैनिक नागरिकको मृत्यु भएको छ । भारत र पाकिस्तान दुवैले एकअर्कालाई युद्धविराम भंग गरेको आरोप लगाउँदै आफूहरु प्रतिकारमा उत्रेको दाबी गरेका छन् ।


परमाणु हतियार सम्पन्न दुई देशबीच कश्मीर विवादका कारण दुई पटकसम्म युद्ध भइसकेको छ । तर पछिल्लो समय कश्मीर मुद्दाका कारण भारत र पाकिस्तानबीच तनाव निकै बढेको हो ।


फेब्रुअरीमा कश्मीरमा गरिएको एक आत्मघाती आक्रमणमा भारतीय सशस्त्र फौजका ४६ जवानको मृत्यु भएपछि भारतले पाकिस्तानमा हवाई आक्रमण गरेको थियो । पुलवामामा गरिएको आत्मघाती बम आक्रमणको पाकिस्तानस्थित विद्रोही समूह जैस–ए–मोहम्मदले जिम्मेवारी लिएको थियो ।


त्यसका कारण बढेका दुई देशका तनाव गत अगस्टमा भारतले कश्मीरको विशेषाधिकार खारेज गरेपछि पाकिस्तानले त्यसको विरोध गर्‍यो । भारतीय निर्णयविरुद्ध अन्तर्राष्ट्रिय समर्थन खोजिरहेका पाकिस्तानी प्रधानमन्त्री इमरान खानले यो मुद्दा राष्ट्रसंघलगायतमा उठाइसकेका छन् ।


कश्मीर आफ्नो स्वामित्वमा हुनुपर्ने भारत र पाकिस्तान दुवैको दाबी छ । कश्मीरमा सन् २००३ मा युद्धविराम गर्ने भारत र पाकिस्तानबीच भएको सहमति पछिल्लो वर्षको तनावले जोखिममा परेको आंकलन गरिएको छ । दुई देशका सैनिकबीच सीमावर्ती कुपवारा जिल्लाका दुई गाउँमा आइतबार गोलाबारी भएको थियो । तर दुई पक्षका दाबी फरक छन् । पाकिस्तानले गैरसैनिकलाई तारो बनाएको भारतको आरोप छ ।


भारतीय सेनाप्रमुख विपीन राउतले भारतीय पक्षले गरेको लडाकु लक्षित आक्रमणमा कम्तीमा ६ पाकिस्तानी सैनिकको मृत्यु भएको तथा ३ शिविर नष्ट भएको दाबी सञ्चारमाध्यमलाई बताएका छन् ।


पाकिस्तानी सेनाका प्रवक्ता असिफ गफुरले भारतले युद्धविराम भंग गरेको तथा ‘नियतवश गैरसैनिकलाई तारो बनाएको’ आरोप लगाएका छन् । उनले आफ्नो प्रतिकारात्मक कारबाहीमा ९ भारतीय सैनिकको ज्यान गएको र अन्य केही घाइते भएका दाबी गरे ।


पाकिस्तानी पक्षले हालसम्म कम्तीमा २ हजारपटक युद्धविरामको नियमविपरीत कारबाही गरेको भारतीय गृह मन्त्रालयको दाबी छ । ती घटनामा भारतका २१ जनाको मृत्यु भएको उसको भनाइ छ । यस वर्ष सीमाक्षेत्रमा भारतीय पक्षबाट भएको कारबाहीमा १४ सैनिकसहित ४५ जनाको मृत्यु भएको पाकिस्तानको दाबी छ ।

प्रकाशित : कार्तिक ४, २०७६ २१:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?