नयाँदिल्लीमा फेरि वायु प्रदूषण

कान्तिपुर संवाददाता

(नयाँदिल्ली) — हिउँदको आगमनसँगै दंग देखिन थालेका भारतको राजधानी नयाँदिल्लीवासीलाई बढ्दो वायु प्रदूषणले एकाएक पिरोल्न थालेको छ । विगतका वर्षमा जस्तै यस वर्ष पनि भारतको राजधानी नयाँदिल्ली र आसपासको क्षेत्र प्रदूषणयुक्त वायुले ढाकिन थालेको छ ।

नयाँदिल्लीमा फेरि वायु प्रदूषण

जसले गर्दा केही साताअघिसम्म पनि छ्यांग देखिएको दिल्लीको आकाश एकाएक धुम्म बनेको छ । वायुको गुणस्तरमा भएको एकाएक आएको गिरावटले सर्वासाधारणलाई श्वास फेर्न पनि गाह्रो हुन थालेको छ ।


केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी) का अनुसार गत शुक्रबार वायुको दिल्लीको हावाको गुणस्तर मापन गर्ने सूचक एअर क्वालिटी इन्डेक्स (एक्यूआई) २४५ थियो । जबकि जनस्वास्थ्यका हिसाबले त्यो इन्डेक्स सयभन्दा तल हुनुपर्छ । बिहीबार दिल्लीको औसत एक्यूआई २७६ थियो बुधबार ३०४ रहेको थियो । सीपीसीबीले आगामी सोमबारसम्म प्रदूषणको स्तर थप चिन्ताजनक हुने जनाएको छ ।


हरेक वर्ष १५ अक्टोबरदेखि १५ नोभेम्बरसम्ममा पन्जाब र हरियाणामा खेतमा पराल जलाइने भएकाले त्यसको असर दिल्लीको वायुको गुणस्तरमा पर्ने गरेको छ । पन्जाब र हरियाणा भारतको राम्रो कृषिउपज हुने ‘ब्रेड बास्केट’ का रूपमा चिनिन्छन् । दिल्ली छेउका यिनै दुई राज्यका किसानले हरेक वर्ष यही समयमा हिउँदे बालीका लागि माटोको ओसिलोपन कम गर्न भन्दै पराल डढाउने गरेका छन् । जसले गर्दा यस क्षेत्रको वायुको प्रदूषणको स्तर बढ्ने गरेको छ । जबकि पन्जाब र हरियाणामा पराल जलाउन प्रतिबन्धित छ ।


त्यति मात्र होइन, धानको ठुटो र परालको व्यवस्थापनका लागि आधुनिक उपकरण खरिद गर्नका लागि राज्य सरकारले ५० देखि ८० प्रतिशत अनुदानको व्यवस्था पनि गरेको छ । किसानहरूले त्यसको बेवास्ता गर्दै पराल आगो लगाउने गरेका छन्, जसले हरेक वर्ष दिल्ली र आसपासको क्षेत्रमा अक्टोबर र नोभेम्बर महिनामा हावाको गुणस्तर निकै तल झर्ने गरेको छ ।


अझै यहाँको वायु प्रदूषण तथा मौसम अनुमान अनुसन्धान केन्द्रले आगामी साता दिल्लीको वायु गुणस्तर थप बिग्रने जनाएको छ । दिल्लीको वातावारण यो हदसम्म प्रदूषित हुनुमा सवारीबाट हुने प्रदूषणका अलावा पन्जाब र हरियाणाका किसानले हिउँदे बाली लगाउनका लागि खेतमै पराल र धानको ठुटो जलाउनुलाई पनि जिम्मेवार ठानिएको छ । दिल्ली छेउका पन्जाब र हरियाणा राज्यका किसानहरूले हिउँदे बालीका लागि राम्रो मल हुने विश्वासका साथ पराल र धानको ठुटो जलाउने गर्छन् । जबकि सरकारले त्यसरी जलाउन गत वर्ष नै प्रतिबन्ध लगाएको थियो ।


विगतका वर्षहरूभन्दा त्यसमा केही कमी आए पनि यस वर्ष पनि हजारौं स्थानमा पराल र धानको ठुटो जलाइएको भूउपग्रहबाट प्राप्त तस्बिरहरूले देखाएका छन्, जसले गर्दा राजधानी दिल्ली र आसपासका पानीपत, कर्नाललगायतका सहरको वायु गुणस्तर अत्यन्त चिन्ताजनक बन्न पुगेको हो ।


वायु प्रदूषणकै कारण साफरले सर्वसाधारणलाई मर्निङ वाकमा नहिँड्न र अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन आग्रहसमेत गरेको छ । आगामी सोमबार प्रदूषणको स्तर सबैभन्दा बढी रहने पूर्वानुमान गरिएको छ । हरियाणालगायतका क्षेत्रबाट कार्बनका कणहरू बोकेको हावा दिल्लीतर्फ बहिरहेको र त्यसले सोमबारसम्म पूरै दिल्लीलाई ढाक्ने बताइएको छ ।


प्रदूषणका कारण हावामा कार्बनमोनो अक्साइडजस्ता विषालु ग्यासको मात्रा बढ्दै गएको सरोकारवाला निकायहरूले दाबी गरेका छन्, जसका कारण पछिल्लो समय मुटु र फोक्सोका बिरामीहरूको संख्यामा पनि उल्लेख्य वृद्धि भएको बताइएको छ ।


भारतको राजधानी दिल्लीले विगत केही वर्षयता वायु प्रदूषणको समस्या बेहोर्दै आएको छ । सन् २०१६ मा हावामा प्रदूषणको स्तर मापन गर्ने एक्यूआईको स्तर सबैभन्दा बढी ९०० मापन गरिएको थियो ।


दिल्लीको वायु प्रदूषणलाई लिएर राज्य र केन्द्रबीच आरोपप्रत्यारोपमा उत्रेका छन् । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले वायु प्रदूषणका लागि पन्जाब र हरियाणाका खेतमा पराल र ठुटो जलाउनुलाई प्रमुख कारण दाबी गरेका छन् । त्यसो त केन्द्र सरकारबाट सञ्चालित वायु गुणस्तर पूर्वानुमान तथा अनुसन्धान प्रणालीले भने वायु प्रदूषणको स्तर यो हदसम्म गिर्नुका पछाडि पराल बालेको धूवाँको १० प्रतिशत मात्र योगदान रहेको देखाएको छ ।


प्रकाशित : कार्तिक ४, २०७६ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?