कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अमेरिकी राष्ट्रपतीय चुनावी अभियान : कति खर्च गर्दैछन् ट्रम्प ?

एजेन्सी

वासिङ्टन — अमेरिकी राष्ट्रपतिको आगामी कार्यकालका लागि प्रमुख दाबेदार हुन् वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प । तर उनलाई विपक्षी दलकी सिनेटर तथा राष्ट्रपतिकी प्रत्यासी एलिजाबेथ वारेनले चुनाव प्रचार–प्रसारका लागि सामाजिक सञ्जालमा ठूलो रकम खर्चेको दाबी गरेकी छन् ।

अमेरिकी राष्ट्रपतीय चुनावी अभियान : कति खर्च गर्दैछन् ट्रम्प ?

वारेनले ट्रम्पले चुनावी अभियानका लागि हरेक साता १० लाख अमेरिकी डलर फेसबुक विज्ञापनका लागि खर्चेको दाबी गरेकी छन् । उनी ओक्लोहामाबाट डेमोक्र्याटिक पार्टीका तर्फबाट सिनेटर निर्वाचित भएकी हुन् । ट्रम्पले गत महिना आफ्नो चुनावी अभियानका लागि हरेक साता १० लाख डलर खर्चेको देखिएको छ । तर उनको खर्च पछिल्ला दिनमा केही घटेको देखिएको छ ।


डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिका अर्का आकांक्षी टम स्टेयर सामाजिक सञ्जालमा चुनावी अभियानका लागि खर्च गर्नेको सूचीमा दोस्रोमा छन् । यद्यपि, अर्बपति स्टेयरको खर्च ट्रम्पले गरेको भन्दा एक चौथाइ मात्र छ ।

सिनेटर वारेनले गलत सूचना प्रकाशन गरेको भन्दै सामाजिक सञ्जाल फेसबुकको समेत आलोचना गरेकी छन् । राष्ट्रपति ट्रम्पको पेजमा प्रकाशित अधिकांश विज्ञापनले ‘महाअभियोगसम्बन्धी छानबिन’ लाई आलोचना गरेका छन् ।


फेसबुकले आफ्नो पेजमा प्रकाशन भएका विज्ञापनको सूचना दिन थालेको छ । पारदर्शिता सुधार गर्न भन्दै फेसबुकले सूचना सार्वजनिक गर्न थालेको हो । यसको विज्ञापनका लागि कसले के–कति रकम खर्चेको छ भनेर जो कोहीले पनि फेसबुक पुस्तकालयमा हेर्न सक्छन् । गत ३० दिनमा ‘मेक अमेरिका ग्रेट अगेन’ मेगा अभियान समितिले राष्ट्रपति ट्रम्पको पेजमा विज्ञापन गर्न २४ लाख र उपराष्ट्रपति माइक पेन्सको पेजमा १३ लाख अमेरिकी डलर खर्चेको छ ।


संयुक्त समिति ट्रम्प मेगाले जुनियर डोनाल्ड ट्रम्प फर प्रेसिडेन्ट (डीजेटीपी) र रिपब्लिकन नेसनल कमिटी (आरएनसी) का लागि रकम संकलन गर्ने गर्छ । डीजेटीपी राष्ट्रपति ट्रम्पको चुनावी अभियानका लागि क्रियाशील छ । उक्त एक महिनाको अवधिमा यसले राष्ट्रपति ट्रम्पको फेसबुक पेजमा ५ लाख ८८ हजार अमेरिकी डलरको विज्ञापन गरेको छ । सिनेटर वारेनले उल्लेख गरेअनुसार त्यस्तो विज्ञापन एक महिनाको अवधिमा ४० लाख र एक सातामा १० लाखको रहेको छ ।


के यो सबै खर्च ट्रम्पको चुनावी अभियानका लागि प्रयोग भएको मान्न सकिन्छ त ? अमेरिकाको न्युयोर्क विश्वविद्यालयस्थित अनुसन्धाताको समूहले डीजेटीपी र ट्रम्प मेगा कमिटी तथा उपराष्ट्रपतिका पेजमा विज्ञापन गर्न खर्चेको रकम चुनावी अभियानमा प्रयोग भएको ठान्छन् । ‘हामी कम्प्युटर वैज्ञानिक हौं र हामीले सामाजिक सञ्जालका सन्देशले प्रयोगकर्तामा कस्तो अपिल गर्छ भन्ने आधारमा मूल्यांकन गर्छौं । त्यसका आधारमा ती सबै विज्ञापन ट्रम्प अभियानमा प्रयोग भएको हो,’ लाउरा एडेल्सनले भनिन् ।


अक्टोबर ६ देखि १२ सम्मको अवधिमा ट्रम्प मेगा कमिटीले ४ लाख ५० हजार डलर फेसबुक विज्ञापनका लागि खर्चेको देखिन्छ । त्यसैगरी डीजेटीपीले ४० हजार खर्चेको छ, जुन सिनेटर वारेनले दाबी गरेजस्तो १० लाखभन्दा केही कम हो । डेमोक्र्याटका तर्फबाट राष्ट्रपतिका आकांक्षीमध्ये एकले अन्यको तुलनामा ठूलो रकम विज्ञापनका लागि खर्चेका छन् । यद्यपि, ट्रम्पको तुलनामा उनको खर्च एक चौथाइ देखिन्छ ।


डेमोक्र्याटका तर्फबाट राष्ट्रपतिका आकांक्षी टम स्टेयरले गत महिना १५ लाख विज्ञापनका लागि खर्च गरेका छन् । उनलाई पेट बुटिगिएग, एलिजाबेथ वारेन, बर्नी स्यान्डर्स र कमला हारिसले पछ्याएका छन् ।

प्रकाशित : कार्तिक ३, २०७६ २१:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?