ट्रम्पविरुद्ध उत्रे आफ्नै दलका नेता

(एजेन्सी)

वासिङ्टन — अमेरिकी सिनेटमा बहुमत प्राप्त रिपब्लिकन नेताले सिरिया मुद्दामा राष्ट्रपति डोनाल्ड ट्रम्प असफल भएको भन्दै आलोचना गरेका छन् ।  मिच म्याक्कोनेलले ट्रम्पको नाम नलिईकनै भनेका छन्, ‘राष्ट्रपतिको निर्णयले वासिङ्टनका शत्रुलाई बलियो बनाउनेछ र अमेरिकी गठबन्धनलाई कमजोर बनाउनेछ । जसका कारण अमेरिकी थप असुरक्षित हुनेछन् ।’ 

ट्रम्पविरुद्ध उत्रे आफ्नै दलका नेता

अमेरिकी अखबार ‘द वासिङ्टन पोस्ट’ मा छापिएको लेखमा म्याक्कोनेलले त्यस्तो प्रतिक्रिया दिएका हुन् । सिरियामा इस्लामिक स्टेट लडाकुविरुद्ध लड्ने काममा अमेरिकालाई सघाएका कुर्द नेतृत्वको फौजको साथ छोडेको भन्दै ट्रम्पलाई कतिपयले आलोचना गर्दै आएका छन् । म्याक्कोनेल सिनेटमा बहुमत रहेको रिपब्लिकन नेता हुन् र ट्रम्पको रिपब्लिकन पार्टीका वरिष्ठ सदस्य हुन् । ‘अमेरिकी फौज फिर्ती र टर्की–कुर्द तनावले हाम्रो देश रणनीतिक रूपमा असफल भएको छ,’ उनले लेखेका छन्, ‘युद्धविराम कायम भए पनि टर्कीको आक्रमण र अमेरिकी फौज फिर्ताका कारण इस्लामिक स्टेटविरुद्ध वासिङ्टनको लडाइँमा धक्का लागेको छ ।’


टर्कीको आक्रमणपछि सिरियाबाट भागेर कैयौं परिवार इराकी कुर्द रहेको स्थानमा पुगेका छन् । राष्ट्रपति ट्रम्पले सिरियाबाट अमेरिका फिर्ता गर्ने निर्णयपछि टर्कीले सिरियाको उत्तरी क्षेत्रमा कुर्द लक्षित आक्रमणलाई तीव्रता दिएको हो ।


म्याक्कोनेलले अमेरिकी फौज फिर्तीले रूस र इरानलाई उक्त क्षेत्रमा प्रभाव बढाउने मौका दिने बताएका छन् । ट्रम्पले आफ्नो निर्णयका कारण ‘हजारौं मानिसको जीवन जोगिएको’ बताउँदै आएका छन् । राष्ट्रपति ट्रम्पले गत बुधबार टर्की–सिरिया सीमा अमेरिकाका लागि ‘रणनीतिक रूपमा निकै राम्रो रहेको’ बताएका थिए । अमेरिकी सक्रियतामा युद्धविराम घोषणा गरिए पनि उक्त क्षेत्रमा छिटपुट लडाइँ भइरहेको मानवअधिकारवादी संस्थाहरूले जनाएका छन् ।


अमेरिकी उपराष्ट्रपति माइक पेन्ससँगको सम्झौतामा टर्कीका राष्ट्रपति रेसेप तैयप इर्दोगानले ५ दिनसम्म उक्त क्षेत्रमा कारबाही रोक्न सहमत भएको हुन् ।


प्रकाशित : कार्तिक ३, २०७६ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?