३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

रेलभाडा बढाएको विरोधपछि चिलीमा संकटकाल

(एजेन्सी)

सान्टिआगो — चिलीको राजधानी सान्टिआगोमा मेट्रो रेलको टिकटको मूल्य बढाइएको विरोधमा गरिएका प्रदर्शन हिंसात्मक बनेपछि संकटकाल घोषणा गरिएको छ ।

रेलभाडा बढाएको विरोधपछि चिलीमा संकटकाल

विरोध प्रदर्शनका सहभागीमध्ये अधिकांश माध्यमिक तह र विश्वविद्यालयका विद्यार्थी रहेका अधिकारीहरूले जनाएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार प्रदर्शनकारीले कैयौं भूमिगत रेल स्टेसनमा आक्रमण गर्दै आगो लगाइदिएका छन् । त्यसका साथै उनीहरूले सहरको ट्राफिक व्यवस्था अस्तव्यस्त पारिदिएका छन् ।


अधिकारीका अनुसार विरोधका क्रममा भएका हिंसाका कारण ठूलो क्षति पुगेको र कामका लागि बाहिर निस्केका यात्रुले सवारीसाधन नपाएपछि बिचल्लीमा परेका जनाइएको छ । प्रदर्शनकारीले सुरक्षाकर्मीलाई लक्षित गरी ढुंगा प्रहार गरेका, प्रहरीका सवारीसाधनमा आक्रमण गरेका र बस जलाइदिएका दृश्यहरू टेलिभिजनहरूले प्रसारण गरेका छन् । प्रहरीको दंगा नियन्त्रक एकाईले मूल्यवृद्धिको विरोधमा उत्रेका प्रदर्शनकारीमाथि अश्रुग्यास तथा लाठी प्रहार गरेपछि हिंसा भड्केको हो ।


बीबीसीका अनुसार विरोध प्रदर्शनले देशमा रहेको गरिब र धनीबीचको विभाजन बाहिर ल्याएको ठानिएको छ । ल्याटिन अमेरिकाको धनी राष्ट्रमध्ये एक भए पनि चिलीमा धनी र गरिबबीच ठूलो असमानता छ ।

चिलीको राजधानी सान्टिआगोमा ६० लाख मानिस बसोबास गर्छन् । केही समयअघिदेखि सर्वसाधारणले महँगी निकै बढेको गुनासो गर्दै आएका थिए । उनीहरूको गुनासोसँगै खासगरी सान्टिआगोमा आर्थिक सुधारको माग उठिरहेको थियो ।


एक टेलिभिजन सम्बोधनका क्रममा राष्ट्रपति सेबास्टियन पिनेराले ‘सार्वजनिक र व्यक्तिगत सम्पत्तिको रक्षा गर्न तथा कानुनी शासन कायम राख्न संकटकाल लगाउन बाध्य भएको’ बताएका छन् । संकटकाल लगाइएपछि अधिकारीहरूले ‘स्वतन्त्र रूपमा हिँडडुल गर्ने तथा भेला हुने सर्वसाधारणका अधिकार कटौती गर्न’ सक्छन् । राष्ट्रपति पिनेराले ‘भाडा वृद्धिका कारण मर्कामा परेकालाई वार्ताका लागि सरकारले आह्वान गर्ने’ बताए । अक्टोबरको सुरुतिर ‘इन्धनको मूल्य बढेको र मुद्रा अवमूल्यन भएको’ कारण देखाउँदै मेट्रो रेलको भाडादर बढीमा १.१७ डलरले बढाएको थियो । यसअघि एक रेडियोसँग बोल्दै राष्ट्रपति पिनेराले ‘प्रदर्शन गर्नुलाई सामान्य रूपमा लिन सकिने भए पनि तोडफोड अपराध’ भएको बताएका थिए । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले विरोध प्रदर्शनका क्रममा कति मानिस घाइते भए वा पक्राउ परे भन्ने सार्वजनिक नगरिएको जनाएका छन् । विरोध प्रदर्शनले भयानक रूप लिए पनि भाडा बढाउने निर्णय फिर्ता लिने विषयमा अधिकारीहरू टसमस छैनन् ।


चिली सरकारले ‘हिंसात्मक र तोडफोडका कार्य’ को भर्त्सना गर्दै यसका पछाडि संगठित तत्त्वहरू जिम्मेवार रहेको दाबी गरेको छ । घटनामा संलग्नमाथि छानबिन गरी कडा कारबाही गरिने सरकारले चेतावनीसमेत दिएको बीबीसीले उल्लेख गरेको छ । मेट्रो–रेल अधिकारीले सबै रेल लाइन कम्तीमा २ दिन बन्द रहने बताएका छन् । मेट्रो–रेल प्रणालीमा भएको तोडफोड मर्मत नगरी सुरक्षित रूपमा रेल चलाउन नसकिने अधिकारीहरूको भनाइ छ ।


विरोधका क्रममा भएका तोडफोडमा निगरानी क्यामेरा तथा अन्य उपकरणसहित करिब ७ लाख डलर बराबरको क्षति पुगेको बताइएको छ । १३६ वटा स्टेसन रहेको १४० किलोमिटर लामो सान्टिआगोको भूमिगत रेल प्रणाली ल्याटिन अमेरिकाकै सबैभन्दा आधुनिक हो ।

प्रकाशित : कार्तिक ३, २०७६ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?