१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

अमेरिकाले युरोपेली सामानमा कर बढायो

एएफपी

वासिङ्टन — अमेरिकाले युरोपेली संघबाट आयात हुने ७ अर्ब ५० करोड अमेरिकी डलर बराबरका सामानमा करवृद्धि गरेको छ । 

अमेरिकाले युरोपेली सामानमा कर बढायो

अमेरिकी करवृद्धिको प्रत्यक्ष असर एयरबस, फ्रान्सेली मदिरा (वाइन) र स्कटल्यान्डको हिृवस्कीमा परेको छ । यी सामान अमेरिकामा सर्वाधिक निर्यात हुने वस्तुको सूचीमा छन् । युरोपेली संघका पदाधिकारी र अमेरिकी व्यापार प्रतिनिधिहरूबीच करवृद्धिका विषयमा घनीभूत छलफल भए पनि अन्त्यमा वार्ता विफल भएको थियो ।


चीनसँगको व्यापार वार्तामा खासै प्रगति नभएको अवस्थामा युरोपेली संघसँग पनि व्यापार गतिरोध बढेका कारण यसले विश्व अर्थव्यवस्थामा थप संकट निम्त्याउने विश्लेषकहरूको अनुमान छ ।


अमेरिकाको नयाँ घोषणाअनुसार विमान निर्माता कम्पनी एयरबसका नागरिक उड्डयनका विमान अमेरिका आयात गर्दा १० प्रतिशत करवृद्धि हुनेछ । एयरबसमा बेलायत, फ्रान्स, जर्मनी र स्पेनको लगानी छ ।


करवृद्धिको मारमा फ्रान्सेली वाइनजस्ता उच्च मूल्यका सामान पनि परेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली संघबाट अमेरिका आयात हुने वस्तुमा करवृद्धि गर्ने धम्की दिँदै आएका थिए । फ्रान्स, स्पेन र जर्मनीबाट आयात हुने वाइनमा अब २५ प्रतिशत कर लाग्नेछ ।


अमेरिकी करवृद्धिको घोषणा हुनुअघि वार्ताका लागि अमेरिका पुगेका फ्रान्सेली अर्थमन्त्री ब्रुनो ली मायरले अमेरिकी कदमको प्रतिशोधमा युरोपले पनि अमेरिकी सामानमा करवृद्धि गर्ने सम्भावना रहेको बताए ।


उनले युरोप प्रतिशोध लिने अन्तिम तयारीमा छ भन्दै अमेरिकी निर्णय आर्थिक तथा राजनीतिक दुवै दृष्टिकोणबाट निकै प्रत्युत्पादक हुने चेतावनी दिएका छन् । ली मायरले शुक्रबार नै अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइट्जरसँग भेटेका जनाइएको छ । मन्त्री मायरले विश्व अर्थतन्त्र नै मन्दीतर्फ अग्रसर भइरहेको सन्दर्भमा सबैले मिलेर अर्थतन्त्रका समस्या सुल्झाउन पहल गर्नुपर्ने बताए । युरोप र अमेरिकाबीच विमान निर्माता कम्पनीहरू एयरबस र बोइङलाई उपलब्ध हुने अनुदानका विषयलाई लिएर मतान्तर जारी छ ।

युरोपेली संघका पदाधिकारीहरू गत जुलाईमा विमान निर्माता कम्पनीलाई दिइने अनुदानका विषयमा छलफल गरी निष्कर्ष निकाल्न सहमत भएका थिए । उनीहरूबीच विमान कम्पनीहरूलाई सरकारी अनुदान नदिने विषयमा सहमति भए पनि कार्यान्वयनमा आउन सकेन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत बुधबार युरोपेली संघसँग देखिएका द्विपक्षीय व्यापार समस्या सुल्झाउन आफू सदैव तयार रहेको बताएका थिए ।

प्रकाशित : कार्तिक २, २०७६ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?