२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

चिनियाँ कूटनीतिज्ञलाई अमेरिकामा कडाइ

(एजेन्सी)

वासिङ्टन — चीनसँग व्यापार युद्ध जारी रहेका बेला अमेरिकाले आफ्नो देशमा रहने चिनियाँ कूटनीतिज्ञको निगरानी बढाएको छ । 

चिनियाँ कूटनीतिज्ञलाई अमेरिकामा कडाइ

अमेरिकी सरकारको पछिल्लो निर्णयअनुसार वासिङ्टनमा रहने चिनियाँ कूटनीतिज्ञले अमेरिकी अधिकारीसँग कुनै भेटवार्ता गर्नुअघि अमेरिकी सरकारलाई जानकारी गराउनुपर्नेछ ।


अमेरिकी विदेश मन्त्रालयका अनुसार विद्यालय तथा विश्वविद्यालयलगायत शैक्षिक वा अनुसन्धान संस्था भ्रमण गर्नुअघि पनि चिनियाँ कूटनीतिज्ञले अमेरिकी अधिकारी दरखास्त दिनुपर्नेछ ।


अमेरिकाले अन्तर्राष्ट्रिय नियमको उल्लंघन गरेको चीनको प्रतिक्रिया छ । तर अमेरिकाका अनुसार चीनमा रहेका आफ्ना कूटनीतिज्ञले पनि त्यस्तै प्रकृतिका अवरोध सामना गर्नु परिरहेको छ ।


अमेरिकी निर्णय

अमेरिकी सरकारका अनुसार बिहीबारदेखि लागू गरिएको नियम अमेरिकी विदेश मन्त्रालयका आधिकारिक बैठक, नगर तथा स्थानीय निकायका अधिकारी सम्मिलित बैठक, शैक्षिक तथा अनुसन्धान संस्थामा गरिने औपचारिक भ्रमणका अवसरमा लागू हुनेछ ।


एक अधिकारीका अनुसार चीन–अमेरिका सम्बन्धलाई सन्तुलित पार्न तथा बेइजिङमा अमेरिकी कूटनीतिज्ञमाथि चीनले जस्तै अमेरिकाले पनि निगरानी गर्न पछिल्लो निर्णय लिइएको बताए ।


‘चीनमा अमेरिकी कूटनीतिज्ञले आफ्नो देशका लागि काम सम्पन्न गर्न आवश्यक बाधारहित वातावरण छैन,’ विदेश मन्त्रालयका वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ, ‘तर अमेरिकामा रहेका चिनियाँ कूटनीतिज्ञले हाम्रो खुला समाजबाट पुरा फाइदा लिइरहेका छन् ।’


अमेरिकी अधिकारीले चिनियाँ कूटनीतिज्ञले बैठकका लागि पूर्व स्वीकृति लिनु नपर्ने बताएका छन् । उनीहरूका अनुसार भेटघाट अगावै भने विदेश मन्त्रालयलाई जानकारी गराउनुपर्नेछ ।


चीनको प्रतिक्रिया

अमेरिकास्थित चिनियाँ दूतावासले बिहीबार एक विज्ञप्ति जारी गर्दै नयाँ नियमले भियना अभिसन्धिको उल्लंघन गरेको दाबी गरेको छ ।


भियना अभिसन्धिमा कूटनीतिक सम्बन्ध सञ्चालनबारे नियम उल्लेख छन् । महासन्धि अनुसार कूटनीतिज्ञलाई उनीहरू कार्यरत देशले स्वतन्त्रतापूर्वक हिँडडुल गर्न तथा यात्रा गर्न सुनिश्चित गरिनुपर्छ ।


अभिसन्धिअनुसार आफ्ना देशमा कार्यरत कूटनीतिज्ञलाई उनीहरूको देशका आधारमा विभेद गर्न नपाइने व्यवस्था छ । ‘चिनियाँ पक्षले बेइजिङस्थित अमेरिकी कूटनीतिज्ञ वा कन्सुलर अधिकारीलाई यस्ता किसिमको सर्त राखेको छैन,’ विज्ञप्तिमा उल्लेख छ । चीनमा रहेका अमेरिकी कूटनीतिज्ञ संख्याका हिसाबले अमेरिकामा रहेका चिनियाँ कूटनीतिज्ञभन्दा निकै धेरै रहेका दूतावासले जनाएको छ ।


अमेरिकाका लागि चिनियाँ राजदुत भनेका छन्, ‘मेरो घनिष्ट मित्र पुर्व राजदुत म्याक्स बाउकसले आफ्नो ३ वर्षे कार्यकालमा चीनका सबै प्रान्तको भ्रमण गरे ।’


अमेरिका र चीनबीच व्यापार युद्ध जारी रहे पनि अमेरिकी विदेश मन्त्रालयले पछिल्लो निर्णय त्यसमा नजोडिएको प्रतिक्रिया दिएको छ । उसका अनुसार चीन–अमेरिका सम्बन्धबारे धेरै पक्षहरूको पुर्नसमिक्षा गर्नुपर्ने आवश्कयता महशुस भएको साउथ चाईन मर्निङ पोष्टले जनाएको छ ।


चीनले बौद्धिक चोरी गरेको तथा अन्तर्राष्ट्रिय व्यापारमा गलत अभ्यास गरिरहेको आरोप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको छ । तर चिनियाँ पक्षले ‘वासिङ्टनले अमेरिकामा बेइजिङको बढ्दो प्रभाव नियन्त्रण गर्न खोजिरहेको’ बताउने गर्छ ।


प्रकाशित : कार्तिक १, २०७६ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?