२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

कश्मीर मुद्दाले बिग्रियो भारत–मलेसिया सम्बन्ध

(एजेन्सी)

नयाँदिल्ली — गत वर्षको अगस्ट महिनामा इमरान खान पाकिस्तानको प्रधानमन्त्रीमा निर्वाचित भए । त्यसको तीन महिनाअघि ९२ वर्षीय महाथिर मोहम्मद मलेसियाको प्रधानमन्त्री बनेका थिए । 

कश्मीर मुद्दाले बिग्रियो भारत–मलेसिया सम्बन्ध

इमरान र महाथिर दुवै जना भ्रष्टाचार नियन्त्रणको मुद्दाका कारण चुनावमा सफल भएका थिए । त्यसका साथै मलेसिया तथा पाकिस्तान दुवैमा चिनियाँ ऋण पनि निरन्तर बढिरहेको थियो ।


मलेसियाली राजनीतिका माहिर खेलाडी महाथिर सन् १९८१ देखि २००३ सम्म प्रधानमन्त्री बनेका थिए । पछिल्लो कार्यकाल सुरु गरेसँगै महाथिरले २२ अर्ब डलरको चिनियाँ परियोजना आवश्यक नरहेको भन्दै रोकिदिए । तर इमरानले भने पूर्वप्रधानमन्त्री नवाज सरिफले जस्तै बेल्ट एन्ड रोड इनिसिएटिभ अन्तर्गतको चीनसँग ६० अर्ब डलरको परियोजनाका लागि अग्रसरता देखाए ।


सन् २०१८ को नोभेम्बरमा मलेसिया भ्रमणमा निस्केका इमरानलाई भव्य स्वागत गरियो । भ्रमणका क्रममा उनले इमरानले ‘पाकिस्तान र मेलिसिया निकट मित्र रहेको उल्लेख गर्दै सधै साथमा रहेका’ बताए ।


‘भ्रष्टाचारले आजित भएपछि जनताले मलाई र महाथिरलाई सत्ताको जिम्मा लगाएका हुन् । दुवै देशमा ऋणको समस्या छ,’ इमरानले भनेका थिए, ‘महाथिरले मलेसियालाई सही बाटोमा ल्याएका छन् । मैले उनको अनुभवबाट धेरै सिक्नेछु ।’


महाथिरको शासनकालमा पाकिस्तान मलेसियाको निकट मित्र बन्यो । महाथिरले पाकिस्तानलाई ऊर्जा सुरक्षामा मद्दत गर्ने प्रतिबद्धता जनाएपछि भारतसँगको सम्बन्ध चिसियो । गत अगस्ट ५ मा जम्मु–कश्मीरको विशेषाधिकार खारेज गर्ने भारत सरकारको निर्णयको प्रतिक्रियामा मलेसिया पाकिस्तानको पक्षमा उभियो । मलेसियाली प्रधानमन्त्रीले कश्मीर मुद्दामा पाकिस्तानको पक्ष लिएपछि भारतसँगको सम्बन्ध थप बिग्रियो । कश्मीर मुद्दा राष्ट्रसंघीय सुरक्षा परिषद्मा पुगेपछि पनि मलेसियाले खुलेरै पाकिस्तानको पक्षमा वकालत गर्‍यो । जुन भारतका लागि असह्य भयो ।


नेसनल युनिभर्सिटि अफ मलेसियाको स्ट्राटेजिक स्टडिजका विज्ञ रविचन्द्रन दक्षिणमूर्तिले ‘मलेसिया र पाकिस्तानबीचको सम्बन्ध निकै लामो रहेको’ बताउँछन् । सन् १९५७ मा मलेसियाले स्वतन्त्रता प्राप्त गरेपछि सबैभन्दा पहिलो सार्वभौम राष्ट्र स्वीकार गर्ने देशको सूचीमा पाकिस्तान पनि थियो ।


रविचन्द्रनले भनेका छन्, ‘पाकिस्तान र मलेसिया कपितय इस्लामिक संगठन तथा सहयोगमा समेत सँगसँगै छन् । दुई देशप्रति चीनको सम्बन्ध भने केही अलग छ । मलेसियाप्रति चीनको सम्बन्ध सामान्य छ भने पाकिस्तान र चीनबीच घनिष्ठ सम्बन्ध छ ।’


चीन पाकिस्तानमा सबैभन्दा धेरै हातहतियार निर्यात गर्ने देश हो र दुवै देशको भारतसँगको सम्बन्ध त्यति राम्रो छैन । तर महाथिर प्रधानमन्त्री रहुन्जेल मलेसिया र पाकिस्तानको सम्बन्ध सुमधुर हुने निश्चित छ । समाचार संस्था रोयटर्सका अनुसार महाथिरले मलेसिया र भारतबीचको सम्बन्धको समीक्षा गर्नुपर्नेसमेत बताएका कारण भारत थप सशंकित छ ।


त्यसका साथै भारतमा खानका लागि सबैभन्दा बढी प्रयोग हुने पाम आयल मुख्य रूपमा मलेसियाबाट भित्रिन्छ । सन् २०१९ को पहिलो ३ महिनामा भारतले ३०.९ लाख टन पाम आयल आयात गरेको थियो । दुई देशको सम्बन्ध बिग्रँदै गएपछि मलेसियाले पाम आयलको निर्यात सीमित पार्न सक्ने आंशकासमेत भारतीय अधिकारीको छ ।


मलेसियामा महाथिर प्रधानमन्त्री रहुन्जेल पाकिस्तानसँगको सम्बन्ध सुमधुर थियो । तर सन् २००३ मा उनी सत्ताबाट बाहिरिएसँगै भारतसँगको सम्बन्ध सुधारोन्मुख थियो । तर पछिल्लोपटक महाथिर फेरि प्रधानमन्त्री बनेसँगै द्विदेशीय सम्बन्ध थप जटिल बन्दै गएको हो ।

प्रकाशित : आश्विन २९, २०७६ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?