कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

सिरिया आक्रमण : अमेरिकाद्वारा टर्कीमाथि प्रतिबन्ध

(एजेन्सी)

वासिङ्टन/बेरुत — टर्कीले उत्तरी सिरियाली कुर्दिस लडाकुविरुद्ध सैन्य आक्रमण गरेपछि अमेरिकाले त्यसको सशक्त विरोध गरेको छ ।

सिरिया आक्रमण : अमेरिकाद्वारा टर्कीमाथि प्रतिबन्ध

आक्रमणको विरोधमा अमेरिकाले टर्कीका दुइटा मन्त्रालय तथा तीन वरिष्ठ अधिकारीलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएको छ । त्यसका साथै अमेरिकाले स्टिलमा लगाउँदै आएको कर बढाउने र व्यापार सम्झौतासम्बन्धी वार्तासमेत स्थगित गरेको जनाएको छ ।


अमेरिकी उपराष्ट्रपति माइक पेन्सका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीका राष्ट्रपति रेसेप तैयप इर्दोगानलाई टेलिफोन गरी तत्काल युद्धविराम नगरे अझै कडा चेतावनीसमेत दिएका छन् । पेन्सले आफू सक्दो चाँडो सिरिया भ्रमणमा निस्कले बताएका छन् ।


अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसमा बोल्दै पेन्सले भने, ‘जबसम्म टर्कीले युद्धविराम गर्दैन र यसको दीर्घकालीन समाधानका लागि छलफल गर्न तयार हुँदैन, त्यतिन्जेल अमेरिकी प्रतिबन्ध अझ कडा गरिनेछ ।’

रूसले भने टर्की र सिरियाका फौजबीच कुनैपनि हालतमा मुठभेड हनु नदिने बताएको छ । सिरियाका लागि रुसका विशेष दूत एलेक्जेन्डर लाभेन्तेभले भनेका छन्, ‘यो सामान्यतया अस्वीकार्य छ ।’ रुस सिरियाली राष्ट्रपति बसर अल असदका सेनाको मुख्य सहयोगी हो ।


यसैबीच, सिरियाको उत्तरी क्षेत्रमा सिरियाको सरकारी सेना तैनाथ गरिएसँगै टर्कीसँग संघर्ष हुने देखिएको छ । सिरियाली सरकारी सञ्चारमाध्यमका अनुसार सिरियाली सेना मंगलबार मान्बिज सहर प्रवेश गरेको हो । उत्तरी सिरियामा सन् २०१२ यता पहिलोपटक सरकारी सेना फर्किएको हो ।


टर्कीले उक्त सहरबाट कुर्दिस लडाकुलाई लखेटेर आफ्नो ‘सुरक्षित क्षेत्र’ निर्माण गर्न खोजेको छ । टर्किस फौजले ‘अपरेसन पिस स्प्रिङ’ अन्तर्गत आफूहरूले आतंककारीका आश्रयस्थल ध्वस्त पार्न’ कारबाही चलाएको बताउने गरेको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप इर्दोगानले ‘युफ्रेटिज नदीको पूर्वी क्षेत्रका कुर्द लडाकुलाई विस्थापित गरी सिरियाली शरणार्थीका लागि सुरक्षित क्षेत्र निर्माण गर्न कारबाही सुरु गरेको’ बताउँछन् ।

तर मंगलबार सिरियाली सैनिक तल–तमेर र ऐन इस्सामा पुगेपछि स्थानीय कुर्दिसहरूले उनीहरूको भव्य स्वागत गरेका थिए । जसका कारण द्वन्द्व थप चर्कने देखिएको छ । टर्कीका राष्ट्रपति इर्दोगानले जस्तोसुकै परिणाम आए पनि आफूहरू लक्ष्य पूरा नभएसम्म पछि नहट्ने बताइसकेका छन् ।


यसअघि सिरियामा टर्कीले गरेको आक्रमणको प्रतिकार गर्न सरकारी सेना र कुर्दिस लडाकुबीच सहमति भएको थियो । सिरियाली सञ्चारमाध्यमले सरकारी फौज देशको उत्तरी सीमामा पठाइएको बताएको केही बेरमा कुर्दिस लडाकुले त्यसको पुष्टि गरेको थियो । कुर्द प्रशासनले सिरिया सरकारसँगको पछिल्लो सहमतिले ‘टर्कीद्वारा कब्जा गरेका सिरियाली सहरलाई मुक्त गर्न सघाउने’ बताएको छ ।

सिरियाली जिहादी समूह इस्लामिक स्टेट (आईएस) लाई परास्त गर्ने अमेरिकी अभियानमा कुर्द नेतृत्वको सिरियन डेमोक्रेटिक फोर्सेस (एसडीएफ) ले सघाउँदै आएको थियो । तर एसडीएफलाई टर्कीले आतंककारी समूह बताउँदै गत सातादेखि उनीहरूलक्षित आक्रमण गरेको हो ।


अमेरिकी राष्ट्रपति ट्रम्पले सिरियामा खटिएका अमेरिकी सेना फिर्ताको निर्णय गरेलगत्तै टर्कीले एसडीएफमाथिको आक्रमणलाई तीव्रता दिएको हो । ट्रम्पको निर्णयको कतिपय अमेरिकी राजनीतिज्ञले विरोध जनाएका थिए ।

अमेरिकाको संरक्षण गुमाएलगत्तै कुर्दहरूले सिरियासँग गरेको गठबन्धनलाई महत्त्वपूर्ण तथा रणनीतिक मानिएको छ । तर सिरिया सरकारले के–कस्तो सहयोग गर्ने भन्ने यकिन नभएको बीबीसीले उल्लेख गरेको छ ।

टर्कीको सेनाले एसडीएफको नियन्त्रणमा रहेका क्षेत्रमा स्थल तथा हवाई आक्रमण गरिरहेको छ । सिरियास्थित जिहादी समूह इस्लामिक स्टेटलाई हराउने क्रममा कुर्दहरू अमेरिकाका मुख्य सहयोगी थिए ।

टर्कीले आफ्नो देशमा रहेका ३० लाखभन्दा बढी सिरियाली शरणार्थी सिरियामा पुन:स्थापित होउन भन्ने चाहन्छ । शरणार्थीमध्ये अधिकांश गैरकुर्दिस समुदायका छन् । कतिपय आलोचकले टर्कीको कदमबाट कुर्दको जातीय नरसंहार हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका बीबीसीले जनाएको छ ।

प्रकाशित : आश्विन २९, २०७६ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?