सिरियामा टर्कीको आक्रमण : प्रतिकार गर्न सेना र कुर्द एकजुट

एजेन्सीहरू

अंकारा/बेरुत — सिरियाको उत्तरी सीमामा टर्कीले गरेको आक्रमणको प्रतिकार गर्न सरकारी सेना र कुर्दिस लडाकु एकजुट भएका छन् । 

सिरियामा टर्कीको आक्रमण : प्रतिकार गर्न सेना र कुर्द एकजुट

सिरियाली सञ्चारमाध्यमले सरकारी फौज देशको उत्तरी सीमामा पठाइएको बताएको केहीबेरमा कुर्दिस लडाकुले त्यसको पुष्टि गरेको बीबीसीले उल्लेख गरेको छ ।


सिरियाली जिहादी समूह इस्लामिक स्टेट (आईएस) लाई परास्त गर्ने अमेरिकी अभियानमा कुर्द नेतृत्वको सिरियन डेमोक्रेटिक फोर्सेस (एसडीएफ) ले सघाउँदै आएको थियो । तर एसडीएफलाई टर्कीले आतंककारी समूह बताउँदै गतसातादेखि उनीहरू लक्षित आक्रमण गरेको हो ।


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा खटिएका अमेरिकी सेना फिर्ताको निर्णय गरेलगत्तै टर्कीले आक्रमणलाई तीव्रता दिएको हो । ट्रम्पको निर्णयको देशभित्रै पनि विरोध भइरहेको छ ।


अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले कुर्द नेतृत्वको प्रशासनलाई उद्धृत गर्दै उत्तरी सिरियाको सबै सीमामा सिरियाली सैनिक परिचालित हुने सहमति भएको जनाएका छन् ।

सिरियाली सेनाले एसडीएफलाई टर्कीको आक्रमणको प्रतिकार गर्न तथा टर्कीको सेना वा उसले खटाएका अन्य लडाकुलाई लखेट्न सक्ने एसडीएफको अपेक्षा छ । कुर्द प्रशासनले पछिल्लो सहमतिले ‘टर्कीद्वारा कब्जा गरेका सिरियाली सहरलाई मुक्त गर्न सघाउने’ बताएको छ ।


अमेरिकाको संरक्षण गुमाएलगत्तै कुर्दहरूले सिरियासँग गरेको गठबन्धनलाई महत्त्वपूर्ण तथा रणनीतिक मानिएको छ । तर सिरिया सरकारले के कस्तो सहयोग गर्ने भन्ने यकिन भने छैन ।


टर्कीको सेनाले एसडीएफको नियन्त्रणमा रहेका क्षेत्रमा स्थल तथा हवाई आक्रमण गरिरहेको छ । सिरियास्थित जिहादी समूह इस्लामिक स्टेटलाई हराउने क्रममा कुर्दहरू अमेरिकाका मुख्य सहयोगी थिए ।


टर्किस फौजले ‘अपरेसन पिस स्प्रिङ’ अन्तर्गत आफूहरूले आतंककारीका आश्रयस्थल ध्वस्त पार्न’ कारबाही चलाएको बताउने गरेको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप इर्दोगानले ‘युफ्रेटिज नदीको पूर्वी क्षेत्रका कुर्द लडाकुलाई विस्थापित गरी सिरियाली शरणार्थीका लागि सुरक्षित क्षेत्र निर्माण गर्न कारबाही सुरु गरेको’ बताउँछन् ।


कुर्दिस र टर्किस फौजबीचको भिडन्तपछि आईएस आबद्ध करिब ८ सय जना भागिसकेका जनाइएको छ । निगरानी समूह ‘सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स’ का अनुसार टर्कीको आक्रमणका कारण हालसम्म ५० सर्वसाधारण र १०० सयभन्दा बढी कुर्द लडाकु मारिइसकेका छन् ।


यद्यपि, टर्कीले ४ सय ५० कुर्द लडाकुको मृत्यु भएको दाबी गरेको छ । आफूतर्फ १८ सर्वसाधारण तथा ४ सैनिक मारिएको उसको भनाइ छ । एसडीएफले टर्कीको दाबी खण्डन गर्दै आफ्ना ५६ लडाकु मारिएका जनाएको छ ।


आक्रमणपछि टर्कीले सिरियाली सीमाक्षेत्रका सहर तल अब्याद तथा रस अल–ऐनमाथि कब्जा जमाएको बीबीसीले उल्लेख गरेको छ ।


प्रकाशित : आश्विन २८, २०७६ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?