२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

क्याटालोनियाका ९ नेतालाई जेल सजाय

स्वतन्त्रतासम्बन्धी विवादास्पद जनमतसंग्रहमा राजद्रोह तथा सार्वजनिक सम्पत्ति हिनामिना गरेको स्पेनको सर्वोच्च अदालतको ठहर
(एजेन्सी)

बार्सिलोना — स्पेनको सर्वोच्च अदालतले क्टालोनियाका ९ जना नेतालाई ९ देखि १३ वर्षसम्मको जेल सजाय तोकेको छ । 

क्याटालोनियाका ९ नेतालाई जेल सजाय

क्याटालोनियमा सन् २०१७ मा गरिएको स्वतन्त्रतासम्बन्धी जनमतसंग्रहमा उनीहरूले राजद्रोहको कार्य गरेको अदालतको ठहर छ । अन्य ३ जना स्वतन्त्रता पक्षधर कार्यकर्तालाई पनि अदालतले अवज्ञा गरेकोमा दोषी ठहर गरे पनि जरिवाना मात्र तिराउने फैसला गरेको छ ।


सबै १२ जनाले आफूमाथिका आरोप अस्वीकार गर्दै आएका छन् । नेताहरूलाई जेल सजाय तोकेसँगै अदालतले पूर्व क्याटालान नेता कार्लेस पुइग्डेमोन्टलाई नयाँ पक्राउ आदेश जारी गरेको छ । उनी हाल स्वेच्छिक निर्वासनका क्रममा बेल्जियममा छन् ।


पुइग्डेमोन्टलाई ‘राजद्रोह र सार्वजनिक सम्पत्ति हिनामिना गरेको’ ठहर भएपछि उनीमाथि नयाँ युरोपेली तथा अन्तर्राष्ट्रिय पक्राउ पुर्जी जारी गरिएको हो । उनी सन् २०१७ मा मुद्दा दायर गरिएपछि भागेर बेल्जियम पुगेका हुन् ।


सजाय सुनाइएकामध्ये केही क्याटालोनिया सरकार तथा संसद्का मुख्य पदमा छन् भने केही कार्यकर्ता तथा सांस्कृतिक अभियन्ता छन् । म्याड्रिडस्थित अदालतमा चार महिनासम्म चलेको सुनुवाइका क्रममा अदालतसमक्ष उनीहरूले ‘आफूहरू गलत आरोपसहित लगाइएका मुद्दाले अन्यायमा परेको’ दाबी गरेका थिए ।


क्याटालोनियाका पूर्वउपाध्यक्ष ओरिओल जन्क्वेरासलाई १३ वर्ष लामो कारावास सजाय सुनाइएको हो । अदालतले उनलाई ‘राजद्रोह तथा सार्वजनिक कोषको दुरुपयोग’ मा दोषी ठहर गरेको हो । अभियोजनकर्ताले उनीमाथि २५ वर्षको जेलसजाय माग गरेका थिए । क्याटालान क्षेत्रका पूर्वश्रममन्त्री डोलर्स बास्सा, सरकारका पूर्वप्रवक्ता जोर्डी टुरुल, बाहृय मामलासम्बन्धी पूर्वमन्त्री राउल रोमेभालाई १२ वर्षको कारावास सजाय सुनाइएको छ । त्यसैगरी, संसदका पूर्वप्रवक्ता, आन्तरिक मामलासम्बन्धी पूर्वमन्त्री, क्याटालान क्षेत्रका पूर्वमन्त्री, क्याटालान राष्ट्रियसभाका पूर्वअध्यक्ष तथा दुई अभियन्तासमेतलाई कारावास सजाय सुनाइएको हो । जन्क्वेरासले ‘राजनीतिक विचारधारका आधारमा आफूहरूलाई जेल हालिएको दाबी गर्दै पृथकतावादीहरू झन् कडा हुने’ प्रतिक्रिया दिएका छन् । क्याटालोनियाका पूर्वअध्यक्ष पुइग्डेमोन्टले ‘पृथकतावादी नेताहरूमाथि सबै गरी सय वर्षको जेल सजाय तोकिनु अमानवीय भएको’ बताएका छन् ।


‘अहिलसम्मभन्दा धेरै, अब पहिलेको तुलनामा झन् चर्को प्रतिक्रिया जनाउने समय आएको छ,’ पुइग्डोमेन्टले थपे, ‘हाम्रो भविष्यका लागि, हाम्रा छोराछोरीका लागि । अनि लोकतन्त्र, क्याटालोनिया र युरोपका लागि ।’


अदालतको फैसला सार्वजनिक भएसँगै स्वतन्त्रता पक्षधरहरूले क्याटालोनियाको राजधानी बार्सिलोनामा विरोध र्‍याली आयोजना गरेका छन् । उनीहरूले मुख्य सहरका सडकहरू अवरुद्ध पारेका छन् ।


फैसलाको विरोधमा विद्यार्थीहरू क्याटालोनियको झन्डा तथा ब्यानरसहित विरोधमा उत्रेका बीबीसीले जनाएको छ । विरोध प्रदर्शनमा सहभागीले ‘यो न्याय होइन, बदला हो’ भन्दै नाराबाजी गरेका थिए ।


फुटबल क्लब बार्सिलोना र क्याटालन फुटबल संघले कारावास सजायको भर्त्सना गर्दै ‘वार्ता र समझादी’ का आधारमा समस्या सुल्झाउन आग्रह गरेको छ । संघले नेताहरू र उनीहरूका परिवारप्रति ऐक्बद्धता जनाउन क्याटालोनिया क्षेत्रका सबै फुटबल खेल स्थगित गर्ने घोषणासमेत गरेको छ ।


सन् २०१७ मा क्याटालोनियको स्वतन्त्रताका लागि गरिएको जनमतसंग्रहमा पृथकतावादी पक्षधरले बहुमत हासिल गरेका थिए । त्यसलगत्तै क्षेत्रीय संसद्मा क्याटालोनिया स्पेनबाट स्वतन्त्र हुने प्रस्ताव लगिएपछि केन्द्र सरकारले हस्तक्षेप गरेको थियो । त्यसलगत्तै स्पेनको संवैधानिक अदालतले जनमतसंग्रहलाई अवैध घोषित गरेपछि क्याटालोनियामा संघर्ष चर्केको हो ।

प्रकाशित : आश्विन २८, २०७६ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?