१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

टर्कीको आक्रमणपछि आईएस आबद्ध सयौं भागे

एजेन्सी

अंकारा/बेरुत — उत्तरपूर्वी सिरियामा टर्कीले गरेको आक्रमणपछि इस्लामिक स्टेट समूहसँग आबद्ध विदेशी तथा उनीहरूका सयौं आफन्त भागेका छन् । 

टर्कीको आक्रमणपछि आईएस आबद्ध सयौं भागे

टर्कीले कुर्दिस फौजलाई आतंककारी समूह बताउँदै उनीहरूको बाहुल्य रहेको क्षेत्रमा गत सातादेखि हवाई तथा स्थल आक्रमण गरेको हो । अमेरिकाको समर्थन रहेको कुर्दिस फौज सिरियाली सरकार एवं इस्लामिक स्टेटविरुद्ध लडेको सिरियन डेमोक्र्याटिक फोर्स (एसडीएफ) को मुख्य हिस्सा हो । कुर्दिस फौजले सिरियाको उत्तरपूर्वी क्षेत्रमा हजारौं आईएस लडाकु तथा उनीहरूका आफन्तलाई बन्दी बनाएर राखेका छन् ।


टर्किस फौजले ‘अपरेसन पिस स्प्रिङ’ अन्तर्गत आफूहरूले आतंककारीका आश्रयस्थल ध्वस्त पारेको’ बताए पनि कुर्दिस र टर्किस फौजबीचको भिडन्तपछि आईएस आबद्ध सयौं भाग्न सफल भएका बीबीसीले जनाएको छ ।


अनुगमन निकायले आईएस आबद्ध सयजना भागेको बताए पनि कुर्दिश फौजले कम्तीमा ८ सय जना भागेका दाबी गरेका छन् । उक्त क्षेत्रमा करिब १२ हजार आईएस सदस्य तथा उनीहरूका आफन्त कुर्दिस फौजको नियन्त्रणमा छन् ।


टर्कीले आक्रमण सुरु गरेयता कम्तीमा १ लाख ३० हजार मानिस विस्थापित भएको राष्ट्रसंघले जनाएको छ । टर्कीले सिरियास्थित कुर्दिस फौजका कारण आफ्नो देशमा अस्थिरता बढेको बताउँदै आएको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप इर्दोगानले ‘युफ्रेटिज नदीको पूर्वी क्षेत्रका कुर्द लडाकुलाई विस्थापित गरी सिरियाली शरणार्थीका लागि सुरक्षित क्षेत्र निर्माण गर्न कारबाही सुरु गरेको’ बताउँछन् ।


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तरी सिरियाबाट फौज फिर्ता गरेको केही दिनमै टर्कीले कुर्द बाहुल्य क्षेत्रमा हमला गरेको हो । टर्कीले उक्त क्षेत्रमा आक्रमण गर्नका लागि अमेरिकी कदमले सहज भएको ठानिएको छ ।


टर्कीको आक्रमणबाट विस्थापित बालबालिकाहरू सिरियाको पश्चिमी प्रान्त हस्साकेतर्फ लागेको बीबीसीले जनाएको छ । टर्कीलाई सैन्य कारबाही रोक्न अमेरिकाले दबाब दिएको छ ।


आक्रमण नरोके टर्कीले ‘गम्भीर परिणाम’ भोग्नुपर्ने अमेरिकी रक्षामन्त्रीले चेतावनी दिएका छन् । तर त्यसको प्रतिक्रियामा टर्कीका राष्ट्रपति रेसेप तैयप इर्दोगानले ‘कसैको चेतावनीले आक्रमण नरोकिने’ बताएका छन् ।


आक्रमण रोक्न युरोपेली संघ, अमेरिका, बेलायत तथा फ्रान्सलगायतले आग्रह गरे पनि टर्की टसमस गरेको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ‘टर्कीका पछिल्ला कदमले उब्जेका समस्या अन्त्य गर्न सैन्य हस्तक्षेप, आर्थिक प्रतिबन्ध वा टर्की र कुर्दबीच मध्यस्थता गराउने’ मध्ये एक निर्णय लिन विचार गरिरहेको जनाएका थिए ।


बेलायतस्थित अनुगमन संस्था ‘सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स’ का अनुसार कुर्दिस लडाकु र टर्किस फौजबीचको झडपमा कम्तीमा ३८ सर्वसाधारण तथा ८० कुर्दिस जनाको ज्यान गइसकेको छ । राष्ट्रसंघले ‘युद्धका पक्ष र सैन्य कारबाही अन्तर्राष्ट्रिय मानवीय कानुनअनुरूप हुनुपर्ने’ बताएको छ । द्वन्द्वका कारण विस्थापित नागरिकलाई घर फर्कन वा सुरक्षित स्थानमा जान दिनसमेत युद्धरत पक्षसँग कार्यालयले आग्रह गरेको छ ।


टर्कीले आफ्ना एक सैनिकको कारबाहीका क्रममा ज्यान गएको पुष्टि गरिसकेको छ । राष्ट्रसंघीय निकायहरूले सीमाक्षेत्रका तल अब्याद तथा रस अल-ऐन सहरको अवस्था भयावह रहेको जनाएका छन् ।

प्रकाशित : आश्विन २७, २०७६ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?