१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

जापानमा आँधीको वितण्डा : उद्धारका लागि सेना खटाइयो

मृत्यु हुने २३ पुगे
एजेन्सीहरू

टोकियो — जापानमा ६ दशकयताकै शक्तिशाली आँधीले जनजीवन निकै प्रभावित भएपछि उद्धारका लागि सेना परिचालन गरिएको छ । अधिकारीका अनुसार ‘हगिबिस’ आँधीका कारण राजधानी टोकियोको दक्षिणी क्षेत्र निकै प्रभावित बनेको छ ।

जापानमा आँधीको वितण्डा : उद्धारका लागि सेना खटाइयो

आँधीका कारण हालसम्म कम्तीमा २३ को ज्यान गइसकेको छ ।


जापानी समाचार संस्था एनएचकेका अनुसार आँधीका कारण कम्तीमा १६ जना हराइरहेका छन् । प्रतिघण्टा २१६ किलोमिटरभन्दा बढीको वेगको आँधीका कारण जापानी टेलिभिजन एनएचकेका अनुसार कम्तीमा ९९ जना घाइते भएका अधिकारीहरूले जनाएका छन् । आँधीका कारण निकै ठूलो वर्षा भएपछि करिब ६० लाख मानिसलाई सुरक्षित स्थानमा सर्न अधिकारीले चेतावनीसमेत जारी गरेका थिए ।


‘हगिबिस’ आँधीका कारण टोकियोको दक्षिणी क्षेत्रमा निकै ठूलो बाढी आएको छ । विभिन्न स्थानमा जमिन भासिँदै गएको जापानी सञ्चारमाध्यमले जनाएका छन् । नगानो प्रान्तस्थित जापानको चर्चित बुलेट रेलसेवा आँधीले अवरुद्ध भएको छ ।


नागानोमा एउटा बुलेट ट्रेन माटोमा गाडिएको अवस्थामा आधा मात्र देखिएको दृश्य टेलिभिजनहरूले प्रसारण गरिरहेका छन् । नागानो सहरका एक अधिकारी यासुहिरो यामागुचीले गएराति ४२७ घरपरिवारका १ हजार ४ सय १७ व्यक्तिलाई घर छाड्न आदेश दिइएको बताए ।


आँधीले अलपत्र परेका मानिसहरूलाई सेना तथा उद्धारकर्मीले हेलिकप्टरको सहायताले घरका छानाबाट निकालिरहेका देखिन्छन् । घरका झ्याल र बाल्कोनीबाट आँधीपीडितले उद्धारका लागि सेनालाई अनुरोध गरिरहेका देखिन्छन् । नगानोस्थित छिकुमा नदीको पानी आवासीय क्षेत्रमा पसेको र बाढीको स्थिति उत्पन्न भएको उद्धारकर्मीहरूले बताएका छन् ।


आँधी प्रभावित क्षेत्रमा सरकारले करिब २७ हजार सैनिक तथा अन्य हजारौं उद्धारकर्ता राहत तथा पुनःस्थापनाका लागि खटिएका जनाएको छ । टोकियोको उत्तरतर्फ पर्ने कावागोयमा आपतकालीन उद्धारकर्ताले एक अस्पतालमा फसेका मानिसलाई उद्धार गरेका जनाइएको छ ।


आँधी पुनः आउन सक्ने त्रासका कारण हवाई उडानहरू रद्द गरिएका छन् भने रेलसेवा अवरुद्ध छ । टोकियोको नारिता र हानेदा विमानस्थल आइतबार अबेरदेखि सुचारु भए पनि कम्तीमा ८ सय उडान रद्द गरिएका थिए ।


अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आँधीपछि करिब ४ लाख २५ हजार घरमा विद्युत् आपूर्ति बन्द भएको छ । आँधीका कारण टोकियोको पूर्वी क्षेत्रमा निकै ठूलो हावाहुरीले सयौं घरका छत उडाउनुका साथै सवारी साधन पल्टाइदिएको छ ।आँधीका कारण रग्वी विश्वकपका कतिपय खेल रद्द गरिएका छन् । अस्थायी शिविरहरूमा आँधी पीडितको भीड देखिन्छ । अधिकारीले शिविरमा रहेका विस्थापितलाई बिस्कुट र ओढ्ने बाँडेका जनाइएको छ ।


अधिकारीहरूका अनुसार आइतबार आँधीको प्रभाव केही कम देखिएको छ । जापानी प्रधानमन्त्री सिन्जो अबेले आँधी प्रभावितको उद्धार तथा पुनःस्थापनाका लागि रणनीति तयार गर्न मन्त्रिपरिषद्को आपतकालीन बैठक गरेका छन् । उनले आँधीले निकै ठूलो क्षति पुर्‍याएको भन्दै दुःख व्यक्त गरेका समाचार संस्था रोयटर्सले जनाएको छ ।


अधिकारीहरूले ‘हगिबिस’ आँधी सन् १९५९ मा जापानमा आएको भेरा आँधीपछिकै शक्तिशाली हो । भेराका कारण कम्तीमा ५ हजार मानिसको ज्यान गएको थियो । जापानमा गतसाता आएको फाक्साई आँधीका कारण ३० हजारभन्दा बढी घर ध्वस्त भएका थिए ।

प्रकाशित : आश्विन २६, २०७६ २१:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?