२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

सिरियामा टर्कीको आक्रमण, एक लाखभन्दा बढी विस्थापित

(एजेन्सी)

अंकारा/बेरुत — संयुक्त राष्ट्रसंघले उत्तर–पूर्वी सिरियामा टर्कीले जारी राखेका हवाई र स्थलगत आक्रमणका कारण एक लाखभन्दा बढी विस्थापित भएका जनाएको छ । 

सिरियामा टर्कीको आक्रमण, एक लाखभन्दा बढी विस्थापित

राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफान डुजार्रिकले जारी गरेको विज्ञप्तिअनुसार कुर्दिस लडाकु समूह र टर्किस फौजबीचको झडपमा दुवैतर्फ हताहत भएका जनाइएको छ ।


राष्ट्रसंघीय मानवअधिकारका लागि उच्चआयुक्तको कार्यालय (ओएचसीएचआर) ले सीमा क्षेत्रका तल अब्याद तथा रस अल–ऐन सहरमा निरन्तर बम विस्फोट भएका तथा त्यहाँको अवस्था भयावह रहेको जनाएको छ ।


राष्ट्रसंघीय आपत्कालीन राहत समन्वयकर्ता जनरल मार्क लोकोकले टर्की सीमाक्षेत्रमा भ्रण गरेका छन् । टर्कीले उक्त क्षेत्रमा आक्रमण गर्नुअघि नै लोकोकले अंकारा तथा टर्की–सिरिया सीमा क्षेत्रको भ्रमण गर्न लागेको बताएका थिए । उनले सीमाको दुवै क्षेत्रमा नागरिकको हताहतीबारे चिन्ता व्यक्त गरेका छन् ।


राष्ट्रसंघीय कार्यालयले ‘युद्धका क्रियाकलाप तथा सैन्य कारबाही अन्तर्राष्ट्रिय मानवीय कानुनअनुरूप हुनुपर्ने’ समेत जनाएको छ । द्वन्द्वका कारण विस्थापित नागरिकलाई घर फर्कन वा सुरक्षित स्थानमा जान दिनसमेत युद्धरत पक्षसँग कार्यालयले आग्रह गरेको छ ।


टर्कीको आक्रमणबाट विस्थापित बालबालिकाहरू सिरियाको पश्चिमी प्रान्त हस्साकेतर्फ लागेका बीबीसीले जनाएको छ । टर्कीलाई सैन्य कारबाही रोक्न अमेरिकाले दबाब दिएको छ । आक्रमण नरोके टर्कीले ‘गम्भीर परिणाम’ भोग्नुपर्ने अमेरिकी रक्षामन्त्रीले चेतावनी दिएका छन् । तर त्यसको प्रतिक्रियामा टर्कीका राष्ट्रपति रेसेप तैयप इर्दोगानले ‘कसैको चेतावनीले आक्रमण नरोकिने’ बताएका छन् ।


टर्कीले सिरियास्थित कुर्दिस फौजका कारण आफ्नो देशमा अस्थिरता बढेको भन्दै बिहीबार सैन्य आक्रमण गरेको हो । टर्कीका राष्ट्रपतिले ‘युफ्रेटिज नदीको पूर्वी क्षेत्रका कुर्द लडाकुलाई विस्थापित गरी सिरियाली शरणार्थीका लागि सुरक्षित क्षेत्र निर्माण गर्न कारबाही चलाएको’ बताउँदै आएका छन् ।


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तरी सिरियाबाट फौज फिर्ता गरेको केही दिनमै टर्कीले कुर्द बाहुल्य क्षेत्रमा हमला गरेको हो । टर्कीले उक्त क्षेत्रमा आक्रमण गर्नका लागि अमेरिकी कदमले सहज भएको ठानिएको छ ।

टर्कीस फौजले ‘अप्रेसन पिस स्प्रिङअन्तर्गत आफूहरूले आतंककारीका आश्रयस्थल ध्वस्त पारेको’ बताउने गरेको छ । कुर्द फौजले टर्किस फौजको आक्रमणको कडा प्रतिकार गर्ने चेतावनी दिएको छ ।


अमेरिकाको समर्थन रहेको कुर्दले सिरियाली सरकार एवं इस्लामिक स्टेटविरुद्ध लडेको सिरियन डेमोक्र्याटिक फोर्स (एसडीएफ) को मुख्य हिस्सा हो । कुर्दिस फौजले सो क्षेत्रमा हजारौं आइएस लडाकुलाई बन्दी बनाएर राखेका थिए । टर्कीको आक्रमणसँगै ती बन्दीबारे अन्तर्राष्ट्रिय समुदायले चासो प्रकट गरेका छन् ।


अमेरिकी राष्ट्रपति राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ‘टर्कीका पछिल्ला कदमले उब्जेका समस्या अन्त्य गर्न आफूसँग तीन विकल्प रहेका’ बताएका थिए । उनका अनुसार सैन्य हस्तक्षेप, आर्थिक प्रतिबन्ध वा टर्की र कुर्दबीच मध्यस्थता गराउने त्यस्ता विकल्प हुन् । तर वासिङ्टनमा शुक्रबार पत्रकारसँग बोल्दै ट्रम्पले तेस्रो विकल्प उत्तम रहेको बताएका छन् ।


प्रकाशित : आश्विन २६, २०७६ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?