अस्ट्रेलियामा डढेलोको प्रकोप

नारायण खड्का

(अस्ट्रेलिया) — गर्मी मौसमको सुरुवाती चरणमै अस्ट्रेलिया डढेलोको चपेमा परेको छ । न्युसाउथ वेल्समा सल्किएको डढेलोका कारण अहिलेसम्म २ जनाले ज्यान गुमाएका छन् भने ५० बढी घर जलेर नष्ट भएका छन् ।

अस्ट्रेलियामा डढेलोको प्रकोप

अहिले अस्ट्रेलियाको न्युसाउथ वेल्स र क्विन्सल्यान्ड डढेलोले समस्या सिर्जना गरिरहेको छ । करिब एक सातादेखि फैलिएको डढेलोका कारण न्युसाउथ वेल्सको उत्तरी भेगमा एक वृद्ध जोडीले ज्यान गुमाएका छन् । सञ्चारमाध्यमहरूका अनुसार आगलागीमा परी ७७ वर्षीय पुरुष र ६८ वर्षीया एक महिलाको जलेको शरीर घरमा पत्ता लागेको थियो । अहिले पनि करिब दुई दर्जन आगोलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।


डढेलो नियन्त्रणमा लिन दुर्गम आगलागी नियन्त्रण सर्भिसका कर्मचारीहरू लागिरहेका भए पनि पूर्ण रूपमा आगो नियन्त्रणमा आउन सकेको छैन । न्युसाउथ वेल्सको उत्तरी क्षेत्रमा मौसम सुरुवातदेखि नै सुरु भएको डढेलोका कारण अहिलेसम्म करिब एक सय बढी घर जलेर नष्ट भइसकेका छन् भने लाखौं मूल्य बराबरको सम्पत्ति जलेर नष्ट भइसकेको छ ।


क्विन्सल्यान्डको समेत लोकली भ्यालीलगायतका केही क्षेत्रहरूमा आगलागीका कारण घरहरू जलेर नष्ट भएका छन् भने दर्जनौं स्थानीयबासीहरू प्रभावित बनेका छन् ।


अस्ट्रेलियाको मौसम विभागले केही दिनदेखि चिसो मौसममा परिवर्तन आइरहेकाले आगलागी नियन्त्रणमा लागिरहेका अग्नि नियन्त्रकहरूलाई सहज हुन सक्ने आशा व्यक्त गरेको छ ।


यद्यपि, उक्त मौसम परिवर्तन विभिन्न क्षेत्रहरूमा लागिरहेको आगो पूर्ण नियन्त्रणका लागि उपयुक्त नभएको समाचारहरूमा जनाइएका छन् । आगलागी प्रभावित क्षेत्रमा रहेका दर्जनौं स्थानीयबासीहरू अहिले पनि आफ्नो घरमा सुरक्षित किसिमले फर्कने वातावरण नभएको अधिकारीहरूले जनाएका छन् ।


गर्मी मौसमको सुरुवातसँगै तापक्रम बढेका कारण डढेलोको प्रकोप बढेको यहाँस्थित दुर्गम आगलागी नियन्त्रण कार्यालयका अधिकारीहरूले जनाएका छन् । अस्ट्रेलियाले हरेक वर्ष डढेलोका कारण करोडौं डलर बराबरको आर्थिक क्षति व्यहोर्दै आएको छ भने यसैका कारण दर्जनौं स्थानीयबासीहरू घरवारविहीन हुँदै आएका छन् ।


यति मात्रै नभएर जानीजानी झाडीमा आगो लगाइदिने खराब प्रवृत्तिका कारणसमेत केही स्थानमा डढेलोले दु:ख दिने गरेको छ । एक साताअघि न्युसाउथ वेल्समा फैलिएको डढेलोसमेत केही उच्छृंखल व्यक्तिहरूले जानीजानी लगाएको प्रहरीले आशंका गरेको छ । न्युसाउथ वेल्सका आपत्कालीन सेवामन्त्री डेभिड इलिएटले अर्काको जीवनलाई जोखिममा पार्ने जोकोही भए पनि उसले कानुनले कडा कारबाही गर्ने बताएका छन् ।


डढेलोका कारण लागेको आगलागीले रेलमार्गका साथै अन्य अत्यावश्यक सेवाहरूलाई समेत असर पुर्‍याएको छ । यसैगरी आगलागीका कारण असुरक्षित स्थानीवासीलाई सुरक्षित राख्नका लागि सरकारले आपत्कालीन अस्थायी सेल्टरको समेत व्यवस्था गरेको छ ।


दुर्गम आगलागी नियन्त्रण सेवाका उच्च अधिकारीहरूले अबको केही समयमा हुने चिसो मौसममा परिवर्तनले आगलागी नियन्त्रणमा काम गरिरहेका अधिकारीहरूलाई केही मात्रामा राहत दिने र आगलागी नियन्त्रणमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेको छ ।

प्रकाशित : आश्विन २६, २०७६ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?