इथियोपियाली प्रधानमन्त्री अलीलाई नोबेल शान्ति

(एजेन्सी)

ओस्लो — इथियोपियाका प्रधानमन्त्री आबी अहमद अलीलाई सन् २०१९ को नोबेल शान्ति पुरस्कार प्रदान गरिने भएको छ ।

इथियोपियाली प्रधानमन्त्री अलीलाई नोबेल शान्ति

‘शान्ति प्राप्तिका र अन्तर्राष्ट्रिय समन्वय’ जुटाउन उल्लेखनीय भूमिका निर्वाह गरेका कारण उनलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको नोबेल समितिले जनाएको छ । नर्वेको राजधानी ओस्लोमा १०० औं नोबेल शान्ति पुरस्कार विजेताका रूपमा आबी अहमदको नाम शुक्रबार घोषणा गरिएको हो ।


सन् १९९८ देखि २००० सम्म चलेको सीमा युद्धसँगै सुरु भएको २० वर्ष लामो सैनिक गतिरोध अन्त्य गर्दै इथियोपिया र इरिट्रियाबीच गतवर्ष शान्ति सम्झौता भएको थियो ।


गरिबी र द्वन्द्वको चपेटाबाट गुज्रिरहेको इथियोपियामा शान्ति र विकासका लागि आबीले आर्थिक सुधारका धेरै महत्त्वाकांक्षी योजना अघि सारेका र तिनले प्रतिफल दिन थालेको इन्स्टिच्युटकी अध्यक्ष बेरिट रेइस–एन्डरसनले बताइन् ।


को हुन् आबी ?


सन् १९७६ मा इथियोपियाको जिमा क्षेत्रमा जन्मिएका आबी अदिस अबाबा विश्वविद्यालयबाट ‘शान्ति तथा सुरक्षा मुद्दा’ विषयमा विद्यावारिधि गरेका छन् । उनले बेलायतको राजधानी लन्डनस्थित ग्रिनविच विश्वविद्यालयबाट स्नातकोत्तर गरेका हुन् ।


उनले सन् १९९५ मा रुवान्डामा संयुक्त राष्ट्रसंघीय शान्तिदूतका रूपमा कार्यसमेत गरेका थिए । आबी सन् २०१० मा राजनीतिमा प्रवेश गरेलगत्तै सांसदमा निर्वाचित भएका थिए ।


सन् २०१८ को अप्रिलमा प्रधानमन्त्री भएयता आबीले इथियोपियामा निकै धेरै सुधारका कार्यहरू गरिसकेका छन् । पदस्थापनापछि उनले कानुन तथा नियम खुकुलो पार्नुका साथै १० हजारभन्दा बढी विपक्षी नेता तथा कार्यकर्तालाई जेलमुक्त गरे । त्यसका साथै राजनीतिक प्रतिशोधका कारण देश निकाला गरिएकालाई उनले फर्काउन पहल गरे ।


आबीले सन् २०१८ को जुलाईमा उनले इरिट्रियाका राष्ट्रपति इसियास अफवेर्कीसँग शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए । त्यसका साथै उनले विवादित क्षेत्रसमेत हस्तान्तरण गर्ने प्रतिबद्धता जनाए ।


पूर्वसैनिक ‘इन्टेलिजेन्स अफिसर’ आबी इथियोपियाकाको सत्तारूढ दल इपीआरडीएफ र ओपीडीका सभापति हुन् । त्यसका साथै उनी हाल अफ्रिकाकै सबैभन्दा कम उमेरका सरकार प्रमुख हुन् ।

उनलाई आगामी डिसेम्बरमा ओस्लोमा आयोजित विशेष समारोहमा ९० लाख स्विडिस क्रोन्स (करिब ९ लाख अमेरिकी डलर) पुरस्कार, पदक तथा प्रमाणपत्र प्रदान गरिने छ ।


सन् २०१९ को नोबेल शान्ति पुरस्कारका लागि २ सय २३ जना व्यक्ति तथा ७८ संघसंस्थासहित ३ सय १ को मनोनयन परेको थियो । यस वर्षको नोबेल शान्ति पुरस्कारका लागि आबीसहित न्युजिल्यान्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डर्न र जलवायु क्षेत्रमा क्रियाशील ग्रेटा थनवर्ग पनि मनोनयमा परेका थिए । यसअघि अमेरिकी राष्ट्रपतिद्वय जिम्मी कार्टर र बाराक ओबामालगायतका राजनीतिज्ञले समेत नोबेल शान्ति पुरस्कार पाइसकेका छन् ।

प्रकाशित : आश्विन २५, २०७६ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?