सीलाई चेन्नईमा ‘रेडकार्पेट’

(एजेन्सी)

चेन्नई — दुईदिने भ्रमणका क्रममा चेन्नई पुगेका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई भारतले भव्य स्वागत गरेको छ । शुक्रबार चेन्नईस्थित विमानस्थलमा उत्रेका राष्ट्रपति सीलाई गभर्नर बनवरीलाल पुरोहित र उपमुख्यमन्त्री ओ पन्नेरसेल्भमले स्वागत गरेका हुन् । त्यलगत्तै उनलाई चेन्नईको तटीय सहर ममल्लापुरम लगिएको थियो ।

सीलाई चेन्नईमा ‘रेडकार्पेट’

भारतको प्राचीन सहर ममल्लापुरमको चीनको फुजियान प्रान्तसँग पुरानो सम्बन्ध रहेको बताइन्छ ।


सी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच चेन्नईमा अनौपचारिक शिखर सम्मेलन हुँदैछ । विमानस्थलमा अवतरण गरेको केही समयमै ट्वीट गर्दै मोदीले सीलाई स्वागत गरेका थिए । उनले ट्वीटरमा लेखेका थिए, ‘महामहिम राष्ट्रपति, भारतमा स्वागत छ ।’


दुई नेताबीचको बैठकलाई गत वर्ष चीनको वुहानमा भएको अनौपचारिक बैठकको निरन्तरता ठानिएको छ । भारत र चीनबीच सीमा विवादको ७३ दिन लामो घम्साघम्सीपछि सन् २०१८ को अप्रिलमा मोदी र सीबीच चीनको वुहानमा वार्ता भएको थियो ।


तर यसपटकको वार्ता कश्मीर विवादमा केन्द्रित हुने ठानिएको छ । गत अगस्टमा मोदीले भारत प्रशासित कश्मीरको संवैधानिक हैसियत बदल्ने निर्णय लिएपश्चात् भारत र पाकिस्तानबीचको विवाद उत्कर्षमा छ । भारतको उक्त कदमप्रति चीन पनि असन्तुष्ट रहेको छ ।


यसै साताको सुरुमा चीनले भारत र पाकिस्तानलाई वार्तामार्फत कश्मीर विवाद अन्त्य गर्न आह्वान गरेको थियो । त्यसको प्रतिक्रियामा भारतले आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चीनलाई सुझाव दिएको थियो । यस पटक दुवै नेताहरू द्विदेशीय आर्थिक सम्बन्ध बढाउने तथा आपसी मतभेद अन्त्य गर्ने अपेक्षाका साथ वार्तामा बसेका छन् ।


भारत भ्रमणमा आउनुअघि सीले बेइजिङमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग समेत भेटवार्ता गरेका थिए । भेटमा चीनले कश्मीर मुद्दा विवादित विषय भएकाले राष्ट्रसंघीय बडापत्र, सुरक्षा परिषद्द्वारा स्वीकृत प्रस्ताव तथा द्विपक्षीय सम्झौताका आधारमा यसको समाधान शान्तिपूर्ण ढंगबाट गर्नुपर्ने बताएको थियो ।

प्रकाशित : आश्विन २४, २०७६ १९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?