कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेलायतमा २० हजार प्रहरी अधिकृत थपिने

नवीन पोखरेल

(लन्डन) — बेलायत सरकारले २० हजार प्रहरी अधिकृत थप्ने भएको छ । इंग्ल्यान्ड र वेल्समा आउँदो ३ वर्षभित्र २० हजार प्रहरी अधिकृत बढाइने बेलायतको गृह मन्त्रालयले बुधबार जनाएको हो । बजेट अभावमा ९ वर्ष यता कटौती गरिए जति नै प्रहरी संख्या वृद्धि गर्ने घोषणा भएको छ । 

बेलायतमा २० हजार प्रहरी अधिकृत थपिने

पहिलो वर्ष इंग्ल्यान्ड र वेल्समा ६ हजार प्रहरी अधिकृत भर्ना गर्ने लक्ष्य छ । इंग्ल्यान्ड र वेल्सका सबै ४३ प्रहरी बलले सरकारको लक्ष्य पूर्तिका लागि भर्ना प्रक्रिया अगाडि बढाउने छन् । त्यसका लागि सरकारले ७५० मिलियन पाउन्ड कोष छुट्टयाएको गृह मन्त्रालयले जनाएको छ । उक्त कोष भर्नासहित तालिम र आवश्यक सामग्री उपलब्ध गराउन खर्च गरिने छ ।


गृहमन्त्री प्रीति पटेलले नेसनल पुलिसिङ बोर्ड पदाधिकारीसँगको बैठकपछि उक्त घोषणा गरेकी हुन् । प्रधानमन्त्री बोरिस जोन्सनले गत जुलाईमा उक्त बोर्ड गठन गरेका थिए । प्रधानमन्त्री जोन्सनले सत्तारुढ कन्जरभेटिभ पार्टीको नेतृत्व चयन प्रतिस्पर्धामा प्रहरी बलमा थप लगानीको वाचा गरेका थिए ।


पहिलो वर्ष मेट्रोपोलिटन पुलिस फोर्सले १३६९, वेस्ट मिडल्यान्डसले ३६६ र ग्रेटर म्यानचेस्टरले ३४७ प्रहरीहरू भर्ना गर्ने छन् । त्यसैगरी, वेस्ट योर्कसायरले २५६, मर्सिसाइड २००, नर्थउम्ब्रिया १८५ र थेम्स भ्याली प्रहरी बलले १८३ प्रहरी भर्नाको लक्ष्य राखेका छन् ।


एभन एन्ड सोमरसेटमा १३७, बेडफोर्डसायर ५४, क्याम्ब्रिजसायर ६२, चेसायर ९०, क्लिभल्यान्ड ७२, कुम्ब्रिया ५१, डर्बिसायर ८५, डेभन एन्ड कर्नवाल १४१, डोरसेट ५०, डरहाम ६८, डाइफेड पोज ४२, इसेक्स १३५, ग्लोस्टरसायर ४६, ग्वेन्ट ६२, हयाम्पसायर १५६, हर्टफोर्डसायर ९१, हम्बरसाइड ९७, केन्ट १४७, ल्यानकसायर १५३, लेस्टरसायर ८९ र लिंकनसायरमा ५० अधिकृत थपिने छन् ।

यस अभियानतर्फ मानिसलाई आकर्षित गर्न ‘बी अ फोर्स फर अल’ वेबसाइटसमेत बनाइएको छ ।


‘सर्वसाधारण आफू बस्ने सहरका सडकमा थप प्रहरी अधिकृत हेर्न चाहन्छन् र उनीहरूको त्यो प्राथमिकता पूरा गर्न सरकार लागेको छ,’ गृहमन्त्री पटेलले भनेकी छन्, ‘समुदायलाई सुरक्षित राख्न इंग्ल्यान्ड र वेल्सका प्रत्येक बलले थप प्रहरी अधिकृत भर्ती गर्न सक्ने छन् ।’


पुलिस फेडेरेसन अफ इंग्ल्यान्ड एन्ड वेल्सका राष्ट्रिय अध्यक्ष जोन एप्टरले सरकारी निर्णयको स्वागत गर्दै यो महत्त्वपूर्ण कदम भएको बताए । यस घोषणाले लामो समयदेखि प्रहरी बलको रिक्तता पूरा गर्ने उनले जनाए ।


उता, गृह मन्त्रालयले आफ्नो र सुमदायको सुरक्षाका लागि प्रहरी अधिकृतहरूलाई टेजर (इलेक्ट्रिक गन) उपलब्ध गराउन थप १० मिलियन पाउन्ड कोष पनि घोषणा गरेको छ । पुलिस फेडेरेसनले यसको स्वागत गरे पनि मानवअधिकारकर्मीले भने आलोचना गरेका छन् ।


प्रहरी अधिकृत कटौती हुँदा बेलायतमा अपराधको स्तर निकै भयावह रहेको समाचार केही महिनाअघि मात्र सार्वजनिक भएको थियो । लन्डन मेट्रोपोलिटन प्रहरीकी प्रमुख क्रेसिडा डिकले नै ब्रिटेनमा अपराधको स्तर निकै भयावह रहेको भन्दै चिन्ता व्यक्त गरेकी थिइन् ।


बेलायत सरकारले सार्वजनिक गरेको तथ्यांकले इंगल्यान्ड र वेल्समा गम्भीर अपराधहरूको छानबिन गर्ने प्रहरीको संख्या सन् २०१० देखि ०१८ को बीचमा २८ प्रतिशतले घटेको देखाउँदै गर्दा लन्डन प्रहरी प्रमुखको त्यस्तो भनाइ आएको थियो ।


प्रकाशित : आश्विन २४, २०७६ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?