१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

टर्कीद्वारा उत्तरी सिरियामा भिषण आक्रमण

अमेरिकाको समर्थन छैन : पोम्पियो
(एजेन्सी)

इस्तानबुल/वासिङ्टन — उत्तरी सिरियामा बुधबार हवाई आक्रमण गरेको टर्कीले बिहीबार स्थल आक्रमण सुरु गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हातहतियारले सुसज्जित टर्किस फौज युफ्रेटिज नदीको पूर्वी क्षेत्र प्रवेश गरेका जनाएका छन् । टर्किस अधिकारीले राष्ट्रपतिको आदेशअनुसार सुरक्षाकर्मी उक्त क्षेत्रमा सुरक्षा कायम गर्न खटिएको जनाएका छन् ।

टर्कीद्वारा उत्तरी सिरियामा भिषण आक्रमण

टर्कीका राष्ट्रपति रेजप तैइप इर्दोगानले ‘युफ्रेटिज नदीको पूर्वी क्षेत्रमा रहेका कुर्द लडाकुलाई विस्थापित गरी सिरियाली शरणार्थीका निम्ति सुरक्षित क्षेत्र निर्माण गर्न सैन्य कारबाही सुरु गरिएको दाबी गरेका’ छन् ।

अमेरिकाले टर्कीले गरेको पछिल्लो आक्रमणको भर्त्सना गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीले गरेको आक्रमणलाई ‘गलत कार्य’ को संज्ञा दिँदै आलोचना गरेका छन् ।


अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले टर्कीलाई उक्त क्षेत्रमा आक्रमण गर्न अमेरिकाले नदिएको दाबी गरेका छन् । उनले उत्तरी क्षेत्रबाट सेना हटाउने राष्ट्रपति ट्रम्पको निर्णयप्रति भएको आलोचनाको समेत बचाउ गरेका बीबीसीले जनाएको छ । अमेरिकी सञ्चारमाध्यम पीबीएससँग कुराकानी गर्दै पोम्पियोले भने, ‘अमेरिकाले टर्कीलाई ग्रिन सिग्नल दिएको छैन ।’


लामो समयदेखि राष्ट्रपति ट्रम्पका कट्टर समर्थक रहँदै आएका रिपब्लिकन नेता लिन्ड्से ग्राहमले पछि फौज फिर्ता गर्ने ट्रम्पको निर्णयको आलोचना गरेका छन् । राष्ट्रपति ट्रम्पले उत्तरी सिरियाबाट फौज फिर्ता गरेको केही दिनमै टर्कीले कुर्द क्षेत्रमा हमला गरेको छ । टर्कीले उक्त क्षेत्रमा आक्रमण गर्नका लागि अमेरिकी कदमले सहज भएको ठानिएको छ ।


टर्किस फौजको पछिल्लो आक्रमणको अन्य केही पश्चिमा देशले समेत विरोध जनाएका छन् । फ्रान्स, जर्मनी तथा बेलायतले टर्कीको आक्रमणप्रति खेद व्यक्त गरेका छन् । ती देशले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठक आह्वानसमेत गरेका छन् ।


बेलायती विदेशमन्त्रीले डोमिनिक राबले आक्रणप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनका अनुसार टर्किस फौजको आक्रमणले सो क्षेत्रमा अस्थिरता बढ्नुका साथै इस्लामिक स्टेटविरुद्धका सफलता उल्टने तथा मानवीय संकट गहिरिने जोखिम बढेको छ ।


टर्किस फोजले बुधवार सीमा क्षेत्रका कैयौं सिरियाली नगरमा हवाई आक्रमण तथा गोलाबारी गरेको थियो । रस अल–ऐन र तल अब्याद नगरका बासिन्दा सुरक्षित स्थानमा भागिरहेका बीबीसीले जनाएको छ ।


टर्किस फौजको आक्रमणमा परेको तल अब्याद नगर कुर्द समूह वाईपीजीको नियन्त्रणमा रहेको थियो । कतिपय सञ्चारमाध्यमले टर्कीले कुर्दलाई निसाना गरी आक्रमण गरेको उल्लेख गरेका छन् ।


यद्यपि, टर्कीले सैन्य केन्द्रलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ । एक पर्यवेक्षक समूहले टर्किस फौजको आक्रमणमा करिब एक दर्जन गैरसैनिक मारिएको जनाएको छ ।


कुर्दिस रेड क्रेसेन्टले आक्रमणमा कम्तीमा ७ सर्वसाधारणको मृत्यु भएको जनाएको छ । उसका अनुसार मृतकमध्ये दुई बालबालिका छन् । उसका अनुसार आक्रमणमा १९ घाइते छन् ।


टर्कीस फौजले ‘अप्रेसन पिस स्प्रिङअन्तर्गत आफूहरुले आतंककारीका कम्तीमा १८१ आश्रयस्थल ध्वस्त पारेको’ दाबी गरेको छ । कुर्द फौजले टर्किस फौजको आक्रमणको कडा प्रतिकार गर्ने चेतावनी दिएको छ । अमेरिकाको समर्थन रहेको कुर्दले सिरियाली सरकार एवं इस्लामिक स्टेटविरुद्ध लडेको सिरियन डेमोक्र्याटिक फोर्स (एसडीएफ) को मुख्य हिस्सा हो ।


कुर्दहरूले आफ्नो नियन्त्रणमा रहेका क्षेत्रमा निर्माण गरेका बन्दी गृहमा हजारौं इस्लामिक स्टेट लडाकु तथा उनीहरूका परिवारलाई राखिएको छ । आक्रणपछि ती बन्दीलाई कुर्दले के गर्नेभन्नेबारे केही उल्लेख गरेको छैन ।

प्रकाशित : आश्विन २३, २०७६ १९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?