साउदीमा जमरा लहलह

होम कार्की

काठमाडौं — साउदी अरबको राजधानी रियादस्थित डाइट सेन्टरको क्याम्पमा उमारिएको जमरा लहलह परेको छ । यो क्याम्पमा अर्घाखाँचीका भूपेन्द्र थापा, तनहुँका सोमलाल पौडेल, सुकुबहादुर थापामगर र गुल्मीका मिलन थापा मिलेर जमरा उमारेका हुन् । 

साउदीमा जमरा लहलह

डाइट सेन्टरमा ६० नेपाली काम गरिरहेका छन् । विजयादशमीको दिन डिउटी सकेर क्याम्पमा आएपछि उनीहरू एकै ठाउँमा भेला भएर निधारमा टीका र कानमा जमरा सिउरिने योजना बनाएका छन् । ‘हरेक दिन विधि पुर्‍याएर नै जमरा कोठामा पूजा भइरहेको छ,’ भूपेन्द्रले भने, ‘हामी बस्ने कोठाको कुनामा जमरा राखिएको छ । यो जमरा गाउँघरमै जस्तै देखिएको छ ।’ जमरा सप्रेको देख्दा क्याम्पका साथीहरू उत्साहित छन् । जमरासँग सेल्फी हान्दै आ–आफ्ना घरमा फोटो पठाउनेहरूसमेत छन् । ‘क्याम्पमा जमरा लहलह पर्दा मन पुलकित हुँदो रहेछ । दसैं साउदीमै भित्रिएजस्तो लागिरहेको छ,’ उनले भने ।


भूपेन्द्र सन् २००३ देखि साउदीमा काम गर्दै आइरहेका छन् । पुरानो कामदार भएकाले कम्पनीले उनको कुरा सुन्ने गर्छ । ‘हाम्रो जीवन नै विदेशमै बित्ने भयो । विदेशमा बस्नेलाई सबभन्दा बढी नरमाइलो हुने क्षण नै चाडपर्वमा हो । घरमा जान नपाए पनि रोएर बस्ने कुरा हुँदैन । सबै साथीहरूको पीडा एउटै हुन्छ । आफ्नै परिवार र आफन्त भेट नभए पनि साथीहरू त छौं नि,’ उनले भने, ‘विजयादशमीको दिन कम्पनीभन्दा बाहिर रहेका नजिकका साथीहरूलाई पनि आमन्त्रण गरेका छौं । कम्पनीमा रहेका नेपालीमध्ये सबभन्दा जेठो व्यक्तिबाट टीका ग्रहण गर्नेछौं ।’


यसपटक विजयादशमी मंगलबार छ । खाडीमा साप्ताहिक बिदा शुक्रबार हुन्छ । ‘प्रवासीको दसैं जहिले छुट्टी मिल्छ त्यहीले मनाउने हो । हामीले त यसपालिको दसैं शुक्रबार नै मनाइसक्यौं’, लिखु गाउँपालिका–२, नुवाकोटका नवराज लामिछानेले भने, ‘खसीबजारमा गएर खसी ल्यायौं । हरेक क्याम्पमा खसी ढालिएको छ ।’ रियादको अजेजियामा खसी किन्ने नेपालीको भीड थियो । ‘खसी बेच्नेहरूलाई नेपालीको दसैं आयो भन्ने थाहा छ । दसैंमा खसीको मूल्य नै बढेको छ । ३/४ सय रियालमा पाउने खसीको भाऊ बढेर ६ सयदेखि ९ सय रियाल पुगेको छ,’ उनले भने । साउदीमा छालासहितको खसीको मासु बजारमा किन्न पाइँदैन । छालासहितको मासु बिक्री गर्न रोक छ । धेरैजसो नेपालीले छालासहितको मासु मन पराउने हँुदा आफैं खसी मार हान्छन् । ‘कोठामा लगेर पकाएर खाने हो । कम्पनी आफैंले भने मेसमा मिसाउन दिँदैन,’ उनले भने । उनले इस्तारा (पार्टी प्यालेस) भाडामा लिएर साथीभाइ नाचगान गर्ने गरेको बताए । ‘आवासीय र अपिस क्षेत्रमा इस्तारा छैन । मुख्य सहर बाहिरमात्रै निजी कम्पनीहरूले इस्तारा चलाएका छन् । हामी इस्तारा भाडामा लिन्छौं । इस्ताराभित्रै बसेर टीका लगाउँछौं । यसमा प्रशासनले रोकतोक गर्दैन’, उनले भने ।


मुस्लिम राष्ट्र साउदी अरबमा नेपालीले भित्र टीका लगाएपछि सडकमा निस्कने गरेका छैनन् । ‘टीका लगाइसकेपछि क्याम्पभित्रै बस्ने हो । रातो टीका भएको निदार बोकेर बाहिर निस्कने आँट कसैको हुँदैन,’ उनले भने, ‘कतारजस्तो खुल्ला छैन ।’ कतारमा बेग्लै रौनक छ । साउदीमा विजयादशमीको दिन कामदारलाई बिदा छैन । कतारमा धेरैजसो कम्पनीले नेपाली कामदारलाई बिदा दिने गर्छन् । बहुराष्ट्रिय कम्पनी युनाइटेड प्रिकास्ट कम्पनीले विजयादशमीको दिन बिदा दिएको छ । यो कम्पनीमा ३ सय नेपाली काम गर्छन् । ‘यस्तो बेला परिवार सँगै बस्न नपाए पनि भिडियो च्याटबाट टीकामा सहभागी हुन बिदा दिइएको छ । कमसेकम परिवारले पनि नजिकको महसुस गर्छन्,’ कम्पनीका म्यानेजर सन्जिव रानाभाटले भने ।


दसैंका लागि कम्पनीका तर्फबाट कामदारलाई खसीसमेत उपहार दिने गरिएको छ । इमेज कम्पनीले ६ सय कामदारलाई खसी उपलब्ध गराएको जानकारी म्यानेजर राजन श्रेष्ठले दिए । ‘यस पटक नेपालबाट आमा आउनुभएको छ । उहाँलाई नै क्याम्पमा लिएर जाने हो । सबैलाई आमाको हातबाट टीका लगाइदिने योजनामा छौं,’ उनले भने । टीका जमरा लगाइसकेपछि कामदारहरू खुल्ला रूपमा बाहिर निस्कने गर्छन् । ‘विस्तारै गर्मी कम भइरहेको छ । । बाहिर हिँडडुल गर्न केही सहज छ,’ खोटाङका केदार बानियाँले भने ।


खाडी पुगेका साथीहरू एकआपसमा संगठित छन् । उनीहरूका संघसंस्था दसैं मनाउन सक्रिय छन् । ‘यहाँ पनि भलिबल, फुटबल प्रतियोगिता हुन्छ । जित्नेलाई खसी दिइन्छ । हाम्रो गाउँमै पुगेको जस्तो हुन्छ’, यूएईमा रहेका सिन्धुपाल्चोकका रमेश लुइँटेलले भने, ‘तैपनि प्रवासीका दसैं सिमलको भुवा जस्तै लाग्छ । जे जस्तो भए पनि हामी बाध्यतामा पनि रमाउन जानेका छौं ।’


बिदामा घर फिर्न नपाउनेहरूले परिवार नै आफ्नो कार्यस्थल बोलाउन थालेका छन् । कतारले ट्राभल एजेन्सीको जिम्मेवारीमा भिजिट भिसा दिन थालेपछि परिवारलाई बोलाउन सजिलो भएको हो । ‘दसैंमा कतारबाट नेपाल जाने टिकट छैन । नेपालबाट आउने टिकट सस्तोमा पाइएको छ । मैले यता नै परिवार र छोरीलाई बोलाएँ,’ झापाका उमेश श्रेष्ठले भने, ‘परिवार यतै आएपछि झन रमाइलो हुने भयो ।’

प्रकाशित : आश्विन १९, २०७६ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?