इराकमा सरकार विरोध प्रदर्शन जारी, ९३ जनाको मृत्यु

रासस/सिन्ह्वा

बग्दाद — इराकी राजधानी बग्दाद र इराकका अरु प्रान्तमा भडकिएको सरकार विरोधी प्रदर्शनका क्रममा मारिने व्यक्तिको संख्या ९३ जना पुगेको छ । इराकी मानव अधिकार आयोगका अनुसार शनिबारसम्ममा झण्डै ४ हजार व्यक्ति घाइते भएका छन् ।

इराकी मानव अधिकार आयोगका सदस्य अलि अल–बायाटीले बग्दाद र अरु प्रान्तका मुख्य शहरहरुमा चार दिनदेखि जारी हिंसामा सुरक्षाकर्मी समेत ९३ जनाको ज्यान गएको बताए । उनले आन्दोलनमा संलग्न झण्डै तीन हजार ९७८ जना घाइते भएको पनि जानकारी दिए । यी घाइतेमध्ये अधिकांश आन्दोलनकारी रहेका छन् । बायाटीका अनुसार हिंसात्मक झडप रोकिने स्थितिमा अझै नरहेको बताए ।


गत मंगलबारदेखि बग्दाद र मुलुकका अन्य ठूला शहरमा निरन्तर प्रदर्शन भइरहेको छ । उनीहरु बेरोजगारी बढेको, आधारभूत सेवाबाट आम जनता बिमुख रहेको तथा सरकारमा भ्रष्टाचार व्यापक बढेको भन्दै प्रदर्शनमा उत्रिएका हुन् ।


शुक्रबार बिहान इराकी प्रधानमन्त्री अदेल अब्दुल माहदीले प्रदर्शनकारीलाई शान्त रहन र वार्तामा आउन आग्रह गरेका थिए ।

प्रकाशित : आश्विन १८, २०७६ २०:४१
प्रतिक्रिया
पठाउनुहोस्

चीनको सिचुवानमा भूकम्पः एकको मृत्यु, २९ घाइते

रासस/सिन्ह्वा

छेन्दु — चीनको वाईयुयान क्षेत्रमा आएको भूकम्पमा परी एक जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार बिहान १० बजेसम्ममा अरु २९ जना घाइते भएको उद्धारकर्मीहरुले जनाएका छन् । 

घाइतेहरु सबैलाई उपचारका लागि विभिन्न अस्पतालमा भर्ना गरिएको छ । उनीहरुमध्ये दुई जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

स्थानीय समय अनुसार आइतबार बिहान ६.४२ बजे आएको उक्त भूकम्प ५.४ म्याग्नीच्युडको रहेको थियो ।

भूकम्पका कारण कम्तीमा १७ घर पूर्ण रुपमा भत्किएको र अरु २१५ घरमा क्षति पुगेको अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित : भाद्र २२, २०७६ १३:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×