मिडियाविरुद्ध कानुनी उपचार खोज्दै बेलायती राजकुमार

कान्तिपुर संवाददाता

लन्डन — अहिले बेलायती राजपरिवार सदस्यको गोपनियता सम्बन्धी अधिकार र सञ्चार जगतको प्रकाशन स्वतन्त्रताबीच अन्तर्विरोध अदालत प्रवेश गरेको छ ।

बेलायती राजकुमार हयारीले केही मिडियाले गैरकानुनी रुपमा आफ्नो 'भ्वाइस मेसेज' सुनेको आरोप लगाउँदै ब्रिटेनबाट प्रकाशित हुने सन तथा डेली मिरर समाचारपत्रविरुद्ध कानुनी कारबाही सुरु गरेका छन् । 'ड्यूक अफ ससेक्स' पनि भनिने ह्यारीले ती पत्रिकाका मालिकविरुद्ध हाइकोर्टमा मुद्दा दायर गरेको बकिंगघम राजदरबारले पुष्टि गरेको छ । सन र दि न्यूज अफ दि वल्र्ड पत्रिकाको प्रकाशन समूह 'न्यूज ग्रुप न्यूजपेपर्स' की प्रवक्ताले पनि मुद्दा दायर भएको जनाएकी छन् ।

उनकी श्रीमती मेघनले पनि मेल अखबारविरुद्ध गत साता मुद्दा दायर गरेकी थिइन् । उक्त अखबारमाथि उनले आफ्ना पितालाई लेखेको गोप्य पत्र प्रकाशित गरेको आरोप लगाइएको छ । यसै साताको सुरुमा १० प्यारा लामो वक्तव्य लेख्दै ह्यारीले ट्याबलोइड पत्रिकाहरुले आफ्नी आमा स्वर्गीय डायनाले भोगेको जस्तो पीडा दोहोरयाउन खोजेको आरोप लगाएका थिए । फोटोग्राफरहरुको झुन्डबाट जोगिन उनको चालकले तीव्र गतिमा गाडी चलाउँदा दुर्घटना भई राजकुमारी डायनाको सन् १९९७ मा पेरिसमा निधन भएको थियो ।

मिडिया वकिल मार्क स्टेपहेन्सले शाही परिवारले कानुनी उपचार खोज्ने घट्ना दुर्लभ नै भएको बीबीसीसंग बताएका छन् । पत्रपत्रिका विरुद्ध कानुनी कारवाही गर्नु उच्च जोखिमयुक्त हुने भएकाले ब्रिटिश राजपरिवारका सदस्यहरुले मिडिया विरुद्ध विरलै मात्र कानुनी उपचार खोज्ने गर्दछन् । मार्कका अनुसार, वकिल र शाही परिवारबीच कयौं सूचना आदानप्रदान गर्नुपर्ने भएकाले पनि यो उच्च जोखिम रणनीति हुन सक्छ ।

'यो विषय दुई पक्षबीचको जित हारको रूपमा भन्दा पनि कुन हदसम्मको प्रविधि प्रयोगलाई प्रकाशन स्वतन्त्रता अन्तर्गत मान्ने भन्ने कानुनी जटिलताका रूपमा बुझ्नु पर्छ' लेखक एवं अधिवक्ता गोविन्द बेल्बासे भन्छन्-'कानुनी शासन लागू गर्ने र लोकतन्त्रलाई सन्तुलित पार्ने अभिभारा अदालतको पनि हो ।' यो विषय प्रविधि विकाससंगै दिनानुदिन स्थापित मान्यताहरूमा चुनौती थपिँदै गएका कारण उब्जिएको रूपमा बुझ्छन् बेल्बासे ।


नयाँ प्रविधिबाट समाजका गतिविधिहरू थपिएसँगै कानुनी जटिलताहरू उब्जने गर्छन् । विगतमा कसैको गोपनीयता भंग गरिदिएको अवस्थामा कलमजिवी पत्रकारलाई सजाय दिएर मिडिया टाइकुनहरूलाई उन्मुक्ति दिइएको प्रसंग बेलायतमा अहिले पुनः उठेको छ ।

नेपालको परिप्रेक्ष्यमा संविधानको धारा १९ मा उल्लेखित सञ्चारको हक सीमा कति हो भन्ने विषय र नागरिकको गोपनीयता अधिकारसँग यो विषय जोडिएको बेल्बासेले बताए । बेलायती राजपरिवार विश्वमै लोकप्रिय छ । सन् २०१७ मा बेलायती महारानी एलिजावेथ बस्ने लन्डनस्थित बकिङहम प्यालेस हेर्न करिब ५० लाख आगन्तुक दरबार पुगेका बताइन्छ । शाही पर्यटनले बेलायतको अर्थतन्त्रमा वार्षिक ७४७ मिलियन डलरको योगदान गर्ने बताइएको छ ।

बेलायती राजपरिवारले पछिल्लो दशक धेरै उतारचढाव खेपेको छ । सन् १९९७ मा राजकुमारी डायनाको कार दुर्घटनामा निधन भयो । त्यतिबेला बुहारी र राजतन्त्रको भविष्यबारे पत्रपत्रिका एवं टेलिभिजनमा अनेक वहस र भविष्यवाणी भएपछि रानीले सार्वजनिक रुपमै विज्ञप्ति जारी गर्न बाध्य भएकी थिइन् ।

महाभूकम्प लगत्तै नेपाल भ्रमण गरेका राजकुमार हयारीले उत्तरी गोर्खाको लापु गाउँ विकास समितिस्थित प्रभातकिरण निमाविको पुनर्निर्माणमा सघाएका थिए । नेपाली दूतावासमा आयोजित एक समारोहमा उनले अन्नपूर्ण हिमश्रृंखला तथा बर्दिया राष्ट्रिय निकुन्जको प्राकृतिक सौन्दर्यको दृश्य कहिल्यै नभुल्ने बताएका थिए । नेपालीको न्यानो आतिथ्य पनि उनको स्मृतिमा ताजै छ ।

ह्यारी ब्रिटिस गोर्खाहरुका प्रशंसक हुन् । कुनै बेला अफगानिस्तान युद्धमा संगै रहेका हयारीले गोर्खा सैनिकहरुको दृढ चरित्र कसरी बन्छ भन्ने कुरा आफूले बुझ्ने मौका पाएको बताउँदै आएका छन् । गोर्खा सैनिकहरुसंगको सम्बन्धबाट खुसी र गर्व महसुस गर्ने गरेको उनी बताउंछन् । राजकुमार हयारीले गोर्खालीहरुको साहस, निस्वार्थ त्याग र व्यावसायिकताको प्रशंसा गर्दै आएका छन् ।

प्रकाशित : आश्विन १८, २०७६ १९:५०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

हनुमानढोकामा भित्र्याइयो फूलपाती [तस्बिरहरु]

तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — आश्विन शुक्ल सप्तमीका दिन शनिबार अपराह्न घर–घरमा स्थापना गरिएको नवदुर्गा एवं दसैं घरमा फूलपाती भित्र्याइएको छ ।प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती आज घर–घरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीकका रुपमा नौथरि फूल भित्र्याइयो ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा गरिएको दसैंघर अथवा पूजाकोठामा शुभसाइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइएको हो । शनिबार बिहान गोरखा दरबारले पठाएको फूलपाती हनुमानढोका दरबारस्थति दसैंघरमा भित्र्याइएको छ । गोरखा दरबारबाट फूलपातीसहितको डोली शनिबार काठमाडौंस्थित हनुमानढोका पठाइएको थियो । बाजागाजासहित डोलीमा राखेर ल्याइएको फूलपाती सतीपीपलबाट बा२०च ४३९४ नम्बरको गाडीमा राखेर काठमाडौं पठाइएको हो । पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका विजय गरेर हनुमानढोकाबाट राजकाज सुरु गरेसँगै गोरखा दरबारबाट फूलपाती भित्र्याउने प्रचलन सुरु भएको थियो ।नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकको रुपमा भित्र्याइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

केरामा ब्रह्माणी, दारिममा रक्तदन्तीका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आवाहन गरी पूजा गरिन्छ । यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुन् ।देवीलाई बलियो बनाउन सहायक देवीको भूमिका हुने शास्त्रीय मान्यता छ । फूलपाती भित्र्याएपछि नववटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यक्ता नपर्ने पनि प्रा डा गौतमले जानकारी दिए ।

आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि शुरु हुने नेपालीहरुको महान् चाड दसैं अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्दछ । आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रुपमा टीका थाप्न आ–आफ्नो घर फर्कने क्रम अझ तीव्र भएको छ ।

फलस्वरुप नेपालका ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटाहरुमा हालिने लिङ्गेपिङ र रोटेपिङले दसैंको रौनकतालाई अझ बढाउने गर्दछ । दसैं मनाउन राजधानीमा विभिन्न पेशा र व्यवसायमा संलग्न भई बस्दै आएका धेरै मानिस आफ्नो थातथलो फर्किएका छन् । उपत्यका सुनसान देखिन थालेको छ । सडकमा कमै सवारी गुडेका छन् । कतै जान निस्किएका यात्रु सवारी नपाएको भनी गुनासो गरेका छन् ।


प्रकाशित : आश्विन १८, २०७६ १९:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT