'भारत–पाकिस्तान युद्ध भए १२.५ करोडको मृत्यु हुन सक्छ'

एजेन्सी

वासिङ्टन — भारत र पाकिस्तानबीच परमाणु युद्ध भएमा साढे १२ करोड मानिसको मृत्यु हुने सक्ने एक अध्ययनले देखाएको छ । अमेरिकामा गरिएको एक अध्ययनले दुई मुलुकबीच परमाणु युद्ध भएकोमा त्यसको परिणाम अत्यन्तै दुःखद् हुने जनाउँदै साढे १२ करोड मानिसको अनाहकमा ज्यान जाने उल्लेख गरेको हो ।

ZenTravel

‘यति मात्रै होइन विश्वभरि जलवायु परिवर्तनजन्य कारणले भयावह अवस्था आउन सक्छ,’ अध्ययनमा भनिएको छ ।

बीबीसीका अनुसार रुट्गर्स विश्वविद्यालयका प्राध्यापक ऐलन रोबोकको सहलेखनमा तयार पारिएको अध्ययनमा करोडौं मानिसको ज्यान जाने दाबी गरिएको छ । ऐलनले भनेका छन्, ‘भारत–पाकिस्तान परमाणु युद्धले दुई मुलुकलाई मात्र होइन, विश्वका विभिन्न देशलाई प्रभावित पार्ने छ ।’ साइन्स एड्भान्टेज जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनमा २०२५ मा हुने सक्ने युद्धलाई आधार मानेर युद्धबाट हुने क्षतिको अनुमान गरिएको छ ।

कश्मीर मुद्दामा दुई छिमेकी मुलुकबीच पटक–पटक युद्ध भइसकेको छ । ‘२०२५ सम्ममा दुई मुलुकमा संयुक्त रूपमा ४ देखि ५ सयसम्म परिमाणु अस्त्र हुने छ,’ अध्ययनमा भनिएको छ । अध्ययनमा सहभागी अनुसन्धानकर्ताका अनुसार परमाणु बमहरू विस्फोट भए पनि १.६ देखि ३.६ करोड टनको खरानी बन्ने छ, जुन धुवाँका स–साना कणका रूपमा फैलिने छ ।

‘धुवाँको मुस्लो र खरानी वायुमण्डलको माथिल्लो भागमा पुग्ने छ र साताभित्रै पूरै विश्वमा फैलिन सक्छ,’ अनुसन्धानकर्ताले भनेका छन्, ‘खरानीले सौर्य विकिरणलाई सोस्ने छ र हावालाई अत्यन्तै तातो बनाइदिने छ । धुवाँ तीव्र गतिमा आकाशमा फैलिएर विश्वभरि तुवाँलो लाग्ने सक्छ ।’ अध्ययनका अनुसार यो प्रक्रियामा पृथ्वीसम्म पुग्ने सूर्यको प्रकाशको मात्रमा २० देखि ३५ प्रतिशतले कमी आउने छ । यसबाट पृथ्वीको तामक्रम २ देखि ५ डिग्री सेल्सियससम्म घट्न सक्ने अनुमान अध्ययनमा गरिएको छ । यति मात्रै होइन, विश्वभरि हुने वर्षामा १५ देखि ३० प्रतिशतले कमी आएर खडेरी र सुक्खालाई निम्त्याउन सक्ने दाबी पनि गरिएको छ ।

शोधकर्ताहरूका अनुसार त्यो अवस्था आएमा विश्वमा तरकारीको उत्पादन पनि १५ देखि ३० प्रतिशतले रोकिने तथा महासागरको प्रडक्टिभिटीमा पनि ५ देखि १५ प्रतिशतसम्म कमी आउने छ । अध्ययनमा भनिएको छ, ‘परमाणु युद्धका कारण परेको असरलाई न्यूनीकरण हुन कम्तीमा १० वर्षभन्दा बढी समय लाग्न सक्छ, जबसम्म माथिल्लो वायुमण्डवमा धुवाँ रहने छ ।’ अध्ययनकर्ताहरूले सन् २०२५ सम्म परमाणु अस्त्रको क्षमतामा पनि वृद्धि हुने छ ।

सन् १९४५ मा अमेरिकाद्वारा जापानको हिरोसिमामा खसालेको बमको आकारमा रहेको परमाणु अस्त्रको क्षमता १५ किलोटन विस्फोटक पदार्थको जति शक्तिशाली हुने पनि अध्ययनमा छ । ‘यस्तो अवस्थामा भारत र पाकिस्तानको युद्ध भएमा ५ करोड देखि १२.५ करोड मानिस मारिने छन् । यसका साथै विश्वभरि भोकमरी भएर थप मानिसको मृत्यु हुन सक्छ,’ अमेरिकी अध्ययनमा उल्लेख छ ।

प्रकाशित : आश्विन १८, २०७६ ०८:२६
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

क्यान्सरको औषधि अभाव नहुने

कान्तिपुर संवाददाता

काठमाडौँ — औषधि व्यवस्था विभागले क्यान्सर रोगमा चलाइने अत्यावश्यक औषधि अभाव हुन नदिने निर्णय गरेको छ । विभागमा शुक्रबार पदाधिकारी र औषधि आयातकर्ताबीच बसेको बैठकले निर्णय गरेको हो । 

क्यान्सरमा प्रयोग हुने औषधि घाटा खाएर पनि उपलब्ध गराउनुपर्ने विभागले औषधि आयातकर्तालाई निर्देशन दिएको छ । निर्णयमा भनिएको छ, ‘क्यान्सर रोगमा प्रयोग हुने औषधि अभावबारे चिकित्सकले गुनासो गरिरहेका छन् र मिडियामा पनि आइरहेको छन् । असोज २७ सम्म आयातकर्ताले विभागमा क्यान्सरको औषधि उपलब्ध गराउने छन् र औषधि अभाव हुने छैन ।’

विभागका निमित्त महानिर्देशक पानबहादुर क्षेत्रीले भने, ‘अबदेखि औषधि आयात र आपूर्ति चेनमा कुनै समस्या नगर्ने र समस्या आएमा विभागलाई जानकारी गराउनुपर्ने निर्देशन दिएका छौं । औषधि आयातमा कुनै समस्या भए उहाँहरूलाई हामी सघाउन तयार छौं ।’ केही महिनायता क्यान्सरका ‘फाइबएफयू’ ‘इटोपोसाइड’ ‘भिन्क्रिटिइन’ जस्ता अत्यावश्यक औषधि बिरामीले किन्न पाइरहेका थिएनन् । वीर अस्पतालमा स्टक राखिएको औषधिसमेत सकिएपछि बिरामीका आफन्त सीमावर्ती भारतीय बजारसम्म पुगेर किन्न बाध्य थिए । औषधिको मूल्य बढेको, भारतीय बजारमै औषधि नपाइएको बाहनामा क्यान्सर, मुटुरोग, मृगौलाजस्ता कडा रोगका औषधि अभाव भइरहन्छ ।

औषधि नपाइएको अवस्थामा नेपाल औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखाले ९८४१२६४१७१ मा फोन गर्ने आग्रहसमेत गरेको छ । शाखाले बडादसैंका अवसरमा बिरामीलाई हुन सक्ने आकस्मिक औषधिको अभाव पूर्तिका लागि २४ सै घण्टा हटलाइन सेवा उपलब्ध गराएको हो । संघका अध्यक्ष बद्रीप्रसाद श्रेष्ठले भने, ‘बिरामीले औषधि नपाए उनीहरूकै स्थानको मेडिकल या स्वास्थ्य संस्थामा औषधि पुर्‍याउने प्रयास गर्छौं ।’

प्रकाशित : आश्विन १८, २०७६ ०८:२१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×