प्लास्टिकजन्य फोहोरबाट इँटा निर्माण

एजेन्सीहरू

आइभरिकोस्ट — विश्वमा हरेक वर्ष ८० लाख टन प्लास्टिकजन्य फोहोर समुद्रमा पुगिरहेका छन् । वैज्ञानिक तथा वातावरणविद्का अनुसार प्लास्टिकजन्य फोहोरको कुप्रभाव जल र जमिन दुवैमा पर्न थालिसकेका छन् । मानव जीवनमा समेत यसको नकारात्मक प्रभाव देखिन थालेको छ ।

यसलाई रोक्नका लागि प्लास्टिकविरुद्ध अभियान नै सुरु भएका छन् । ‘ग्लोबल प्लास्टिक एक्सन पार्टनसिप (जीपीएपी)’ मार्फत् अभियान सञ्चालनमा छन् । यसमा सहभागी अधिकांश मुलुक प्लास्टिकजन्य फोहोरविरुद्ध आवाज उठाइरहेका छन् ।


पर्यावरणविद्हरूका अनुसार प्लास्टिकमाथि विश्वले तत्कालै प्रभावकारी नियन्त्रणको उपाय नअपनाए सन् २०५० सम्म समुद्रमा माछाभन्दा बढी प्लास्टिक हुने छन् । सन् २०१८ मा विश्व आर्थिक मञ्चको शिखर सम्मेलनमा विश्वका नेताहरूले यसबारे गम्भीर चिन्ता व्यक्त गरेका थिए । केही मुलुकहरू त यो क्षेत्रमा कामै पनि थालिसकेको छ । प्लास्टिकजन्य फोहोर र प्रदूषण कम गर्ने प्रयास विश्वभर भई रहे पनि यसलाई पूरै न्यूनीकरण वा नियन्त्रण गर्न नसकिएकै हो ।


सकारात्मक प्रयास

अफ्रिकी मुलुक आइभोरी कोस्टस्थित एउटा कारखानाले प्लास्टिक फोहोरबाट इँटा बनाएर विद्यालयहरू निर्माण गरिरहेको छ । त्यस्तै, सोलोमन द्वीपमा महिलाहरूको एउटा समूह प्लास्टिक फोहोरबाट हस्तकलाका आकर्षक सामग्रीहरू बनाएर बिक्री गरिरहेको छ । प्लास्टिकबाट हुने प्रदूषणले सबैभन्दा बढी खतरा वातावरणलाई हो ।


त्यसैले विश्वका धेरै कम्पनीहरू पर्यावरणलाई बचाउने अभियानमा पछिल्लो समय सक्रियता देखाएका छन् । ती प्रयासहरूलाई अभियानीहरूले ‘सराहनीय’ कदम भनी प्रतिक्रिया दिएका छन् । तीमध्ये केही चर्चित पेयपदार्थ उत्पादन गर्ने कम्पनीहरू अग्रस्थानमा देखिएका छन् ।


ती कम्पनीहरूले सन् २०२५ सम्म १०० प्रतिशत रिसाइकल प्याकेजिङ प्रयोग गर्ने दाबी गरेका छन् । एउटा कस्मेटिक कम्पनीले पनि प्लास्टिकको उत्पादनमा ५४ प्रतिशतसम्म कम गर्ने गरी कार्य थालिसकेको छ । अनलाइन कम्पनीहरूले पनि प्याकेजिङमा ‘सिंगल युज प्लास्टिक’ लाई बन्द गर्दै छन् ।


यसै वर्षको मार्चमा प्लास्टिकजन्य फोहोरको न्यूनीकरणबारे भएको विश्वव्यापी सम्झौतामा हस्ताक्षर गर्ने इन्डोनेसिया पहिलो मुलुक बनेको छ । महासागरहरूमा प्लास्टिक प्रदूषण फैलाउनेमा इन्डोनेसिया दोस्रो स्थानमा छ । त्यहाँको सरकारले २०२५ सम्ममा प्लास्टिकजन्य फोहोरलाई ७० प्रतिशतसम्म झार्ने प्रतिबद्धता व्यक्त गरिसकेको छ । घना र भियतनाममा प्लास्टिकजन्य फोहोरबाट बच्नका लागि ठूलो कार्ययोजना बनाउने तयारीमा जुटेका छन् । प्लास्टिक उत्पादन घनाको अर्थव्यवस्थासँग जोडिएको भए

पनि उसले न्यूनीकरणको प्रयास थाल्ने जनाएको छ ।


प्लास्टिक व्यवस्थापन

प्लास्टिक उत्पादन, उपयोग र रिसाइकलको सही व्यवस्था गर्न आवश्यक छ । प्याकेजिङमा कुल प्लाटिक उत्पादनको ४० प्रतिशत उपयोग गर्ने गरिन्छ । यसमा न्यूनीकरण गर्ने पर्याप्त ठाउँ छ । त्यस्तै, विश्वमा १६ करोड टन सिंगल युज प्लास्टिक सामग्रीको निर्माण हुने गरेको छ । यी सामग्रीलाई समुद्रमा अथवा ल्यान्डफिलमा जानबाट रोक्न सकिन्छ । यसका लागि प्याकेजिङमा प्लास्टिकको उपयोग कम गर्दै रिसाइकल प्लान्टको संख्या बढाउनुपर्ने आवश्यक रहेको वातावरणविद्हरू बताउँछन् । ३० करोड टन प्लास्टिक फोहोर हरेक वर्ष संसारभरि उत्पादन हुन्छ ।


८० लाख टन प्लास्टिक फोहोर हरेक वर्ष समुद्रमा जान्छ । विश्वमा कुल उत्पादित प्लास्टिकमध्ये ४० प्रतिशत प्याकेजिङमै उपयोग हुने गरेको विज्ञहरू बताउँछन् । प्रकाशित : आश्विन १७, २०७६ १०:५३

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

जीपीएमबीको ‘जोखिममा विश्व’ प्रतिवेदन : ‘फ्लुले ३६ घण्टामै ८ करोडको ज्यान लिन सक्छ’

एजेन्सीहरू

लन्डन — फ्लु संक्रमणबाट फैलिने रोगको प्रकोप विश्वभर ३६ घण्टामै फैलिएर ८ करोड मानिसको ज्यान लिन सक्ने चेतावनी अन्तर्राष्ट्रिय स्वास्थ्य विशेषज्ञहरूले दिएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का पूर्वप्रमुखको नेतृत्वमा रहेको विश्वका उच्च तहका विशेषज्ञसहित टोलीले उक्त चेतावनी दिएको बेलायती सञ्चारमाध्यमहरूले बुधबार जनाएका छन् ।

बुधबार सार्वजनिक गरिएको ‘ए वर्ल्ड एट रिक्स (जोखिममा विश्व)’ प्रतिवेदनमा भनिएको छ, ‘सन् १९१८ को फ्लुजस्तो महामारी हिजोआज तीव्र गतिमा फैलिन सक्छ । यसको नियन्त्रण गर्ने प्रयास हालसम्म अपर्याप्त रहेको छ ।’

शताब्दीअघि ‘स्पेनिस फ्लु’ को महामारीबाट विश्वका एक तिहाइ जनसंख्या संक्रमित भएको र ५ करोड मानिसको मृत्यु भएको थियो । यदि त्यस्तै महामारी आजको विश्वमा फैलिएमा त्यसले झनै भयावह अवस्था आउन सक्ने चेतावनी प्रतिवेदनमा छ । अन्तर्राष्ट्रिय स्वास्थ्य विशेषज्ञहरू सम्मिलित टोलीले ‘ग्लोबल प्रिपेयर्डनेस मनिटरिङ बोर्ड (जीपीएमबी)’ का लागि तयार पारेको प्रतिवेदनले उक्त भयावह अवस्थाबाट बच्न मुलुकका सरकारलाई सचेत, गम्भीर र समाधानका लागि थप उपाय अवलम्बन गर्न सुझावसमेत दिएको छ । प्रतिवेदनमा भनिएको छ, ‘इबोलाजस्तो संकटलाई मध्यनजर गर्दै प्रकोपहरूबाट बच्न गरिएको प्रयास अत्यन्तै अपर्याप्त थिए, त्यो अवस्था आज पनि छ ।’


जीपीएमबीका नेतृत्व गरिरहेका नर्वेका पूर्वप्रधानमन्त्री तथा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक डा. ग्रो हार्लेम ब्रन्डल्यान्ड र इन्टरनेसनल फेडरेसन अफ रेडक्रस र रेड क्रिसेन्ट सोसाइटीका महासचिव अलहड्ज एस साइको टोलीले तयार पारेको प्रतिवेदन बुधबार सार्वजनिक गरिएका छ । संस्थाले आफ्नो प्रतिवेदनमा अगाडि भनेको छ, ‘यसअघिको प्रतिवेदनमा बचाउका लागि सुझाएको उपायहरूलाई विश्वका नेताहरूले बेवास्ता गरेका छन् । जीपीएमबीले दिएको सुझावहरूको समीक्षा गर्दा नेताहरूले कि त विल्कुलै लागू गरेका छैनन् वा गम्भीर रूपमा नलिएको देखिन्छ ।’ प्रतिवेदनमा महामारी फैलिएको अवस्थामा त्रास र उपेक्षाको एउटा चक्रबाट गुज्रिने अनुमति दिने गरेको उल्लेख छ ।

‘तत्कालै त्यसको समाधानको प्रयास गरिए पनि दीर्घकालीन उपायको अवलम्बन अझैसम्म गरिएको पाइँदैन, यस प्रकारको क्रियाकलाप विश्वका नेताहरूका लागि अभिनय गर्ने एउटा टुल्स मात्रै बनेको छ,’ जीपीएमबीको प्रतिवेदनमा छ, ‘विश्वभरि फैलिने महामारीको खतरा वास्तविक हो । तीव्र गतिमा फैलिने संक्रमणले लाखौं मानिसको मृत्यु हुने, अर्थव्यवस्था चौपट पार्ने र राष्ट्रिय सुरक्षालाई समेत अस्थिर पार्ने क्षमता राख्छ ।’ प्रतिवेदनमार्फत् सम्भावित फ्लुको महामारी फैलिन सक्ने सूचीसहित विश्वको एउटा नक्सासमेत सार्वजनिक गरिएको छ, जसमा प्रकोपले प्रभाव पर्ने क्षेत्रहरूको कल्पना पनि गरिएको छ । त्यसमा फ्लुको नाम पनि उल्लेख छ । यसमा फैलिन सक्ने नयाँ र पुरानो संक्रमणहरूसमेत समेटिएका छन् । पूर्वमा इबोला, जिका र निपा भाइरसलगायत पाँच प्रकारका फ्लू थिए । पछि वेस्ट नील भाइरस, एन्टिबायोटिक प्रतिरोध, दादुरा, एक्युट फ्लासिड मायलाइटिस, पित्त ज्वरो, डेंगु, प्लेग र ह्युमन मंकिपक्ससहित थपिए ।

प्रतिवेदनले सन् १९१८ को ‘स्पेनिस फ्लु’ महामारीबाट भएको क्षतिको चर्चा व्यापक रूपमा गरिएको छ । भनिएको छ, ‘अन्तर्राष्ट्रिय यात्रामा आधुनिकताले रोग तीव्र रूपमा फैलिन सहयोग गरेकै छ । दिनहुँ ठूलो संख्यामा मानिस विमानबाट विश्वका विभिन्न मुलुकमा ओहोरदोहर गर्छन, वायुजन्य रोग/संक्रमण अब विश्वभरि ३६ घण्टाभन्दा कम समयमै फैलिन सक्छ । यसले ५ करोडदेखि ८ करोड मानिसको ज्यान लिन सक्छ ।’ जीपीएमबीको रिपोर्टमा चेतावनी दिँदै भनिएको छ, ‘५ देखि ८ करोड मानिसको मृत्यु श्वासप्रश्वासबाट फैलिने र घातक महामारीको रूप लिन सक्ने कुरो एउटा वास्तविक खतरा हो । विश्वको अर्थव्यवस्थाको झन्डै पाँच प्रतिशतलाई हानि पुर्‍याउन सक्छ ।

यसले विश्वभरि महामारीको खतरनाक अवस्था आउने छ, जसबाट ठूलो जनधनको क्षति, अस्थिरता र असुरक्षा पनि पैदा गर्न सक्छ । तर विश्व यी समस्याबाट बच्नका लागि अझै तयारी गरेको देखिन्न ।’ विशेषज्ञहरूको टोलीले एउटा महामारीले धेरै मुलुकको स्वास्थ्य प्रणाली, खासगरी गरिब मुलुकलाई धराशायी बनाउन सक्ने बताएका छन् । विश्व बैंकका कार्यकारी प्रमुख अधिकारी र प्यानेलका सदस्य एक्सेल भान ट्रोट्सनवर्गले भने, ‘गरिब र संक्रामक रोग बढिरहेको मुलुकलाई सहयोग गर्दै समाधानको उपायतर्फ उन्मुख हुनुपर्ने बेला आइसकेको छ ।’ अन्तर्राष्ट्रिय समुदायले संक्रमण/महामारी नियन्त्रणभन्दा बाहिर जानबाट रोक्ने सुरक्षाका उपायहरूबारे प्रतिवेदनहरू तयार गर्दै अघि बढ्नुपर्ने उनले बताए ।

डब्लूएचओका महानिर्देशक ट्रेड्रोन एडनोम घेब्रेयेससले विश्वका सरकार प्रमुखलाई आग्रह गर्दै भनेका छन्, ‘विभिन्न समयमा मुलुकहरूमा फैलिएको वा फैलिने गरेको महामारी/प्रकोपले हामीलाई पाठ सिक्न सहयोग गरिरहेको छ । त्यसैले वर्षा हुनुभन्दा पहिले हामीले आफ्नो छतलाई मर्मत गर्न सक्नुपर्छ ।’ उनले यसका लागि चाहिने रकमको बन्दोबस्त सरकारहरूले गर्नुपर्ने बताए ।

विभिन्न समूह राष्ट्र ‘जी–७’, ‘जी–२०’ र ‘जी–७७’ मुलुकहरूले बाँकी विश्वले अनुसरण गर्न सक्ने खालको मोडेलको भूमिका निर्वाह गर्नुपर्ने उनले बताए । उनले भनेका छन्, ‘हामी सबै खराब दिनहरूबाट बच्नका लागि तयार हुनै पर्छ । मुलुकहरूले महामारीबाट बच्ने उपायका लागि बढी लगानी गर्नुपर्छ । संयुक्तराष्ट्र संघले अन्तर्राष्ट्रिय रूपमा थप प्रयास गर्नुपर्ने टड्कारो भइसकेको छ ।’ डब्लूएचओले यो वर्षको सुरुमा भनेको थियो, ‘फ्लुको एउटा अर्को
महामारी जुन वायुजन्य भाइरसका कारण हुन्छ, त्यसबाट बच्नका लागि मुलुक तयारी गर्नुपर्छ । ’

प्रकाशित : आश्विन २, २०७६ ०९:०१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×