१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

तालिवान विद्रोही समर्थन जुटाउँदै

एपी

इस्लामाबाद — अफगान विद्रोही समूह तालिवानले विभिन्न मुलुकसंग वार्ताका लागि समर्थन जुटाउने प्रयासलाई तीव्रता दिएको छ । त्यसैक्रममा उसले एक उच्चस्तरीय प्रतिनिधिमण्डल पाकिस्तानको राजधानी इस्लामाबाद पठाउने घोषणा गरेको छ । रुस, चीन, पाकिस्तान र इरानको भ्रमण गर्ने यसअघिकै घोषणाबमोजिम प्रमण्डललाई पाकिस्तान पठाउन लागिएको हो ।

महिनाअघि अमेरिकासँगको वार्ता एकाएक भंग भएपछि तालिवान समूहले अफगानिस्तानमा भीषण हमला गर्नुका साथै विभिन्न देशसँग वार्ताका लागि समर्थन जुटाउने कार्यलाई निरन्तरता दिएको छ ।


तालिवान प्रवक्ता सुहेल साहिनका अनुसार तालिवानका सह–संस्थापक तथा कतारको दोहास्थित राजनीतिक कार्यालयका प्रमुख मुल्लाह अब्दुल घानी बरादरले ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्ने छन् । प्रतिनिधिमण्डलले इस्लामाबादमा पाकिस्तानी उच्च अधिकारीसाग वार्ता गर्ने कार्यक्रम छ ।


पाकिस्तानी सञ्चारमाध्यमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अफगान विशेषदूत जाल्मे खलिलजाद पाकिस्तानी अधिकारीसँग वार्ताका लागि इस्लामाबादमा रहेको खबर सार्वजनिक गरेसँगै तालिवान समूह पनि पाकिस्तान भ्रमणमा आएको छ । पाकिस्तानको विदेश मन्त्रालय वा पाकिस्तानस्थित अमेरिकी राजदूतावासले तालिवानको भ्रमण र खलिलजादका विषयमा केही टिप्पणी गरेका छैनन् । पाकिस्तानले अमेरिकासँग कुनै किसिमको सहमति गर्नुअघि काबुलसँग वार्ता गर्न तालिवानलाई मनाउने प्रयत्न जारी राखेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले अफगानिस्तानको काबुलमा तालिवानले गराएको कार बम विस्फोटमा एक अमेरिकी सैनिकको मृत्यु भएसँगै तालिवानसँगको शान्तिवार्ता समाप्त भएको भन्दै वार्ता नगर्ने घोषणा गरेका थिए ।


तालिवानीले वार्ताको टेबुलमा फाइदा उठाउन खोजेको आरोप लगाउँदै उनले यसको अमेरिकाले बदला लिने संकेतसमेत दिएका थिए । वार्ता रद्द भएको घोषणापछि राष्ट्रपति ट्रम्पले अफगानिस्तानबाट तत्काल ५ हजार सैनिक कटौती गर्ने प्रस्ताव पनि अन्योलमा परेको थियो । हाल अफगानिस्तानमा १३ देखि १४ हजार अमेरिकी सैनिक तैनाथ छन् । झन्डै १८ वर्ष अफगानिस्तानमा रहेको अमेरिकी सेनाले हाल अफगानी सेनालाई तालिम, परामर्श र हवाई सेवा प्रदान गरिआएको छ । अल कायदाले सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा आतंकवादी हमला गरेलगत्तै अमेरिकाले अफगानिस्तानमा आक्रमण गरी सेना पठाएको थियो । अफगानिस्तानमा तत्कालीन तालिवानी सरकारले अल कायदालाई आश्रय दिएको अमेरिकी आरोप छ ।


ट्रम्प प्रशासनले हाल अफगानिस्तानमा अमेरिकी सैनिक संलग्नता अन्त्य गर्न चाहेको छ । यसै सिलसिलामा सन् २०१८ देखि तालिवानसँग अमेरिकी विशेषदूत जाल्मे खलिलजादको नेतृत्वमा वार्ता जारी छ ।


अमेरिका र तालिवानबीच हुने भनिएको सम्झौतामा अफगानिस्तानबाट अमेरिकी सेना चरणबद्ध रूपमा फिर्ता हुने, अफगानिस्तानलाई जिहादीको सुरक्षित आश्रयस्थल बन्न नदिइने, अफगानिस्तान सरकारसँग वार्ता गर्ने तथा अन्तत: युद्धविराम गर्ने बुादा रहेको बताइएको थियो ।


तालिवान समूहका मुख्य मध्यस्थकर्ताले संयुक्तराज्य अमेरिकासँग ‘वार्ताको ढोका’ अझै खुला रहेको बताएर वार्ताको सम्भावना जीवितै रहेको संकेत दिएका छन् ।

प्रकाशित : आश्विन १६, २०७६ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?