कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पेरूमा संसद् विघटन

(एएफपी)

लिमा, पेरू — पेरूमा संसद् विघटन गरिएको छ । राष्ट्रपति मार्टिन भिजकाराले सोमबार संसद् विघटन गरी ताजा निर्वाचनका लागि आह्वान गरेका छन् । मुलुकमा लामो समयदेखि जारी संस्थागत संकटकै बीच राष्ट्रपतिले संसद् भंगको घोषणा गरेका हुन् । 

राष्ट्रपति भिजकाराले संसद्ले भ्रष्टाचार रोक्न ल्याइएका सुधारका कार्यमा अवरोध गरेको तथा सर्वोच्च अदालतमा नियुक्त हुने न्यायाधीशको छनोटको विधि परिवर्तन गर्न नचाहेको भन्दै संसद्को आलोचना गर्दै आएका थिए । यी दुई विषयमा राष्ट्रपति र संसद्बीच विवाद र असमझदारी रहँदै आएको थियो ।


टेलिभिजनमा राष्ट्रका नाममा सम्बोधन गरेको केहीपछि नै संसद्ले राष्ट्रपतिलाई नै एक वर्षका लागि निलम्बित गर्नेगरी मतदान गरेको थियो । राष्ट्रपतिमा ‘नैतिक अक्षमता’ रहेको भन्दै संसद्ले उपराष्ट्रपति मर्सिडेज आराओजलाई कार्यवाहक राष्ट्रप्रमुखमा मनोनयन गरेको छ । संसद्का सभामुख पेड्रो ओलेचाले संसद्को बैठक शुक्रबारका लागि डाकिएको र त्यसले राष्ट्रपति भिजकारालाई पदबाट हटाउने जनाए । ‘हामी अहिले सत्ताविद्रोहको अवस्थामा छौं,’ विपक्षी सांसद जोर्ज डेल कास्टिल्लोले भने, ‘मुलुकको सशस्त्र फौज र प्रहरी राजनीतिकर्मीको यस खेलबाट टाढै रहने मेरो विश्वास छ ।’


पछिल्लो घटना पेरूमा वर्षौंदेखि जारी राजनीतिक विवादकै एक शृंखला भएको विश्लेषकहरूले बताएका छन् । राष्ट्रपतिमा निर्वाचित भएयता भिजकाराले संसद्सँग पटकपटक संघर्ष गर्नुपरेको थियो । संसद्‌मा केइकी फुजिमोरी नेतृत्वको पपुलर फोर्स पार्टी बहुमतमा छ । उनी आफैं पनि भ्रष्टाचारको आरोपमा जेल जीवन बिताउँदै आएका छन् ।

प्रकाशित : आश्विन १५, २०७६ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?