राष्ट्रिय दिवस मनाउँदै चीन, अहिलेसम्मकै ठूलो सैन्य परेड

लक्ष्मी लम्साल

बेइजिङ — जन गणतन्त्र चीन स्थापनाको ७०औं वार्षिकोत्सव अक्टोबर १ तारिख मंगलबार बेइजिङस्थित थ्यानआनमन चोकमा आयोजना गरिएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष, राष्ट्रपति सी चिनफिङले समारोहलाई सम्बोधन गरे। तत्पश्चात् सैनिक परेड प्रस्तुत गरिएको थियो।

बितेका ७० वर्षदेखि चिनियाँ जनताले सँगसँगै मिलेर अथक प्रयास गरी विशाल उपलब्धिहरु प्राप्त गरेको भन्दै सीले कुनै पनि शक्तिले चीनको स्थान तथा चिनियाँ जनता र चिनियाँ राष्ट्रको अघि बढ्दै गरेको पाइलालाई रोक्न नसक्ने बताए।

सीले चिनियाँ जातिको स्वतन्त्रता र जनताको मुक्तिका साथै मुलुकको समृद्धि र जनताको सुखका लागि अमूल्य योगदान गरेका क्रान्तिकारी पूर्खा र शहीदहरूको सम्झना गर्दै चीनको विकासमा समर्थन गर्ने विभिन्न मुलुकहरूलाई पनि धन्यवाद दिए।

समाजवादी चीन विश्वको पूर्वी भागमा उभिएको र कुनै पनि शक्तिले चीनको स्थानलाई हल्लाउन नसक्ने भन्दै सीले कुनै पनि शक्तिले चिनियाँ जनता र चिनियाँ जातिले अगाडि सारेको पाइलालाई बिथोल्न नसक्ने अठोट गरे। जन गणतन्त्र चीनको स्थापनापछि चीनको दुखद् अवस्थालाई सुखमा परिणत गर्दै पुनः उत्थानको बाटोमा हिंडिरहेको उनले बताए। उनले भने, ‘७० वर्षयता चीनका विभिन्न जातिका जनताले आफ्नो मनलाई एकीकृत गरेर विश्वका लागि आकर्षक उपलब्धि हासिल गर्न सकिएको हो।’

चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वलाई सबैले पच्छ्याउनुपर्ने भन्दै सीले जनतालाई मुख्य मानेर चिनियाँ विशेषतायुक्त समाजवादी बाटोमा अघि बढ्न कम्युनिष्ट पार्टीको आधारभूत विचारधारा, आधारभूत बाटो, आधारभूत रणनीतिको पालनासँगै निरन्तर रुपमा जनताले सुखमय जीवनको अपेक्षालाई पूरा गर्ने, नयाँ ऐतिहासिक उपलब्धि हासिल गर्नेतर्फ अग्रसर हुनुपर्ने बताए।

चीनले शान्तिपूर्ण एकीकरण, एक देश दुई व्यवस्थामा बमोजिम हङकङ तथा मकाउको स्थायित्व, समृद्ध र स्थिरतामा जोड दिएर थाइवान जल डमरुका दुई किनाराबीचको शान्तिपूर्ण विकासलाई अघि बढाउनुपर्ने कुरामा पनि सीले जोड दिए। सीले चीन निरन्तर शान्तिपूर्ण विकासको बाटोमा अघि बढ्ने र आपसी हित तथा साझा विजयसँगै खुला रणनीतिमा रहने साथै विश्वका विभिन्न मुलुकसँग मिलेर मानव हितमा निरन्तर लागिरहने दृढता पनि गरे।

हिजो मानव जातिको इतिहासमा चिनियाँहरू लेखिएको भन्दै सीले आज अरबौं जनताको हातमा सिर्जना रहेकाले चीनको भविष्य उज्यालो हुने बताए। एकीकृत भएर जन गणतन्त्र चीनको विकासलाई सुदृढ पार्ने, 'दुई वटा सय वर्ष'को लक्ष्य तथा चिनियाँ राष्ट्रको पुन :उत्थानको चिनियाँ सपनालाई पूरा गर्न अथक प्रयास गर्न पनि सीले आह्वान गरे।

भव्य सैन्य परेड

चीनले मंगलबार अहिलेसम्मकै भव्य सैनिक प्रदर्शनी गरेको छ। राष्ट्रिय शक्ति प्रदर्शनको रूपमा चीनले वर्षेनी सैन्य परेड देखाउने गरेपनि यो सैनिक परेड अहिलेसम्मकै सबैभन्दा ठूलो भएको चिनियाँ सञ्चारमाध्यमहरूले लेखेका छन्। यसलाई चिनियाँ जन सेनाको समग्र शक्तिमाथिको परीक्षणका रूपमा पनि हेरिएको छ। बेइजिङको छाङ आन सडकमा पंक्तिवद्ध भएका सेनाहरूले राष्ट्रपति सी अभिवादन गरेपछि सैन्य परेड शुरू भएको थियो। चीनले बनाएको लालझण्डा मार्काको गाडीमा बसेर छाङआन सडकमा चिनियाँ सेनाले वर्गाकार शैली बनाएका सेनाको अभिवादन ग्रहण गरेका थिए।

सैनिक परेडमा १५ हजार सैनिकहरुले भाग लिएका थिए भने १६० वटा भन्दा बढी विभिन्न किसिमका विमानहरु र ५८० वटा भन्दा बढी सैनिक उपकरणहरुको प्रदर्शनी गरियो।

चीनले ७०औं वार्षिकोत्सवबाट चिनियाँ विकासको नयाँ युगमा प्रवेशको सन्देश दिएको छ। विश्वमा चीनको प्रभावकारिता यसअघि पहिले यति गहन ठानिएको थिएन। चीनप्रतिको विश्वको ध्यानाकर्षण यसपटक झन गहिरो बन्दै गएको छ।

प्रकाशित : आश्विन १४, २०७६ १३:४९
प्रतिक्रिया
पठाउनुहोस्

सभामुख कृष्णबहादुर महराद्वारा राजीनामा

कान्तिपुर संवाददाता

काठमाडौँ — सभामुख कृष्णबहादुर महरामाथि संसद् सचिवालयमा कार्यरत एक महिलाले यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि उनले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

सभामुख महराले उपसभामुखलाई सम्बोधन गर्दै राजीनामा पत्र पठाएका छन्।

'सोमबारदेखि विभिन्न सञ्चार माध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजकै मितिदेखि छानबिन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको छु,' पत्रमा भनिएको छ।

सभामुख महरामाथि संसद् सचिवालयमा कार्यरत एक महिलाले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्।सचिवालयमा कार्यरत ती महिला कर्मचारीले आइतबार राति आफ्नै निवासमा आएर सभामुख महराले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।

आफूलाई दुर्व्यवहार गरेको घटनाबारे प्रहरीलाई जानकारी गराएपछि सभामुख महरा निवासबाट बाहिरिएको उनको भनाइ थियो ।

त्यसकै आधारमा सोमबार साँझ अनलाइनहरूमा समाचार आएपछि सभामुख महराका प्रेस सल्लाहकार डिल्ली मल्लले राति विज्ञप्ति जारी गरी खण्डन समेत गरेका थिए ।

यौन दुर्व्यवहार भोगेको बताउने महिलाले आफूलाई महराले कुटपिटसमेत गरेको आरोप लगाउँदै आफ्नो तीनकुनेस्थित भाडाको फ्ल्याटमा महराको चस्माको टुक्रा, जुत्ताको भाग आदि छुटेको दाबी गरेकी छन् । यसबाहेक सभामुखसँग त्यहाँ आउनुअघि र पछि पनि फोन र भाइबरमार्फत कुराकानी भएको उनको भनाइ छ ।

प्राविधिक छानबिनबाट यसको सत्यता बुझ्न गाह्रो हुन्न । तर प्रहरीले उजुरी नआएको बताउँदै यसबारे औपचारिक अनुसन्धान गरेको छैन ।

मंगलबार बिहानप्रधानमन्त्री निवास बालुवाटारमा आकस्मिक रुपमा बसेको नेकपाको सचिवालय बैठकले सभामुख कृष्णबहादुर महरालाई सभामुख र सांसदबाट राजिनामा गर्न सुझाव दिने निर्णय गरेको थियो। त्यसपछि सभामुखको राजीनामा आएको हो।


प्रकाशित : आश्विन १४, २०७६ १३:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्