कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साउदी सडकमा थुक्न रोक

रोयटर्स

रियाद — साउदी अरब सरकारले सार्वजनिक स्थलमा थुक्न, आवास क्षेत्रमा चर्को आवाजमा गीत/संगीत सुन्न र सार्वजनिक ठाउँमा घरपालुवा जनावरलाई मलमूत्र त्याग गराउन रोक लगाएको छ । 

साउदी सडकमा थुक्न रोक

यीसहित सरकारले १९ प्रकारको शिष्टतालाई सामाजिक नियमका रूपमा घोषणा गरेको छ । यसको उल्लघंन गरिए जरिवानासमेत तिर्नुपर्ने जनाएको छ । विदेशी पर्यटकलाई भित्र्याउन प्रयास जारी रहेकै बेला सरकारको यो निर्णय आएको हो ।


यौन व्यवहारलाई पनि नैतिक आचरणविपरीतको व्यवहार भनिएको छ । साउदी अरबका आन्तरिक मामिला मन्त्रीले जारी गरेको विज्ञप्तिमा ‘नवाजको सूचना दिन वा नवाजका क्रममा चर्को आवाजमा गीत सुन्नु’ लाई पनि सामाजिक नियम/संहिताको उल्लंघनको सूचीमा राखेको छ ।


अन्य दण्डनीय अपराधहरुमा जथाभावी फोहोर फाल्नु, नश्लवादलाई बढावा दिने वाक्य वा तस्बिर भएको लुगा लगाउनु, प्रतिबन्धित पदार्थको सेवन गर्नु, पोर्नोग्राफिक सामग्री सामाजिक सञ्जालमा राख्नु वा हेर्नु, पंक्तिमा बसेकाहरुभन्दा अगाडि जान खोज्नुलगायत क्रियाकलापलाई गैरकानुनी मानिएको छ ।


मन्त्रालयका अनुसार रोक लगाइएका गतिविधि गरेको पाइएमा ५० देखि तीन हजार रियालसम्म जरिवाना तिर्नुपर्ने छ । पछिल्लो समय घोषित सामाजिक नियम/संहितामा पहिलेदेखि नै केही विषयहरु समेटिएका थिए ।

तर, जरिवानाको प्रावधानचाहिं पहिलोचोटि कार्यान्वयनमा आएको छ । यसअघि यस्ता गतिविधि गर्ने व्यक्तिबारे कसैले गुनासो गरेको अवस्थामा निर्णयको जिम्मा न्यायाधीशलाई थियो । यो नियम/संहिता शनिबारदेखि लागू भएको छ ।

प्रकाशित : आश्विन १३, २०७६ २१:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?