कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

भारतको बिहार-यूपीमा बाढी : मृतक संख्या ८० नाघ्यो

सुरेशराज न्यौपाने

नयाँदिल्ली — चार दिनदेखि लगातार परेको मुसलधारे पानीले नदीनालामा बाढी आउँदा नेपालका सिमावर्ती भारतीय राज्य बिहार र उत्तरप्रदेश (यूपी) मा ८० भन्दा बढीको ज्यान गएको छ । लाखौं मानिसको जनजीवन प्रभावित भएको छ । सोमबार बिहानसम्मको अपडेटअनुसार मृतकको संख्या अझै बढ्नेसक्ने भारतीय मिडियाले जनाएका छन् ।

भारतको बिहार-यूपीमा बाढी : मृतक संख्या ८० नाघ्यो

बिहारमा पछिल्लो चौबिस घण्टामा मात्रै २५ जनाको मृत्यु भएको छ । भागलपुरमा मात्र एउटा मन्दिरको पर्खाल भत्किँदा तीन जनाको ज्यान गएको छ । पटना नजिकको दानापुरमा सडकमा गुडिरहेको अटोरिक्शामाथि एउटा ठूलो रुख ढल्दा त्यसमा सवार चारजनाको मृत्यु भएको छ ।


मुसलधारे पानी र त्यसपछि आएको बाढीका कारण विशेषगरी पटना, भागलपुर, चम्पारण, दरभंगा, बेगुसराय, सितामढी, गया, भोजपुरलगायतका ठाउँहरू अत्यधिक प्रभावित भएका छन् । राजधानी पटनाको अधिकांश भाग जलमग्न छ । घर, स्कूल, अस्पतालमा घुँडासम्म हुने गरी पानी पसेको छ । पटनाका सडकहरूमा डुंगा चलाउन मिल्ने गरि जलमग्न छन् । बाढीका कारण रेलसेवा पुरै अवरुद्ध भएको छ । स्कूल बन्द गरिएका छन् । पटनामा आगामी मंगलबारसम्मका लागि सबै शैक्षिक संस्थालाई बन्द गर्ने घोषणा गरिएको छ ।


उद्धारका लागि बिहारमा मात्र राष्ट्रिय विवाद सुरक्षा बलका १८ वटा टोली खटाइएको छ । पटनास्थित जलवायु तथा मौसम पूर्वानुमान विभागले सोमबारसम्म भारी वर्षा हुने जनाएको छ । र, त्यही भएर बिहारका पटनालगायतका स्थान र युपीका पूर्वी जिल्लाहरूमा रेडअलर्ट जारी गरिएको छ ।


बिहारको छिमेकी राज्य युपीमा पनि अत्यधिक वर्षाका कारण विशेषगरी राज्यका पूर्वी भेगको जनजीवन अस्तव्यस्त भएको छ । अत्यधिक वर्षाका कारण भएका विभिन्न घटनामा परी आइतबारसम्म युपीमा मात्र ८० जनाभन्दा बढीको मृत्यु भइसकेको छ । गएको चार दिन यता विशेषगरी प्रयाग (इलाहावाद) र वाराणासीमा अत्यधिक वर्षा भएको भारतीय सन्चारमाध्यमहरूले जनाएका छन् । शुक्रवार युपीमा औसतभन्दा १७ सय प्रतिशत बढी वर्षा भएको बताइएको छ । मुसलधारे वर्षापछि आएको बाढीले यूपीका प्रयाग र वाराणासीबाहेक गोरखपुर, अमेठी, लखिमपुर, फतेहपुर, सुल्तानपुरमा जनजीवन अस्तव्यस्त बनाएको छ ।


त्यसैगरी अत्यधिक वर्षाकै कारण भएका विभिन्न दुर्घटनामा परी राजस्थान र मध्यप्रदेशमा ६ जना र जम्मुकशिमरमा एक जना मृत्यु भएको छ । मुसलधारे पानीका कारण शनिवार राजस्थानको उदयपुरमा एउटा स्कूलको पर्खाल भत्किँदा तीन जना विद्यार्थीको जान गएको थियो । साथै उत्तरखण्डको हेमकुण्ड साहिब दर्शन गरेर फर्कँदै गरेरका छ जना तिर्थालु चढेको गाडीमा तेहरी जिल्लामा अत्यधिक वर्षाका कारण सडक माथिबाट ठूलो ढुंगा खस्दा त्यसमा सवार सबैको मृत्यु भएको भारतीय सन्चारमाध्यमहरूले जनाएका छन् ।

प्रकाशित : आश्विन १३, २०७६ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?