चीनका सहरहरू झकिझकाउ

लक्ष्मी लम्साल

बेइजिङ — जनगणतन्त्र स्थापनाको ७०औं वार्षिकोत्सवका लागि चीनको राजधानी बेइजिङ लगायत सहर यतिखेर झकिझकाउ भएका छन् ।

बेइजिङस्थित चिनियाँ प्रशासनिक केन्द्र थ्यानआनमन् चोकमा आउँदो मंगलबार अक्टोबर १ अर्थात् राष्ट्रिय दिवस मनाइँदैछ। यतिखेर बेइजिङ लगायत चीनका अन्य प्रान्तीय सहरहरूमा पनि सडक किनारमा फूलको कलात्मक सजावट देखिएको छ भने चिनियाँ नयाँ वर्ष वसन्त चाडमा जस्तै झुण्ड्याइने परम्परागत राता बत्तिहरूले सहरको रात्रिकालीन दृष्य झिलिमिलि बनाइएको छ।

चीनले यस दिवसलाई राष्ट्रिय दिवस मात्रै नभएर चिनियाँहरूको मातृभूमि र राष्ट्रको सुखद् भविष्यको रूपमा चित्रण गर्न लागेको छ । चिनियाँहरूले शून्य अंकमा हुने दिवसलाई भव्य रूपमा मनाउने गर्दछन् । अन्त्यमा शून्य आउने पूर्णांक वार्षिकोत्सवलाई महत्व दिनुका पछाडि कुनै वैज्ञानिक कारण नभए पनि चिनियाँहरूले एउटा पूर्णताको रूपमा यसलाई लिने गर्दछन्।

बेइजिङमा सर्वसाधारणले स्वत:स्फूर्त भाग लिने र चिनियाँ कम्युनिष्ट पार्टीका साथै चीन सरकारले पनि सैन्य प्रदर्शनी लगायत अनेक गतिविधि तर्जुमा गरेको छ। सरकारले गर्ने बृहत् प्रदर्शनीका लागि विगत केही दिनदेखि बेइजिङका सडकमा तथा आकाशमा प्रायःजसो रिहर्सलका दृश्यहरू देख्न सकिन्छ।

चीनले गरिबीविरूद्ध थालेको युद्ध तथा विश्वमा बढ्दै गएको आफ्नो स्वाभिमानलाई रंगीन बनाउने उद्देश्यले बेइजिङमा १० पार्क र १०० बगैंचाको पुष्पमय अवधारणा ल्याएको छ। बेइजिङमा रहेका दस पार्कको शैलीअन्तर्गत टेम्पल अफ हेभन पार्क, थाओरानथिङ पार्क, गार्डेन एक्स्पो लगायतमा विशेष रंगीचगी प्रदर्शनी समेटेको छ भने १०० बगैंचाअन्तर्गत बेइजिङ महानगरका विभिन्न स्थानमा सामूहिक र वातावरणीय सौन्दर्य झल्किने गतिविधिहरू समेटिनेछन्। यस अवधिमा पार्कहरूमा बागवानी कोपिलाको भावार्थले सजाइएका छन्।

अक्टोबर पहिलो साता नै हरियाली, पर्यावरण र पुष्पमेलाका गतिविधिले बेइजिङलाई रंगीन बनाउने छ भने सोही अवधिमा विश्व बागवानी एक्स्पोको पनि समापन गरिनेछ। साता लामो विदामा देशभित्र र बाहिर जाने पर्यटकहरूले आआफ्नो ट्राभल योजना बनाइसकेका छन्।

बेइजिङमा रहेका हरेक सरकारी कार्यालयहरू स्वच्छ सफा बनाउँदै फूलका सजावटले भरिएका छन्। हरियाली, समुज्ज्वलता र स्वच्छताका लागि राष्ट्रिय झन्डा, ब्यानर, बाहिरी तथा भित्री साजसज्जा पनि उच्च देखिएको छ। चिनियाँ सञ्चारमाध्यमहरूमा ‘म र मेरो मातृभूमि’ भन्ने भावनाका साथ निरन्तर देशभित्र र बाहिर रहेका चिनियाँहरूका संघर्षका गाथा प्रस्तुत भइरहेका छन्। सन् १९४९ पछि जन्मिएका चिनियाँ नागरिक जो ‘च्येन क्वो’ अर्थात् देशको निर्माण भन्ने नाम भएका छन्, उनीहरूको विदेशस्थित निर्माण कम्पनीमा काम गर्दै गर्दाका देशप्रेम पनि उजागर गरिएको छ।

सञ्चारमाध्यमहरूमा नयाँ चीनका प्रथम अन्तर्राष्ट्रिय उद्धार टोलीले सन् २००१ देखि व्यवसायिक भूकम्प उद्धार टोली औपचारिक रूपमा गठन भएर अन्तर्राष्ट्रय भूमिमा गरिएका उल्लेखनीय कामको व्याख्या गरिएको छ। नेपालसहित अल्जेरिया, हैटी लगायत २० भन्दा बढी क्षेत्रमा भूकम्पीय उद्धार तथा सहायता गरेको कुरा चिनियाँ सैन्य क्षेत्रको गौरवको रूपमा लिइएको छ। सन् २००९ मा राष्ट्रसंघको अन्तर्राष्ट्रिय गम्भीर उद्धार टोलीमा चीन विश्वको बाह्रौं र एसियाको दोस्रो अन्तर्राष्ट्रिय टोली बनेको थियो।

चीनका विभिन्न प्रान्तहरूमा राष्ट्रिय दिवसको कलात्मक तथा मनोरम प्रदर्शनीको लागि होडबाजी नै देखिन्छ। यसबीचमा चीनको उदय र आगामी बाटोका सन्दर्भमा बेइजिङले श्वेतपत्र सार्वजनिक गरेको छ। ७० वर्षमा चीनको विकासको मुख्य कारकतत्व भनेको चिनियाँ कम्युनिष्ट पार्टीको सुदृढ नेतृत्व र चिनियाँ विशेषतायुक्त समाजवादलाई औंल्याइएको छ। विभिन्न धम्की र चुनौतीका बावजुद चीनले अन्तर्राष्ट्रिय समाजका लागि योगदान गर्दै जाने अठोट गरेको छ। चीनको चमत्कार विश्वका लागि अवसर भएको ठहर चीनले गरेको छ। चाइना मिडिया ग्रुपका अनुसार चीनले पहिलो पटक सिनेमा हलमा फोर के उच्च प्रणाली संकेतमार्फत् प्रत्यक्ष प्रसारण गर्ने घोषणा गरेको छ।

चिनियाँ राज्यपरिषद सूचना कार्यालयले यसअघि नै राष्ट्रिय दिवसको तयारीबारे जानकारी दिएअनुसार संसारकै सबैभन्दा ठूलो थ्यानआनमन स्क्वायरमा अहिलेसम्मकै बृहत् सैन्य कवाज (परेड) देखाइने छ। चिनियाँ केन्द्रीय सैन्य आयोग, संयुक्त स्टाफ डिपार्टमेन्टका उपनिर्देशक मेजर जनरल छाइ च् च्युनले भने, ‘राष्ट्रिय दिवसमा थ्यानआनमन स्क्वायरमा सैन्य परेडका साथै उन्नत (एड्भान्स) हतियार र सैन्य उपकरण पनि प्रदर्शन गरिनेछ।’

यस वार्षिकोत्सवमा चीनले जापानी अतिक्रमणविरूद्ध चिनियाँ जनताको विजयलाई पनि प्रतिबिम्बित गर्नेछ। ७० वर्षसम्मको नयाँ चीनको चित्र देखाउनुका साथै १८औं राष्ट्रिय जनकांग्रेसका हाइलाइट्स्, सी चिनफिङ केन्द्रित पार्टी तथा सेनाको प्रगति, चिनियाँको संघर्ष, निर्मित परियोजनाहरू, चिनियाँ सपनाको अनुभव, ऐतिहासिक परिवर्तनका उपलब्धि तथा परिवर्तनहरू देखाइनेछ।

अक्टोबर १ को कार्यक्रममा राष्ट्रपति सी चिनफिङले मन्तव्य दिनेछन्। विभिन्न चिनियाँ जातजातिले सांस्कृतिक प्रदर्शनी गर्नेछन् भने ग्रेट हल अफ द पिपुल्समा चीनका लागि महत्वपूर्ण योगदान गरेका विदेशीहरू विभूषित हुनेछन्। त्यसअघि सेप्टेम्बर ३० सोमबार थ्यानआनमन स्क्वायरमा शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ ।

प्रकाशित : आश्विन १२, २०७६ १२:४७
प्रतिक्रिया
पठाउनुहोस्

आजबाट हिमालयन आर्ट फेस्टिभल सुरु, २५ लाखसम्मको पेन्टिङ प्रदर्शनीमा

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौंको नेपाल आर्ट काउन्सिल बबरमहलमा १ सय ५० जना कलाकारका २ सय वटा पेन्टिङहरु प्रदर्शन गरिने हिमालयन आर्ट फेस्टिभल आइतवारदेखि सुरु भएको छ । नेपाली कलाकारको कलाकारितालाई विश्वसामु चिनाउने उद्देश्यले आर्ट फेस्टिभल भएको हो । 

फेस्टिबलमा ८ हजारदेखि २५ लाखसम्मका पेन्टिङ राखिएका आयोजक हिमालयन आर्ट फेस्टिभलले जनाएको छ । ‘नेपाली कलाकारितालाई विश्वसामु चिनाउने उद्देश्यले प्रर्दशनी राखिएको हो,' आयोजक बिदाता केसीले भनिन् ।
नेपालका कलाकारले बनाएका चित्रलाई विश्वबजारमा चिनाउने हिसाबले नेपाली कलाकारको बायोडाटासहित अनलाइनमा पेन्टिङ राखिएको केसीले बताइन् । हिमालयन आर्ट फेस्टिभलमा नेपालका प्रशिक्षार्थी कलाकारदेखि दिग्गज कलाकारको उपस्थिति रहने आयोजकले जनाएको छ ।

फेस्टिभलमा चित्रकलाका चर्चित व्यक्तित्व उत्तम नेपाली लगायतका कलाकारले आ–आफ्नो कला देखाउने छन् । उत्तम नेपाली कलाका क्षेत्रमार्फत आवाजलाई अनुवाद गर्न सक्षम कलाकार हुन् । उनको रंगमा उत्सादी र चित्रात्मक संयोजनमार्फत भावना र अनुभूतिजन्य संयोजनमा जोड दिएको पाइने पौवा कलाकार अजय बज्राचार्यले बताए ।

चित्रकारका मौखिम पाठ क्यानभासमा देवनागरी लिपिमा अंकित गरिएको छ । ‘कवि र चित्रकारको आपसी समिश्रणले के सुझाउँछन् भने उनीहरू समान भावना, अनुभव र दृष्टिका साथ काम गर्छन् कम वा बेसी रूपमा उनीहरू समान तरिकाले वास्तविकलाई सम्झिने/बुझ्ने बोध गर्ने गर्छन् र आफ्ना रचनामा समान दृष्टि चित्रण गर्छन्,’ कलाकार आशा डंगोलले भनिन् ।

प्रदर्शनीमा पेन्टिङ, पौवा, प्रिन्ट मेकिङ, डान्स, सेरामिक लगायतका पेन्टिङ तथा नाच प्रदर्शन हुने छन् ।

‘मानिसको शरीरलाई वस्तु जस्तै ठानेर कलात्मक शैलीमा उतार्ने हाम्रो प्रयास रहने छ,’ बिन्दू स्पेसका संयोजक पृथ्वी श्रेष्ठले भने, ‘हामीले विभिन्न गीत, लाइट र मानव शरीरको संयोजनमा कलाकारिता प्रदर्शन गर्ने हो । यसलाई नाच मात्र नभएर कलाकारिताको रुपमा लिइन्छ
नेपालमा विदेशी पेन्टिङलाई प्राथमिकता दिने गरिएपनि नेपाली कलाकारले चलाएको कूचीले पनि राम्रो पेन्टिङ बनाउन सक्ने आयोजक सदस्य बिदाता केसीले बताइन् ।

‘हामी विदेशी आर्टिस्टको मात्र पेन्टिङ राम्रो भन्ठान्छौं तर नेपाली मौलिकतामा पनि धेरै राम्रो पेन्टिङ हुन्छ । यहाँसम्म आएर नेपाली पेन्टिङहरूको पनि अवलोकन गरिदिन आग्रह गर्दछु,’ उनले भनिन् ।

प्रकाशित : आश्विन १२, २०७६ ११:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्