कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

चीनको विशाल ‘स्टारफिस’ विमानस्थल खुल्यो

९८ वटा फुटबल मैदान बराबरको क्षेत्रफल ओगटेको, सन् २०२५ सम्म ७ करोड २० लाख यात्रुलाई एउटै विशाल टर्मिनलमा ह्यान्डल गर्न सक्ने क्षमता, तत्काल चारवटा रनवे रहेको र सन् २०४० सम्म प्रतिवर्ष १० करोड यात्रुलाई सेवा प्रदान गर्न आठ रनवे बनाउने योजना
एजेन्सीहरु

बेइजिङ — चीनले १ खर्ब २४ अर्ब ९८ करोड २० लाख रुपैयाँ (११ अर्ब अमेरिकी डलर) मा निर्माण गरेको विशाल विमानस्थल ‘स्टारफिस’ बुधबारबाट खुला गरेको छ ।

चीनको विशाल ‘स्टारफिस’ विमानस्थल खुल्यो

मुलुकको ७० औं वार्षिकोत्सव (राष्ट्रिय दिवस) को केही दिन मात्रै बाँकी रहँदा उक्त विमानस्थल खुला गरेको हो । चीनले अक्टोबर १ मा आफ्नो राष्ट्रिय दिवस मनाउँदै आएको छ ।


चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधबार औपचारिक रूपमा राजधानी बेइजिङस्थित ‘द ड्याक्सिङ इन्टरनेसनल एयरपोर्ट’ को शुभारम्भ गरेका हुन् । सरकारी सञ्चारमाध्यम ‘चाइन डेली’ का अनुसार नयाँ विमानस्थल ९८ वटा फुटबल मैदान बराबरको क्षेत्रमा फैलिएको छ । यसको कूल क्षेत्रफल ७ लाख वर्गमिटर रहेको छ । विमान परिषद्ले बेइजिङको विमानस्थल अमेरिकाको अटलान्टापछि विश्वकै दोस्रो सबैभन्दा ठूलो हवाई अड्डा भएको जनाएको छ । अधिकारीहरुले भीडभाड बढी हुने ‘बेइजिङ क्यापिटल इन्टरनेसनल एयरपोर्ट’ माथि यात्रुको चाप कम गर्न नयाँ विमानस्थलको आवश्यकता रहेको बताएका छन् ।


‘द ड्याक्सिङ विमानस्थल’ ले भनेको छ, ‘विश्वको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय टर्मिनलमा सबैभन्दा ठूलो भवन निर्माण गरिएको छ, सन् २०२५ सम्म सहरबाट ठूलो संख्यामा यात्रुहरुलाई सेवा प्राप्त हुने अपेक्षा छ ।’ चिनियाँ सञ्चारमाध्यम ‘ग्लोबल टाइम्स’ का अनुसार सात आन्तरिक विमानलाई तत्कालै नयाँ विमानस्थलबाट परिचालन गरिने कार्यक्रम छ । पहिलो उडान एउटा ‘चाइना सदर्न एयरलाइन्स ए ३८०’ ले स्थानीय समयअनुसार १६ बजेर २३ मिनेटमा उडान भरेको छ । ब्रिटिस एयरवेज, क्याथे प्यासिफिक र फिनएयरसहित अन्तर्राष्ट्रिय यात्रुबाहक विमान कम्पनीहरुले पहिले नै ड्याक्सिङका लागि आफ्नो मार्ग घोषणा गरिसकेका छन् ।


नयाँ विमानस्थल जुन तियानमेन स्क्वायरबाट करिब ४६ किलोमिटर दक्षिणमा पर्छ । यसको डिजाइन प्रसिद्ध वास्तुकार जहा हदिदले गरेका थिए । विमानस्थलको उद्घाटनसँगै बेइजिङ सहर एउटा यस्तो समूहमा समावेश भएको छ, जसमा न्युयोर्क र लन्डन पनि पर्छ । यी सहरहरुमा दुईवटा अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रुहरुले सेवा प्राप्त गरिरहेका छन् । सन् १९५८ मा खोलिएको ‘बेइजिङ क्यापिटल’ को उपयोग १० करोडभन्दा बढी यात्रुले उपयोग गरिसकेका छन् ।


नयाँ विमानस्थलका अधिकारीहरुका अनुसार सन् २०२५ सम्म ७ करोड २० लाख यात्रुलाई एउटै विशाल टर्मिनलमा ह्यान्डल गर्न सक्ने क्षमता ड्याक्सिङ विमानस्थलको हुने छ । निर्माण सुरु गरेको पाँच वर्षभित्रै यो विमानस्थल खुला गरिएको बेलायती अखबार ‘दी गार्जियन’ ले जनाएको छ । ‘पिपुल्स रिपब्लिक अफ चाइना’ को स्थापना दिवसको ७० औं राष्ट्रिय दिवसको तयारी भइरहेकै बेला राष्ट्रपति सीले मेगा विमानस्थलको सुरुवात गरेका हुन् । नयाँ विमानस्थल स्टारफिसको आकारमा निर्माण गरिएको छ । यो विमानस्थलको विशेषता भनेको यसमा चारवटा रनवे छन् ।


सन् २०४० सम्म यो विमानस्थललाई एक वर्षमा १० करोड यात्रुलाई सेवा दिने गरी आठवटा रनवेमा विस्तार गर्ने योजनासमेत रहेको ‘दी गार्जियन’ ले लेखेको छ । विमानस्थलमा ग्राहकलाई विमानसँग सम्बन्धित सबै जानकारी रोबोटबाटै दिने व्यवस्था गरिएको छ । यसमा अनुहारबाटै यात्रुको विवरणहरु जाँच गरिने छ । बेइजिङमा अर्को विमानस्थलको आवश्यताबारे धेरै पहिलेदेखि आवाज उठिरहेकोले ‘स्टारफिस’ को निर्माण गरिएको चिनियाँ अधिकारीहरुले बताएका छन् । आर्थिक राजधानीका रूपमा रहेको हङकङमा महिनौंसम्म जारी गतिरोध अन्त्यका लागि चीनले अन्तर्राष्ट्रिय दबाबको समाना गर्नुपरे पनि निर्धारित समयभन्दा पहिले नै यो विमानस्थलको निर्माण कार्य सम्पन्न गरेको छ ।

प्रकाशित : आश्विन ८, २०७६ २०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?