बीआरआईले चीनमा विदेशी बढे

लक्ष्मी लम्साल

(बेइजिङ) — ‘चिनियाँ कथाहरूलाई विश्वले बुझ्ने गरी फैलाउनुपर्छ ताकि चीनको विकास, चिनियाँ सभ्यता, अडान र छविबारे विश्वले सत्यतथ्य जानकारी पाउन सकोस्,’ चिनियाँ कम्युनिस्ट पार्टी मातहत निकायको राष्ट्रिय सम्मेलनमा सन् २०१३ मा नवनिर्वाचित राष्ट्रपति सी चिनफिङले भनेका थिए ।

आजकल पनि सञ्चारमाध्यमलाई शुभकामना दिँदा होस् वा प्रत्यक्ष सहभागी हुँदा, सीले बारम्बार चिनियाँ कथा बाह्य संसारलाई सुनाउनुपर्नेमा जोड दिन्छन् । त्यसताका सीले अगाडि सारेको महत्त्वाकांक्षी योजना बीआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ) अन्तर्गतका मुलुकको चीन यात्रा ह्वात्तै बढेको चीनसम्बन्धी जानकारहरूको विश्लेषण छ ।

नेताप्रधान मुलुक चीनमा सम्भवतः यही विचारधाराकै कारण हुनुपर्छ, अधिकांश चिनियाँ निकायले खुलापन अंगिकार गर्दै विदेशीको आउजाउलाई तीव्रता दिएका छन् । कुनै बेला नेपालीहरू भेट्न मुस्किल हुने चीनमा पछिल्ला केही वर्ष चीन–नेपाल दैनिक हवाई उडानमा करिब २० प्रतिशत त नेपाली नै हुन्छन् । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले खुलापन नीतिलाई तीव्र पार्नु र जनस्तरीय सम्बन्धमा जोड दिएका कारण नेपाली पनि लाभान्वित भएका हुन् ।

चीनले उच्च स्तरीय वार्ताहरू तथा उसका दस्तावेजहरूमा जनस्तरीय सम्बन्धमा निकै जोड दिने गरेको छ । त्यसैकारण राजनीतिक, सञ्चारमाध्यम, वाणिज्य व्यावसायिक वा स्थानीय निकायबीच जनस्तरमा द्विपक्षीय भ्रमणलाई चीनले प्राथमिकतामा राखेको हो ।

दक्षिण एसिया मामिला विशेषज्ञ हु स सङको विचारमा ‘चीन सरकारले जनस्तरीय आदानप्रदानलाई उच्च महत्त्व दिएकाले’ यो क्रम बढेको हो । उनले भने, ‘पछिल्लो समय चीन भित्र र बाहृय मुलुकमा थिंक ट्यांकको संख्या उल्लेख्य बढेको छ । यस्ता विचार समूह र संस्थाले जनस्तरका आदानप्रदान अघि बढाउन सहयोग गरिरहेका छन् ।’

मासिक वा वार्षिक रूपमा कति नेपालीले चीन भ्रमण गर्छन् भन्ने प्रस्ट नभए पनि बेइजिङस्थित नेपाली दूतावासका डेप्युटी चिफ अफ मिसन सुशीलकुमार लम्सालका अनुसार पछिल्ला ३/४ वर्षमा चीन सरकारको निमन्त्रणामा बेइजिङ पुग्ने नेपालीको संख्या हृवात्तै बढेको छ ।

चीनमा आएका बेला दूतावासलाई जानकारी नगराएसम्म यकिन तथ्यांक भन्न नसकिने उनले बताए । ‘संस्थागत रूपमा दूतावासको सम्पर्क आएकाहरूको तथ्यांक पाउन सकिन्छ तर आफूखुसी चिनियाँ संस्थासँग तालमेल मिलाएर आउनेको विवरण निकाल्न गाह्रो छ,’ उनले सुनाए ।

गत वैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारीको राजकीय भ्रमणका बेला मन्त्री, सचिव, विपक्षी दलका नेता तथा सांसदहरूको जम्बो टोली बेइजिङ उत्रिएको थियो । राजनीतिक स्तरमा मात्रै नभएर सरकारी कर्मचारी पनि चीन घुम्न पाइने भएपछि सरकारको आर्थिक बोझको ख्यालै नगरी भ्रमणमा आउँछन् ।

चीन केन्द्रीय सरकारका साइन्टिफिक एक्सपर्ट डा.विश्वास श्रेष्ठले ‘चीन घुमाउँदा दुवै सरकारका लागि उपलब्धिमूलक हुने व्यक्ति तथा अधिकारीलाई मात्र निमन्त्रण दिइनुपर्ने’ बताउँछन् । श्रेष्ठले भन्छन्, ‘क्षेत्रगत तथा विषयगत रूपमा चीन घुमे अर्थपूर्ण हुन्थ्यो । चीनको विकास देखाउनु राम्रो कुरा हो तर उपयुक्त व्यक्तिले भ्रमण गरे देश विकासमा टेवा पुग्न सक्थ्यो ।’

चीनको सिचुवान प्रान्तमा भूगर्भ शास्त्रका एक अनुसन्धाताले भने, ‘चिनियाँ खर्चमा आउने झन्डै ६० प्रतिशत नेपाली बिनाकुनै काम चीन आउँछन् । जसलाई चीनको बारेमा कुनै वास्ता छैन, अध्ययन ज्ञानगुनको कुरा त परै जाओस् ।’ १९७०/८० को दशकमा भियतनाम युद्धपछि अमेरिकाले आफ्नो धुमिलिएको छवि सुधार्ने हेतुले विश्वका पत्रकारहरू घुमाएजस्तै चीनले पनि आफ्नो सुधार तथा खुलापन विश्वलाई देखाउन खोजेको उनको बुझाइ छ ।
आर्थिक विकाससँगै आफ्नो विकास प्रगतिबारे देखाउने चिनियाँ रणनीतिअन्तर्गत नै नेपाल मात्रै होइन, बीआरआई र त्यसबाहेकका मुलुकबाट चीन पर्यटन गर्ने विदेशीहरूको संख्या दिनप्रतिदिन बढ्दो छ । यसले जनस्तरीय सम्बन्ध बलियो बनाउने चीनको चाहनालाई पनि प्रकट गरेको छ ।

कस्ता नेपाली पाहुनाहरूलाई स्वागत गर्ने भन्ने कुरा चीन आफैंले छनोट नगर्ने भएकाले गुणस्तरीय विज्ञहरूले भ्रमणको मौका नपाउने चिन्ता छढ्दै छ । सकेसम्म सरकारी भत्ताको लोभमा पनि यस्ता भ्रमण हुने गरेका बेइजिङमा अध्ययनरत विद्यार्थी बताउँछन् ।

चीनबाट केही सिक्ने अभिलाषासहित हुने भ्रमणले सधैं नै देशको उत्थानमा एउटा इँटा थप्न सक्ने उनीहरूको धारणा छ । उनीहरू भन्छन्, ‘चीनबाट यस्तो सिकेको थिएा र यस्तो गर्दै छु भन्नेहरू कमै छन् । शक्ति संरचनामा भएकाहरूले नै अर्काको पैसामा मस्ती गरिरहेका छन् जुन दुवै देशका लागि उपलब्धिमूलक हुँदैन ।’

पुरानो विचारधारामा परिवर्तन ल्याउन चीनले आफ्नै खर्चमा गरेको प्रयत्नमा रमाइलोका लागि मात्रै चीन जान चाहनेलाई पठाउनु नेपालका लागि पनि हितकर छैन । चीन र नेपालबीचको खानपान, रहनसहन केही पनि मिल्दैन । तर विकासे मोडल हेर्ने, केही सिकेर देशमा प्रयोग गर्न खोज्नेहरूका लागि हिमालपारिको यात्रा गज्जब हुने चीनमा लामो समयदेखि पेसा व्यवसाय गर्ने नेपालीहरू बताउँछन् ।

प्रकाशित : आश्विन ७, २०७६ १०:११
प्रतिक्रिया
पठाउनुहोस्

कक्षाकोठा भत्किँदा ७ विद्यार्थीको मृत्यु

(एएफपी)

नैरोबी — केन्याको राजधानी नैरोबीको एक प्राथमिक विद्यालयको कक्षाकोठा सोमबार भत्किँदा ७ विद्यार्थीको मृत्यु भएको छ । 


केन्याली सरकारका प्रवक्ताका अनुसार घटनामा ५७ घाइते छन् । नैरोबीस्थित ‘प्रिसियस ट्यालेन्ट टप’ विद्यालयको काठको संरचना सोमबारको कक्षा सुरु भएको ५ मिनेटमै भत्केको थियो । अधिकारीका अनुसार विद्यालयको कक्षाकोठा स्थानीय समयाअनुसार बिहान करिब ७ बजे भत्किएको हो ।

सरकारी प्रवक्ताका अनुसार घाइतेमध्ये एक दर्जनको गम्भीर अवस्थामा उपचार भइरहेको छ । घटनापछि नौरोबीको डागोरेट्टी क्षेत्रका सयौं स्थानीय आक्रोशित भएका बीबीसीले जनाएको छ ।

घटनालगत्तै जम्मा भएको ठूलो भीडको आक्रोश र नाराबाजीका कारण उद्धारमा समेत कठिनाइ भएको थियो । विद्यालयका निर्देशकले ‘नजिकैको नालीका कारण विद्यालयको संरचनामा क्षति पुगेकाले घटना भएको’ दाबी गरेका छन् । स्थानीय राजनीतिज्ञ जोन कियारीले स्थानीय टेलिभिजनसँग कुराकानी गर्दै ‘भवन भत्किएपछि तल्लो तलाका विद्यार्थीहरू भग्नावशेषमा चेपिएका थिए । घटनाबारे अनुसन्धान गर्न सरकारले छानबिन समिति गठन गरेको जनाइएको छ ।

प्रकाशित : आश्विन ७, २०७६ १०:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्