कश्मीरमा अझै अन्यौल

सुरेशराज न्यौपाने

नयाँदिल्ली — करिब डेढ महिना बितिसक्दा पनि जम्मु कश्मीरको स्थिति सामान्य हुन सकेको छैन । पछिल्लो घटनाक्रमलाई हेर्दा परिस्थिति थप जटिल बन्नेतर्फ उन्मुख देखिन्छ ।

कश्मीरमा अझै अन्यौल

गत सोमबार पूर्वमन्त्री तथा जम्मुकश्मीरका वरिष्ठ राजनीतिज्ञ फारूक अब्दुल्लाहलाई सार्वजनिक सुरक्षा कानुन (पीएस) अन्तर्गत पक्राउ गरिएपछि भने त्यहाँको राजनीतिमा थप अन्यौल बढ्ने आशंका गरिएको छ । जबकी अब्दुल्लाह जम्मुकश्मीर र दिल्लीबीचको राजनीतिक सेतुका रुपमा चिनिदै आएका थिए । फारुख जम्मुकश्मीरका पूर्व प्रधानमन्त्री (पछि मुख्यमन्त्री भनिन थालिएको) शेख अब्दुल्लाहका छोरा हुन् ।


साथै फारुखका छोरा उमर अब्दुल्लाहसँगै पूर्व मुख्यमन्त्री मुफ्ती मोहमद पनि विगत डेढ महिनादेखि नजर बन्दमै छन् । फारुखलगायतका मूलधारका राजनीतिज्ञहरुलाई नै गिरफ्तार र नजरबन्द गर्दा जम्मुकश्मीरमा भारत विरोधी भावना थप बढ्ने र कालान्तरमा त्यसले जटिलता निम्त्याउन सक्ने भन्दै राजनीतिज्ञ तथा विश्लेषकहरुले केन्द्र सरकारको आलोचना गर्दै आएका छन् । साथै पृथकतावादलाई थप प्रोत्साहित गर्ने समेत चिन्ता व्यक्त हुँदै आएको छ ।


कश्मीरमा विगत ३० वर्षदेखि हिंसात्मक पृथकतावादी आन्दोलन चल्दै आएको थियो । त्यसमा ७० हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । यसैबीच एमनेष्टी इन्टरनेनशलले पनि पीएस कानुनको आलोचना गर्दै भारत सरकारले उक्त कानुनलाई आफ्नो विरोधीहरुलाई दबाउन प्रयोग गरेको आरोप लगाएको छ ।


पीएस कानुनले दुई वर्षसम्मका लागि पुर्पक्षमा राख्ने अधिकार दिएको छ । विगत दुई वर्षयता करिब २० हजार भन्दा बढी कश्मीरीहरुलाई पीएस कानुन अन्तर्गत पक्राउ गरिएको स्थानीय अधिकारकर्मीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रकाशित : आश्विन ५, २०७६ २१:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?