कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

साउदीमा अमेरिकी सेना खटिने

(एजेन्सी)

वासिङ्टन — अमेरिकाले साउदी अरबमा सेना परिचालन गर्ने भएको छ । गतसाता साउदी अरबका तेल प्रशोधन केन्द्रमा आक्रमण गरिएको आक्रमणपछि अमेरिकाले उक्त निर्णय गरेको हो । 

साउदीमा अमेरिकी सेना खटिने

अमेरिकी रक्षामन्त्री मार्क एस्परले पत्रकारहरूसँग कुरा गर्दै साउदी अरबमा खटाइने सेना ‘प्रतिरक्षात्मक स्वरूप’ मा रहने जनाए । उनका अनुसार साउदीमा खटाइने सेनाको संख्याबारे निर्णय भइसकेको छैन । गत शनिबार साउदी तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण गरिएको थियो । साउदी रक्षा मन्त्रालयले आक्रमणमा १८ वटा ड्रोन र ७ वटा क्षेप्यास्त्र प्रयोग गरिएको बताएको थियो । आक्रमणपछि साउदीमा तेल र ग्यास उत्पादन कटौती भएको छ ।


यमनी विद्रोही समूह हुथीले आक्रमणको जिम्मा लिएको भए पनि अमेरिकाले इरानी योजनाअनुसार आक्रमण गरिएको दाबी गरेको छ । अमेरिका तथा साउदी अरबले आक्रमणमा प्रयोग गरिएका ड्रोन र क्रुज क्षेप्यास्त्रका भग्नावशेषका आधारमा इरानका संलग्नता पुष्टि भएको बताउँदै आएका छन् । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणको जवाफ दिन अमेरिकासँग धेरै विकल्प भएको चेतावनी दिएका थिए । त्यसलगत्तै अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले सायदी अरब तथा यूएई भ्रमण गरिसकेका छन् । इरानका सन्दर्भमा विदेशमन्त्री पोम्पियो राष्ट्रपति ट्रम्पभन्दा पनि आक्रामक देखिएका छन् । साउदी राजधानी उत्रने बित्तिकै पोम्पियोले शनिबारका घटनाले विश्वव्यापी इन्धन आपूर्ति जोखिममा परेको बताएका थिए । साउदी राजकुमार मोहमद बिन सलमानलाई भेटेपछि पोम्पियोले ‘इरानी कदमहरू सहृय नभएका’ तथा ‘साउदी अरबसँग तिनको रक्षा गर्ने अधिकार भएको’ बताएका थिए । अमेरिका सन् २०१५ को परमाणु सम्झौताबाट एक पक्षीय रूपमा बाहिरिएपछि दुई देशबीचको तनाव थप बढेको हो । त्यसयता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धका नाकाबन्दी थप कडा पारिसकेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले सैनिक द्वन्द्व टार्न खोजेको संकेत गर्दै इरानविरुद्ध ‘उच्च तहका’ प्रतिबन्ध घोषणा गरेका थिए ।


ट्रम्पका अनुसार नयाँ प्रतिबन्धहरू इरानको केन्द्रीय बैंक र उसको विशेष कोष लक्षित हुने बताएका छन् । तर रक्षामन्त्री एस्परले अमेरिकी सेनाको जोइन्ट चिफ अफ स्टाफ जनरल जोसेफ डन्फोर्ड जुनियरलाई छेउमा राखेर साउदीमा सेना पठाउने घोषणा गरेका हुन् । साउदी अरब र संयुक्त अरब इमिरेटस्ले सहयोगका लागि अमेरिकासँग आग्रह गरेको एस्परको भनाइ छ । ‘इरानमाथि सैनिक कारबाही गर्नेबारे विचार भइरहेको छ ?’ भन्ने पत्रकारको प्रश्नमा रक्षामन्त्रीले भने, ‘हामी तत्काल त्यो सोचमा छैनौं ।’ अमेरिकी सेना हवाई तथा क्षेप्यास्त्र प्रतिरक्षामा केन्द्रित हुने तथा दुवै मुलुकलाई अमेरिकाले आवश्यक सैन्य उपकरण उपलब्ध गराउने जनाइएको छ । जनरल डन्फोर्डले साउदीमा परिचालन गरिने अमेरिकी सेना मध्यम तहको हुने बताए ।

प्रकाशित : आश्विन ५, २०७६ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?